विश्व सिमसार दिवश – २०८०
विगतमा झै यो बर्ष पनि ‘सिमसार र मानवहित’ (Wetands and Human Wellbeings) भन्ने नाराका साथ २०८० माघ १९ गते (फेव्रुवरी २, २०२४) संसारभर विश्व सिमसार दिवश (World Wetland Day -2024) विभिन्न कार्यक्रमका साथ मनाइयो । सीमसार क्षेत्रहरु मानवजीवनको विभिन्न आयामहरु जस्तै शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र वातावरणीय स्वास्थ्यसंँग सम्बन्धित रहेको हुनाले अत्यन्त महत्वपूर्ण मानिन्छन् । सिमसार क्षेत्रले विश्वभर करिव एकलाख प्रजातिहरुलाई आश्रय दिइरहेका छन् । यसबाट मानवजातिले जीविकोपार्जनको लागि सहयोग प्राप्त गरिरहेको छ । सिमसार क्षेत्र ती ठाउँहरुलाई भनिन्छ जहाँ बर्षभरी नै पानी रहिरहने वा ओसिलो रहिरहने वा जमिन नदेखिने गरी पानीले ढाकिराख्ने हुन्छ जस्तै खोलानाला, हिमनदी, तालतलैया, पोखरी, दलदले जमीन, ढापखेतहरु आदि सिमसार क्षेत्रहरु हुन् । छोटकरमा भन्दा सिमसार क्षेत्रहरू ती स्थानहरु हुन् जसलाई पानीले बर्षै भरीे नै पूर्ण वा आंशिक रूपले ढाकिरहेको हुन्छ ।
आधुनिक विश्वको सिमसार दिवसको ऐतिहासिक सन्दर्भलाई केलाउने हो भने विशाँै शताब्दीको मध्यबाट सुरुभएको मान्न्ुा पर्दछ । सन् १९६० को दशकमा विश्वमा सिमसार क्षेत्रहरु पनि वन र अन्य जमीन जस्तै महत्वपूर्ण छन् यिनीहरुको संरक्षण गर्नु पर्दछ भन्ने आवाज उठ्न थाल्यो । विभिन्न देशबाट संरक्षणको आवाज उठे पनि सिमसारहरुको संरक्षणका लागि आधिकारिक पहल भने त्यस वेलाबाट मात्र सुरुवात भयो जतिवेला सिमसारहरुको संरक्षणका लागि भनी इरानको रामसारमा विश्वका विभिन्न देशका प्रतिनिधीहरु सन् १९७१ फेव्रुवरी २ मा भेला भए र सिमसारको संरक्षणका लागि कदम चालौँ भनेर संयुक्त रुपमा हस्ताक्षर गरे । सोही दिनको सम्झनामा यो दिवश सन् १९९७ बाट मनाउन थालिएको हो ।
विश्व सिमसार दिवसलाई विश्व रामसार दिवस पनि भनिन्छ । इरानको रामसारमा सिमसार संरक्षणको लागि पहिलो अन्तराष्ट्रिय महासन्धी भएको कारण सिमसार क्षेत्रलाई रामसार क्षेत्र भन्न थालिएको हो । सिमसार दिवश मनाउनुको अर्थ सिमसारहरु महत्वपूर्ण प्राकृतिक सम्पदहरु हुन् । यिनीहरुको संरक्षण गरे हामी मानव जातिको पनि हित हुन्छ भनी व्यापक जनचेतना फैलाउनु हो । यो बर्ष पनि नेपालका सरकारी निकायहरु, गैरसरकारी संघसस्थाहरु, शैक्षिक संस्थाहरु, सामुदायिक वनहरु आदिले आआफ्नो तरिकाले रामसार दिवस मनाए ।
हुन त नेपालमा महत्वपूर्ण सिमसार क्षेत्रहरु धेरै छन् तर १० वटा सिमसार क्षेत्रहरु भने विश्व सिमसार सूचीमा नै सुचीकृत भइसकेका छन् । विश्व रामसार सूचीमा सूचीकृत हुनको लागि रामसार महासन्धी सचिवालयबाट आएको विज्ञहरुको टोलीले सिफारिश गर्नुपर्ने हुन्छ । सोको लागि उक्त टोलीले विभिन्न पक्षको विस्तृत अध्ययन गर्दछ र अध्ययन पछि विश्व सिमसार सूचीमा समेट्नको लागि सिफारिस गर्दछ वा रामसार महासन्धी सचिवालयबाट आएको टोलीले ती क्षेत्रहरु रामसार सूचीमा समेटिएको औपचारिक प्रमाणपत्र दिने गर्दछन् ।
