न्यू जेनिथको सिल्भर जुब्ली भव्यरुपमा सम्पन्न

शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको २५ औं वार्षिकोत्सव आइतवार भव्यरुपमा सम्पन्न गरिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु महर्जनको कृति ‘सानो सफलतामा धेरै रमाउने मान्छे’ र यूनिभर्स अफ न्यू जेनिथको तेश्रो अंक विमोचन गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उपप्रमुख डंगोलले आफू विभिन्न रुपमा न्यूजेनिथसँग जोडिन पाएको बताउनु भयो । उहाँले आफूले भर्खरै मिस नेवाःको उपाधि जितेको समयमा बालबालिकाका लागि बालबालिका अभियान संचालन गरेको र सो अभियानमा न्यूजेनिथका विद्यार्थी र विद्यालयबाट सहयोग प्राप्त भएको स्मरण गर्नुभयो । उहाँले न्यूजेनिथले शिक्षा मात्र दिने नभएर बालबालिकालाई समाजसेवा अग्रसर हुन समेत प्रेरित गर्दै आएको बताउनु भयो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक राजु महर्जनले २०५६ सालमा जेनिथ इङ्गलिस स्कूलको प्राइमरि ब्लकको रुपमा स्थापना भएको स्कूलले २५ वर्ष पूरा गर्दा आफूलाई खुसि लागेको बताउनु भयो । उहाँले स्कूल स्थापना गर्दा ७४ जना विद्यार्थी र ९ जना शिक्षकबाट सुरु भएको र अहिले हजारौंको संख्यामा विद्यार्थीं र ९० भन्दा बढी शिक्षकहरु विद्यालयमा रहेको पनि कार्यक्रममा बताउनु भयो ।
विमोचित पुस्तकबारे प्रकाश पार्नुहुँदै प्रिन्सिपल महर्जनले यो पुस्तक कोभिडको देन भएको बताउनु भयो । कोभिडमा घरमा थुनिएर बस्नुपर्दा यो बुकको लेखन कार्य भएको र यसले जीवनमा केही गरौं भन्नेहरुका लागि हौसला दिने उहाँले बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुनुभएका काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम कुमार राईले विमोचित पुस्तकको समीक्षा गर्नुहुँदै एक शिक्षकको जीवनबाट पनि धेरै कुरा सिक्न सकिने बताउनु भयो ।
कार्यक्रममा काठमाडौं मनपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन, २३ वडाका अध्यक्ष मचाराजा महर्जन, ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको सामूहिक अर्केष्ट्रा, नृत्य, गायन, तेक्वाण्डो प्रदर्शन, स्काउट पिरामिड, नाटकको पनि प्रदर्शन गरिएको थियो । यसैगरी विद्यालयमा ५ वर्षभन्दा बढी सेवा गर्नु हुने शिक्षकहरुलाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध