रविन्द्रराज ताम्राकार अध्यक्ष प्रत्यासी, ललितपुर उद्याेग वाणिज्य संघ

संघको बृहत्तर हितका लागि मेरो उम्मेदवारी ः ताम्राकार

ललितपुर उद्योग वाणिज्य संघको यही असोज १९ र २० गते हुने ४४ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ । सो अधिवेशनमा संघलाई नयाँ दिशा दिने उद्देश्यका साथ ताम्राकार समाजका पूर्व अध्यक्ष एवम् संघका पूर्ववरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकारले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँको उम्मेदवारी र संघलाई गतिशील बनाउनका लागि उहाँको योजनाहरुका सम्बन्धमा मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
ललितपुर उद्योग वाणिज्य संघलाई यहाँले कसरी बुझ्नुभएको छ ?
ललितपुर उद्योग वाणिज्य संघको स्थापना २०२३ साल चैत्र ४ गते भएको हो । ललितपुर जिल्लाभरका सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितको रक्षाका लागि संघको स्थापना भएको हो । यो ललितपुरका उद्योगी व्यवसायीहरुको मात्र नभएर ललितपुरका सम्पूर्ण नीजि क्षेत्रको छाता संगठनको रुपमा रहेको छ । संघले ललितपुरका उद्योगी व्यवसायीहरुका साथै विभिन्न क्षेत्रहरुमा भएका घटनाहरुमा विशेष चासो दिएर अगाडि बढीरहेको छ । यो संघ अहिलेको अवस्थामा झण्डै ५६ वर्षको इतिहास बोकेको अवस्थामा छ ।
ललितपुर उद्योग वाणिज्य संघमा तपाइँको आवद्धता कहिलेबाट हो ?
ललितपुर उद्योग वाणिज्य संघमा म झण्डै अढाई दशकदेखि सदस्यता ग्रहण गरेपछि १६ वर्ष अगाडिदेखि विभिन्न पदमा रहेर कार्य गर्दै आइरहेको छु । म दुई कार्यकाल कार्यसमिति सदस्य, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्म भइसकेको छु ।
तपाइँको विगतका कार्यकालमा ललितपुर उद्योग वाणिज्य संघले हासिल गरेको महत्वपूर्ण उपलब्धी के हो ?
ललितपुर उद्योग वाणिज्य संघ आजको स्थानमा आइपुग्नमा हाम्रा अग्रजहरुको विशेष योगदान रहेको छ । कार्यसमितिमा म आउँदा ललितपुर उद्योग वाणिज्य संघ एउटा छवि बनाइसकेको अवस्था थियो । सम्पूर्ण चेम्बर अभियानमा ललितपुर उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । म पहिलोपटक कार्यसमिति सदस्य बनेको समयमा नरेशकुमार श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । उहाँको कार्यकालमा मैले संगठन विस्तार तथा प्रचारप्रसार समितिको संयोजक भएर कार्य गरेको थिएँ । यसैगरी दोश्रो कार्यकालमा मृगेन्द्रमान प्रधानज्यू हुनुहुन्थ्यो । उहाँको कार्यकालमा पनि म सोही जिम्मेवारीमा थिएँ । सो अवधिमा मैले सदस्य महानुभावहरु सूसुचित हुन पाउनुपर्छ भन्ने उद्देश्यले निरन्तररुपमा संघको मुखपत्र अर्थ बुलेटिन र अर्थ स्मारिकाको प्रकाशन गरेँ । यसैगरी मृगेन्द्रमान प्रधानज्यूको कार्यकालमा नै सहकारीलाई पनि संघमा आवद्ध गराउने कार्य गरेको थिएँ भने ललितपुरका विभिन्न टोलका उद्योगी व्यवसायीहरुलाई संलग्न गराई म संयोजक भएर वृहत ललितपुर महोत्सवको पनि आयोजना गरेको थिएँ । त्यो समयमा लगभग ११ लाख मानिसहरु ललितपुर महोत्सव हेर्न आउनुभएको थियो । यसैगरी उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु हामीले संचालन गरेका थियौं । सोही अवधिमा एपीओ (एसियन प्रोडक्टिभिटी अर्गनाइजेशन)सँग सहकार्य गर्ने कार्यको संयोजकत्व पनि मैले नै गर्ने अवसर पाएँको थिएँ । सो प्रोजेक्टबाट झण्डै १०–१२ लाखको अनुदान प्राप्त गरी विभिन्न तालिमहरु प्रदान गर्ने अवसर प्राप्त भएको थियो ।
यसैगरी चैत्र ४ गते संघको स्थापना दिवस भन्ने धेरै कमलाई मात्र थाहा थियो । त्यो दिनलाई हामीले उपयोग गर्नुपर्छ भनेर मेरै नेतृत्वमा चैत्र ४ गतेलाई स्थापना दिवस मनाउने कार्यको थालनी गरिएको थियो । यसका साथै म ललितपुर उद्योग वाणिज्य संघमा आवद्ध भएदेखि नै नियमित कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छु ।
यसपटक अध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन हो ?