नेपालमा हालसम्म विश्व रामसार सूचीमा पर्ने अन्तराष्ट्रिय महत्वका सिमसारहरु १० वटा भएका छन् । कोशी टापु, चितवनको विशहजारी र वरपरका ताल, कैलालीको घोडाघोडी ताल र वरपरका तालहरु, सोलुखुम्वुको गोक्यो र वरपरका तालहरु, रसुवाको गोसाइकुण्ड र वरपरका तालहरु, इलामको माइपोखरी, डोल्पाको फोक्सोण्डो, मुगुको रारा र पोखरा उपत्यकामा रहेका फेवासहित वेगनास, रुपा, कमलपोखरी, खोस्टे, गुँदे, न्युरेनी, दिपाङ र मैदी गरी नौ वटा तालहरु । नेपालका सिमसार सूचीमा समेटिएका अरु सबै तालहरुको संरक्षण गर्ने जिम्मा राज्यले लिएको छ तर पोखराका यी तालहरुको संरक्षण स्थानीय निकायले गर्ने व्यवस्था मिलाइएको छ । विश्वभर नै सिमसार क्षेत्रलाई विगत लामो समय देखि उपेक्षा गर्दै आइयो । सिमसार क्षेत्रलाई काम नलाग्ने खेरगएको जमीन ९ध्बकतभ बिलमक० पनि भन्ने गरियो । जसको कारण १९०० यताको अवस्थालाई हेर्दा अहिलेसम्म विश्वका ६४ प्रतिशत महत्वपूर्ण सिमसारहरु हराएर गइसकेका छन् । नेपालमै पनि कहियौ यस्ता जमीनहरु कतै अतिक्रमित भए भने कतै आवास, उद्योग, सहरिकरण आदिको नाममा अतिक्रमित भएका कारण हराई सकेका छन् । तर पछि आएर यसको महत्वलाई मानिसहरुले बुझ्न थाले र संरक्षण पनि हुन थाल्यो । सिमसार संरक्षणको लागि अन्तराष्ट्रिय स्तरमा चालिएको पहिलो कदम १९७१ को इरानको रामसारमा गरिएको महासन्धीलाई नै मान्नु पर्दछ । त्यस महासन्धीमा जुनजुन देशले सही गरे पछि कानुन बनाएर आफ्ना देशका सिमसारहरुको संरक्षण गर्दै आएका छन् । अहिलेसम्म १६९ राष्ट्रहरुले सही गरेर महासन्धीको पक्षराष्ट्र बनी सिमसारको संरक्षणमा जुट्न थालेका छन् । अहिले विश्व भरनै सिमसार दिवश मनाएर सिमसारको महत्व दर्शाउने र संरक्षणमा जोड दिने कामको थालनी भएको छ ।
सिमसार क्षेत्रको संरक्षण गर्नु पर्ने कारणहरु धेरै छन् । सिमसारहरुले मानवजाति र सिंगो पर्यावरणलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ प्रदान गरेका हुन्छन् । सिमसार क्षेत्र भनेका विभिन्न सेवा प्रदान गर्ने अत्यन्तै महत्वपूर्ण क्षेत्रहरु हुन् । जसको सम्वन्ध मानवजातिको उज्यालो भविष्य तथा दीगो जीवनयापनसँंग गाँसिएको छ । विश्वमा जतिपनि धान खेती गरिन्छ पाखे धान बाहेक सबै सिसारमा नै गरिन्छ । करिब ३ अर्ब मानिसले दैनिक उपभोग गर्ने चामल सिमसार क्षेत्रबाटै उत्पादन हुन्छ । नेपालको सिमसारहरुमा धानका ४२ भन्दा बढि स्थानीय प्रजाति पाइने गर्दछन् । यिनीहरु सबैको आफ्नै खालको महत्व छ । त्यो बाहेक माछा पालन, पर्यटन, यातायात जस्ता व्यवसायहरु यो क्षेत्रमा नै निर्भर गर्दछन् ।
विश्वका मानिसहरुको लागि विभिन्न प्रयोजनको लागि आवश्यक पानीको प्रमुख स्रोतहरु पनि सिमसार क्षेत्रहरु हुन् । यो वाहेक सिमसारहरुले विभिन्न जीवजन्तुहरुलाई वासस्थान, खानेकुरा, प्रजनन स्थल आदि उपलब्ध गराएर आश्रय प्रदान गरिरहेको हुन्छ । पानीमा पाइने माछा, गोही, कछुवा, सर्प, भ्यागुता, घोगी आदि मात्र हैन जंगलमा पाहिने गैंडा, बाघ, मृग, जरायो, बनेल, कीटपतंक, चराहरु पनि सिमसारमा आश्रित रहेका हुन्छन् । कोशी टापु, विशहजारी ताल, घोडाघोडी ताल आदि क्षेत्रमा स्थानीय लगायत विभिन्न देशबाट बसाई सरेर आउने विभिन्न प्रजातिका चराहरुको लागि पनि महत्वपूर्ण बासस्थान बनेका छन् ।
त्यसै गरी विभिन्न प्रजातिका बनस्पतीहरु पनि सिमसार क्षेत्रमा रहेका हुन्छन् । सिमसार क्षेत्रमा पाइने रुखबिरुवाले विभिन्न रासायनिक पदार्थलाई सोसेर पानीलाई स्वच्छ बनाउने काम गर्छन् सिमसार क्षेत्रमा भएका वनस्पति र जनावरले औद्योगिक क्षेत्रबाट उत्पादन हुने विषाक्त पदार्थहरु, पहाडबाट बगेर आउने ढुंगा, माटो लगायतका रासायनिक पदार्थलाई छानेर लिई पानीलाई स्वच्छ बनाउने काम गर्छन् । उदाहरणको लागि समुद्रमा पाइने ओष्टर नामको जनावरले एक दिनमा २०० लिटर पानीलाई फिल्टर गरेर स्वच्छ बनाउने गर्छ भन्ने अनुसन्धानबाट थाहा भएको छ । अर्को एक अध्ययनअनुसार स्वच्छ पानी भएका ३५ सिमसार क्षेत्रले पृथ्वीको ३० प्रतिशत कार्बनलाई सञ्चय गरिराखेको छ । जुन पृथ्वीमा पाइने वन क्षेत्रले सञ्चय गर्ने कार्बनडाइअक्साइडको दुई गुणा हो । सिमसारहरुले प्राकृतिक रक्षाकवचको काम गरेर बाढी, पहिरो रोक्न पनि ठूलो भूमिका निर्वाह गरेका हुन्छन् ।
धेरै जसो सिमसार क्षेत्र स्थानीय रैथाने प्रजातिका लागि आधार स्थलहरू हुन्, जसको सम्बन्ध मानव सभ्यता र मानव अस्तित्वसँंंग जोडिएको छ । नेपालकै सिमसार क्षेत्रलाई हेर्ने हो भने कैलाली जिल्लाको घोडाघोडी तालमा पाइने पानी हाँस स्थानीय प्रजाति हो, जुन अन्य क्षेत्रमा पाइदैन। हाल पृथ्वीमा रहेका ६१.८५ जनताले आफ्नो जीविकोपार्जनको प्रमुख आधार सिमसार क्षेत्रलाई बनाएका छन् । विश्वमा ६६ करोड जनता माछा पालन र यससँग सम्बन्धित व्यवसायमा आधारित रहेका छन् । त्यसको अलावा सिमसारक्षेत्रबाट मानिसले जनावरको लागि घाँस, जैविक तेल, जडिवुटी आदि प्राप्त गर्छन् । पर्यटकीय गतिविधि सञ्चालन गरेर आयआर्जन गर्दछन् । नेपालका थारु, मुस्लिम, मुसहर, मलाहा, दुसड, केवट, राजवंसी, वोटे, दराई आदि आदिवासी जनता अझै पनि सिमसार क्षेत्रबाटै जीविकोपार्जन गर्ने गर्दछन् ।
मानिसका लागि जीवनको आधार बनेका यस्ता महत्वपूर्ण सिमसार क्षेत्रहरु अहिले जोखिममा परेका छन् । सन् १९९० यतामात्रै पृथ्वीमा भएका सिमसार क्षेत्रहरूमध्ये ६४५ सिमसार क्षेत्रहरू लोप भैसकेका छन्। लोप भएका क्षेत्रहरू मध्ये धेरैजसो एसियामा र मुख्यगरी पहाडी क्षेत्रमा छन् । सिमसार क्षेत्रहरूको महिमाको प्रचार गरी यिनीहरुको संरक्षण गर्न विश्व सिमसार दिवशले ठूलो काम गरेको देखिन्छ । जनतामा चेतना जागरण गराएको छ । सिमसार पनि महत्वपूर्ण क्षेत्र रहेछन् भनी संरक्षण गर्न थालिएको पनि छ । आशा छ यस कार्यक्रले सिमसार क्षेत्रम रहेका जीवजन्तु र वनस्पतीहरुको संरक्षणमा योगदान दिने छ ।








