ढुक्क भएर सगरमाथा आरोहण गर्न आग्रह
नेपाल सरकार पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आरोही निर्मल पुर्जाले लगाएको आरोप झुठो भएको जनाएको छ ।
आरोही पुर्जाले यही जेठ १३ गते सामाजिक सञ्जाल इन्स्टाग्राममा सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिट बीचको भाग काटिएको र आरोहणमा समस्या भएको तथा रेडियो सेटमा पिक प्रमोसन प्रा. लि.का बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको भन्ने आरोप लगाएको थियो ।
यस आरोपप्रति गम्भीर बनेको पर्यटन विभागको ध्यानाकर्षण भएको विभागले सोमवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निज आरोही पुर्जाले लगाएको उक्त आरोपपछि पनि पायोनियर एडभेन्चर प्रा. लि. को टोलीले आज (जेठ १४ गते) बिहान १२ः४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो उक्त स्थानमा आरोहणको लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको र सहज रुपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।’
विभागले यस सम्बन्धमा पर्वतारोहण सञ्चालक संघ नेपालको पनि आकस्मिक बैठक बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको विभागले जानकारी गराएको छ ।
विभागले आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरुमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न अनुरोध गरेको छ ।
विभागले अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निज पुर्जा र अन्य व्यक्तिहरु उपर छानिविनको प्रक्रिया अघि बढाइएको निर्देशक काली बहादुर भुजेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।








