पत्रकार महासंघलाई गल्ती नदोहोराउन खबरदारी
नेवाः पत्रकार राष्ट्रिय दबूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघलाई गल्ती नदोहोराउन खबरदारी गरेको छ ।
दबूका सचिव राजु नापितले जारी गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ प्रतिस्थान प्रदेशबाट भोलि प्रकाशन गर्न लागेको “अग्र अनुहार, कथा अग्रजको, गाथा महासंघको” पुस्तकले विगतको इतिहासलाई सच्याउनुको साटो विगतकै गल्ती पुनरावृत गर्न खोजेको आरोप लगाएको छ । महासंघले प्रकाशन गर्न लागेको सो पुस्तकमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको योगदान छुट्याइएकोमा आपत्ति जनाउँदै यस्तो खबरदारी गरिएको हो ।
स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठ, नेपालमा पहिलो पटक पत्रकारहरुको हकहितका लागि पत्रकारहरुलाई संगठित गरी त्यसको नेतृत्व गर्ने व्यक्तित्व हुनुहुन्छ । २००७ सालको प्रजातन्त्र बहालीपछि तत्कालीन नेपाल टुडेका सम्पादक स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठले २००८ साल जेठमा नेपाल पत्रकार संघ स्थापना गरी त्यसको सभापति भएर नेपालका पत्रकारहरुको नेतृत्व गर्नुभएको थियो । वि सं २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा भएको नेपाल पत्रकार संघको दोस्रो सभाबाट पुनः सभापति हुनुभएका सत्यनारायणबहादुर श्रेष्ठले संघको तर्फबाट २००९ साल पुसमा सरकार समक्ष आफ्नो मागपत्र प्रस्तुत गरेको अहिलेसम्मको नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहास र विभिन्न तथ्यले पुष्टि गर्दै आएको छ ।
दबूले यो तथ्य जगजाहेर रहेको र यस बिषयमा नेवाः पत्रकार राष्ट्रिय दबूले पटक पटक नेपाल पत्रकार महासङ्घलाई सच्याउन आग्रह गर्दै आएको छ । दबूसँगको छलफलमा महासंघले विधानमा उल्लेख नभएको कारणले अहिले उहाँलाई संस्थापकको रुपमा उल्लेख गर्न नसक्ने बताएको अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले मेरो साप्ताहिकलाई बताउनु भयो ।
महासंघलाई पुस्तकमा पत्रकारहरुका प्रथम संगठक श्रेष्ठको योगदानलाई पनि समावेश गर्न आग्रह गर्दा यस सम्बन्धमा तत्काल आफूहरुले केही गर्न नसक्ने बताएको उहाँको भनाइ छ ।
महासंघकै पदाधिकारीहरुले समेत सत्यनारायण बहादुर श्रेष्ठ महासंघको संस्थापक भएको कुरामा सहमत भए पनि विधानमा उल्लेख नभएका कारण संस्थापक भन्न नसकेको विभिन्न कार्यक्रममा उल्लेख गर्दै आएको छ । महासंघको इतिहाससँग सम्बन्धित भएर प्रकाशन गर्न लागिएको पुस्तक प्रकाशन पूर्व नै सच्याउन दबूले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारिताको इतिहासमा यति गहकिलो कार्य हुँदै गर्दा नेपाल पत्रकार संघका संस्थापक सभापति श्रेष्ठको जीवनी समावेश नहुनु, उहाँको योगदानलाई अबमूल्यन गरिनु, उहाँका बारेमा पुस्तकमा कतै केही उल्लेख नहुनु जस्ता कार्यले गम्भीर प्रश्न खडा भएको छ । गल्ती शुरूमा गर्ने भन्दा त्यसलाई दोहर्याउने झन् मुर्खता हुनेछ । के महासंघ सम्बद्व पक्ष भोलिको कदमलाई मूर्खता साबित गराउन खोजेको हो ? के महासंघ ईतिहासको तथ्यलाई स्वीकार गर्न नचाहेको हो ? पत्रकार महासंघलाई पत्रकारको संगठन बनाउन नचाहेको हो ? यहि प्रश्नका साथ गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसै विज्ञप्तिमार्फत सो प्रकाशन रोक्न जोडदार माग गर्दछौं । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने हाम्रो ठहर छ । हामी आग्रह गर्दछौं, प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् ।’
यसैबीच, आदिवासी जनजाति पत्रकार महासंघ फाेनिजले पनि महासंघकाे कदमकाे विराेध गरेकाे छ ।