संघको हालको छविलाई अझ उच्च बनाउनका लागि मैले अध्यक्ष पदमा दावी प्रस्तुत गरेको हुँ । संघको कार्यक्षेत्र ललितपुर जिल्ला भर भएपनि यसले सीमित क्षेत्र मात्र समेट्न सकेको जस्तो मलाई लागेको छ । ललितपुरको दक्षिणीभेग जिल्लाको कर्णाली क्षेत्र जस्तै बनेको छ । विकासका न्यूनतम पूर्वाधार समेत त्यहाँ पुग्न सकेको छैन । संघीय राजधानीको नजिकको जिल्ला भएर पनि हाम्रो क्षेत्रमा दुर्गम ठाउँहरु समेत रहेको छ । त्यहाँ पर्यटन तथा कृषिको प्रचुर सम्भावना रहेको छ । यसैगरी छम्पीतिर जानुभयो भने त्यहाँ नेपाल आर्ट भिलेजको रुपमा विकसित गर्न सकिने ठूलो पर्यटकीय ठाउँ हो । यसलाई पनि प्रवद्र्धन गर्नका लागि हामी लागिरहेका छौं । यसैगरी लुभु क्षेत्र कपडाको लागि महत्वपूर्ण स्थान रहेको छ । यसैगरी धेरै पहिलेदेखि सुरु भएको कान्ति लोकपथ अहिले पूरा हुने क्रममा रहेको छ । त्यसमा देखिएका समस्या समाधानका लागि पनि अग्रसरता लिने प्रयास गर्नेछौं । यसका साथै लुभु–लामाटार–देहेवर मार्ग निर्माण हुने क्रममा रहेको छ, त्यसले लुभुका बासिन्दाहरुलाई धेरै लाभ हुनेछ । यसलाई चाँडै पूरा गराउनका लागि पनि हामीले प्रयास गर्नेछौं ।
तपाइँ प्रस्तुत गर्नुभएका योजना पूरा गर्न सरकारसँग कसरी सहकार्य गर्नुहुन्छ ?
वर्तमान समयमा तीनै तहका सरकारसँग नजिकको सम्बन्ध हुनुपर्छ जस्तो मलाई लागिरहेको छ । उहाँहरुसँग सहकार्य गरेरै हाम्रा समस्याहरु समाधान गर्दै जान सकिन्छ । तीनै तहका सरकारसँग सहकार्य गर्न र नीजि क्षेत्रको समस्या पु¥याएर समाधान गर्नको लागि म सक्षम छु । यसका साथै अहिले ललितपुरमा अरु पनि व्यवसायीहरुको संगठन आइसकेको छ, उहाँहरुसँग पनि काँधमा काँध मिलाएर सहकार्य गर्न आवश्यक छ । अहिले स्थानीय, प्रदेश र संघीय सरकार, प्रशासन र व्यावसायिक संगठनहरुसँग सहकार्य गर्न म सक्षम छु । तीनै तहको सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर ललितपुरको मुहार फेर्ने कार्य गर्नेछु ।
तपाइँको टीम कस्तो चयन गर्नुभएको छ ?
टीमको कुरा गर्दा अहिले जति पनि साथीहरु पदाधिकारी तथा कार्यसमिति सदस्य पदका लागि उम्मेदवार दिँदै हुनुहुन्छ, उहाँहरु सबैलाई समेटेर लान म सक्षम छु जस्तो लाग्छ । किनभने मैले विभिन्न संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरीसकेको र त्यहाँको अनुभवको आधारमा पनि मैले संगठनका सबैलाई समेटेर लान सक्छु । तापनि चुनावमा जाँदा प्यानलको पनि कुरा हुन्छ । जसको लागि पनि मैले तयारी गरिरहेको छु । पदाधिकारीमा उम्मेदवारी दिने बताउनुभएका साथीहरुसँग विभिन्न चरणमा कुराकानी गरिरहेको छु । सहमति अनुरुपको प्यानल बढाएर अगाडि बढ्ने प्रयास गर्नेछु ।
ललितपुर उद्योग वाणिज्य संघले गर्नु बाँकि काम के के छन् ?
ललितपुर उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीहरुको संस्था भएता पनि यो नितान्त सामाजिक संस्था हो । संघमा निर्वाचित हुने पदाधिकारीहरुले पनि सामाजिक मूल्य मान्यतालाई अंगीकार गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्दछ । ललितपुर जिल्लाभर कार्यक्षेत्र भएता पनि समग्र ललितपुरलाई समेट्न सकेको छैन । यो ललितपुर नगर क्षेत्रभित्र मात्र सीमित रहेको अवस्था छ । नगर क्षेत्रका व्यवसायीका समस्या संघले सम्बोधन गरेको छ तर समग्र जिल्लाको कुरा समेट्न सकेको छैन । मेरो प्रयास जिल्लाभरीका तीन नगरपालिका र तीन गाउँपालिकालाई समेटेर लाने हुनेछ । क्षमताको आधारमा संघले गर्न सकिने धेरै कामहरु छन् । तर हामीले थोरै मात्र गर्न सकिरहेका छौं । संघमा सबैलाई समेट्ने मैले विशेष प्रयास गर्नेछु ।
सदस्यता वितरण तथा नयाँ सदस्य आकर्षित गर्न कस्तो योजना अगाडि सार्नुहुन्छ ?
अहिले संघमा २ हजारको हाराहारीमा सदस्यहरु रहेका छन् । यसले पनि हामी ललितपुर जिल्लाभरि पुग्न सकेका छैनौं भन्ने स्पष्ट हुन्छ । सदस्यहरुलाई दिने सेवा सुविधाहरुको वृद्धि गर्नुका साथै संघप्रति अपनत्व प्रदान गर्ने किसिमका कार्यहरु गरेर हामीले सदस्यता वृद्धि गर्न सक्छौं । विशेष गरेर कुनै पनि सस्थामा सदस्य भइसकेपछि त्यहाँबाट के फाइदा हुन्छ भन्ने प्रश्न उठ्नु स्वभाविक हुन्छ । उहाँहरुको प्रश्नको सन्तुष्ट हुने किसिमबाट जवाफ दिन आवश्यक छ जस्तो मलाई लाग्छ । विशेष गरेर तीनवटै नगरपालिका र तीनवटै गाउँपालिकामा पुगेर त्यहाँका उद्योगी व्यवसायीहरुको समस्या समाधानको प्रयास हामीले गर्नेछौं । यसको साथै समृद्ध ललितपुर ः वृहत्तर ललितपुर उद्योग वाणिज्य संघ नारालाई सार्थक रुपमा अगाडि बढाउन विशेष गरेर मेरो कार्यकालमा प्रयास हुनेछ ।
संघले हस्तकला क्षेत्रलाई कसरी अगाडि बढाउनु हुन्छ ?
संघले पहिलेदेखि नै ललितपुरलाई हस्तकलाको नगरीको रुपमा परिचित गराउनु पर्छ भनेर भूमिका खेलेको छ । नेपाल उद्योग वाणिज्य महासंघको एक जिल्ला एक उत्पादन अभियान संचालन हुँदा पनि हस्तकलालाई अगाडि ल्याउन प्रयास गरेका थियौं । त्यतिबेला प्राविधिक कारणले हस्तकलालाई त्यसमा समावेश गर्न सकेका थिएनौं । त्यतिबेला सुनाखरीको फूल उत्पादन गरेर किसानहरुलाई लाभान्वित हुने अवसर प्रदान गरेका थियौं । नेपालभरमा हस्तकलाको उत्पादन ललितपुर जिल्लाबाटै ८०% हुने गरेको पाइन्छ । यहाँ धेरै हस्तकला व्यवसायीहरु भएका कारणले उहाँहरुको मागलाई हामीले निरन्तररुपमा सम्बोधन गर्ने प्रयास गरिरहेका छौं । नेपाल हस्तकला महासंघसँग पनि हामीले सहकार्य गरिरहेका छौं । जसको फलस्वरुप वल्र्ड क्राफ्ट काउन्सिलबाट हामी हस्तकला नगरीको रुपमा विभूषित हुने अवसर प्राप्त गरेका छौं । विश्वका धेरै कम नगरहरु मध्ये ललितपुर पनि हस्तकला नगरी बनेको छ । तापनि हस्तकला व्यवसायीहरुलाई दिनु पर्ने सचेतना, हस्तकलाको ब्राण्डिङ्गदेखि धेरै कुरामा हामी पछि परिरहेका छौं । यसको लागि पनि हामीले पहल गर्नेछौं । म आफै पनि हस्तकला व्यवसायी हुँ । संघको ५६ वर्षको इतिहासमा कोही पनि हस्तकला व्यवसायी आएको छैन । यसैले पनि ललितपुरमा हस्तकलाको क्षेत्र पछाडि परेको हो कि भन्ने हामीलाई अनुभूति भइरहेको छ । म हस्तकला व्यवसायी भएकै कारणले पनि हस्तकलालाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि सार्ने योजना रहेको छ ।
समयको लागि तपाइँलाई धेरै बधाई एवम् सफलताको शुभकामना छ ।
मेरो साप्ताहिकलाई पनि धेरै धन्यवाद छ । मेरो यो अभियान भनेको विशु्द्ध व्यावसायिक अभियान हो । विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरिसकेको कारणले पनि संघको सही क्षमतालाई पहिचान गराउने मेरो प्रयास रहनेछ । संघको शीर ठाडो पार्ने मेरो विशेष प्रयास रहनेछ । मैले विगतमा गरेका कार्य अनुभवहरुलाई समेत समेटेर यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन गइरहेको छु । संघका सम्पूर्ण सदस्यहरुले मैले विगतमा गरेका कार्यहरुको सही मूल्यांकन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । सम्पूर्ण सदस्यहरुलाई यहाँहरुको अमूल्य मतका लागि विशेष अनुरोध गर्दछु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध