रहेनन् जनगायक भृगुराम श्रेष्ठ
नेपाली संगीत र कला क्षेत्रका वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको आज उपचारका क्रममा निधन भएको छ । पेटको क्यान्सरबाट पिडित वरिष्ठ गायक श्रेष्ठको साँझ ५ बजेर २० मिनेटमा वीर अस्पतालमा निधन भएको हो ।
पेटको क्यान्सर पत्ता लागेकाे केही समयदेखि उहाँ वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्याे ।
६ दशक बढि कला क्षेत्रमा निरन्तर योगदान दिनुभएका श्रेष्ठको ‘लुमन्तिइ…, इलं पिज्वःगु सः, रागमि नुगलय्’ गरी ३ वटा एकल एल्बम प्रकाशित भएको छ । उहाँले नेपालको पहिलो मातृभाषी चलचित्र सिलुमा पनि अभिनय गर्नुभएकाे छ ।
२२ सालमा रेडियो नेपालबाट नेपालभाषाको समाचारको प्रसारण बन्द गरिँदा त्यसैको विरोध कार्यक्रम स्वरुप काठमाडौंको टोल टोलमा भएको सांस्कृतिक कार्यक्रमहरु सबैमा श्रेष्ठले क्रान्तिकारी गीत गाएर सहभागिता जनाउनु भएकाे थियाे ।
भाषिक अधिकारको माग गर्दै उहाँले थुप्रै प्रगतिशील गीतहरु गाउनु भएकाे छ । त्यसैले उहाँलाई नेवार समाजले नागरिक स्तरबाट जनगायक उपाधीबाट सम्मान गरेको थियो ।
श्रेष्ठको रागमि नुगलय्, असं त्वाःया दबू कुनय्, थौं वइला कन्हय् वइला, द्यःयात सिन्हाय् स्वां लगायतका थुप्रै नेपालभाषाका गीतहरु चर्चित छन् । उहाँकाे अन्त्येष्टि भोलि सोमबार गरिने परिवार स्रोतले जानकारी दिएको छ ।
उहाँकाे जन्म वि.सं. १९९० कार्तिक ८ गते बुबा आशाराम र आमा सानुनानीकाे सुपुत्रकाे रूपमा भएकाे थियाे । ५–६ वर्षकाे उमेरमा नाटक सत्यवान सावित्रीमा ‘हे देवी लिउ शरण हामीमाथि दया करो’ गीत गाएर सांगीतिक यात्रामा प्रवेश गर्नुभएका श्रेष्ठ अभिनय र नृत्य कलामा पनि पारंगत हुनुहुन्थ्याे ।
२०२२ सालमा रेडियाे नेपालबाट नेपालभाषाकाे जीवन दबू कार्यक्रममा राेक लगाएपछि काठमाडाैं उपत्यकामा नेपालभाषाकाे एउटा नयाँ युगकाे थालनी भएकाे मानिन्छ । त्यस समयमा टाेल टाेलमा हुने डबली कार्यक्रमका अनिवार्य हस्तीहरू हुनुहुन्थ्याे जनगायक भृगुराम श्रेष्ठ र जनकवि दुर्गालाल श्रेष्ठ ।
पछिल्लाे समय भजनमा धेरै समय दिनुभएका उहाँ श्रीघः ज्ञानमाला भजन खलःका संस्थापक समेत हुनुहुन्छ ।








