बाला चतुर्दशी ः शतबीज छर्नेदेखि सर्पाहुति यज्ञसम्म
नेपाली जनमानसमा संस्कृतिले आफ्नै ठाउँ ओगेटेको छ । चाहे त्यो जन्मसँग सम्वन्धित होस वा मृत्यु सित सम्वन्धित होस । संस्कृतिको आधार लिएर पुस्तान्तरण गर्दैआइरहेको छ । हामीले पनि यसलाई निरन्तर मान्र्दै आइरहेका छौ । हामी मानव मात्रको नभई हामी माझमा रहेका बिभिन्न देव देवीको पनि जन्म दिन मनाइरहेको हुन्छौ । हाम्रो मौलिकतामा भने आजभोलि बाह्य संस्कृतिले अतिक्रमण गर्दै गएको देख्न सकिन्छ ।
मानिस जन्मे पछि मृत्यु हुन्छ यो सत्य कुरा हो । नेपालीहरुले मरिसकेका पितृहरुलाई उद्धार गर्ने भनि मरेको एक वर्ष सम्म पुरै र अर्कोवर्ष पछि वर्षको एकदिन सम्झीने गरिन्छ । हामीले उनिहरुलाई श्रद्धा, परित्राण र नेवाः समुदायमा निस्ला दिने भनि (चिउरा, दहि/दुध, रोटि अथवा आजभोलि बिस्कुट, फलफुल विशेष गरि केरा राखि दिने चलन रहेको छ ।
संस्कृति विद जितेन्द्र बज्राचर्याले भन्नु भएको आधारमा भन्ने हो भने हामीले पितृको नाममा श्राद्ध गरिरहनु पर्दैन निस्ला (सिदादान) मात्र दिए पनि पुग्छ । हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।
मार्गकृष्ण त्रयोदशीको साँझमा पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै र नेवाः समुदायमा मुलाको ससाना चक्का,पिडालु र फुल पनि राखि) छर्ने चलन रहेको छ । नेपालको सन्दर्भमा विशेष गरि पशुपति नाथमा हिन्दू धर्मावलम्वीहरुको ठुलो भिड लाग्ने गर्दछ । टाढा टाढाबाट अगाडि नै आई त्यहि बास बसि बिहान चाँडै पशुपति क्षेत्रबाट शुरु गरि मृगस्थलि हुँदै गुहेश्वरी र त्यहाँको वरिपरि घुम्ने चलन रहेको छ ।
यस सम्बन्धमा प्रचलित किम्बदन्ति अनुसार भगवान शिवले पार्वतीलाई छलि मृगको रुप लिएर घुम्न गएको बेलामा पार्वतीले ध्यान गरि हेर्दा पशुपतिमा मृगरुपमा विचरण गरिरहेको थाहा पाएपछि शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको भन्ने रहेको छ । यस दिन पुण्य क्षेत्रमा एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।
यसै धार्मिक विश्वासको आधारमा पशुपति क्षेत्रमा हरेक मंसिरकृष्ण चतुर्दशीका दिन शतबीज छर्ने कार्य हुँदै आएको छ । यस क्रममा १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।
यसै दिन काठमाडौंको इन्द्रायणी (लुति) मा सर्पाहुृति यज्ञ गरिन्छ । यस होममा ३२ प्रकारका गेडागुडिसँगै चार प्रकारका जोडि जनावर (फट्याग्रा, माछा, सर्प र भंगेरा) तथा राँगाको टाउको होम गरिन्छ । यस होममा पनि पृथ्वीतत्व र आकाश तत्व विचको सृष्टि र संहारको प्रतिविम्वित गरेको पाइन्छ । यसमा लिएका भंगेरा आकाशमा उड्ने, पानीमा रहने माछा, हावामा उड्ने फट्याग्रा, जल र थल दुवैमा वस्ने सर्पका साथमा राँगाको टाउको बलि दिनुले यहि अर्थ दर्शाउने संस्कृतिविद् विराजकाजी राजोपाध्याय बताउनु हुन्छ । यो होम तान्त्रिक विधिबाट इन्द्रायणि मन्दिरको अगाडि गर्ने गरिन्छ । हजारौ धर्मालम्विहरुको सहभागिमा गर्ने यो होमका क्रममा एक पटक परेवाको जोडिलाई होममा राख्न खोज्दा उडेर एक ठाउँमा बस्न गएको र त्यहि ठाउँ कालान्तरमा बःखुबाट प्रसिद्ध भएको संस्कृतिवद्हरुको भनाइ छ । सो परेवालाई पुनः पक्रिन खोज्दा सिद्ध भइ गएको र परेवाकै नामबाट सो स्थान बखु (हालको विष्णुदेवी मन्दिर रहेको स्थान) रहन गएको किंवदन्ति रहेको छ ।
अष्टमि परेको भएर बखुमद अष्टमि भनि सात गाउँ (किर्तिपुर, नगाउँ, बोसीगाउँ, सतुङ्गल, मच्छेगाउँमा नैकाप, ल्होखा) मा जात्रा गर्ने चलन हालसम्म पनि विद्यमान रहेको छ ।
बाला चतुर्दशीको सर्पाहुतिका त्रममा होम गरिने जोडी जीवहरु खोज्ने निर्धारित स्थान रहेको छ । सो स्थानमा फेला परेका जीव मात्र होम गर्ने प्रचलन रहेकोमा नभेटिएको खण्डमा नभेटिएको जीवको होम गरिँदैन । सर्पाहुति यज्ञका नामले यो होम प्रख्यात भए पनि समय समयमा सर्प नभए पनि यो होम सम्पन्न गरिने गरिँदै आएको छ । यस होमको खरानी भक्तजनहरुले घरमा लिएर जाने गर्दछन् भने यसले नकारात्मक शक्तिले घरमा दुःख नदिने जनविश्वास रहेको छ ।
यसको अलावा काठमाडौंमा शोभाभगवतिको पनि बालाचतुर्दशीका दिन जात्रा गरिन्छ ।
यसरी बालाचतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ । यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्काेतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ ।








