सकारात्मक दृष्टिले नै हाम्रो सृष्टि बदलिन्छ
हामी भित्र मन बुद्धि र संस्कार रहेको हुन्छ । मनको काम सोच्ने मात्र हो । हाम्रो मनले एकै क्षणमा धेरै कुरा सोच्ने गर्दछ । मन संसारको सबै बस्तु भन्दा छिटो चल्ने गर्छ । यसले राम्रो पनि सोच्दछ नराम्रो पनि । त्यसको पहिचान वा पारख गर्ने काम हामी भित्रको विवेक वा वुद्धिको हो । संकल्प वा विचार आए पछि मात्र मानिसले कार्य गर्दछ । संकल्प आउना साथै कार्य गर्न लागियो भने यस क्रियाले परीणाम जस्तो पनि आउन सक्दछ । किनकि हाम्रो मनले त जस्तो पनि सोच्छ सकारात्मक तथा नकारात्मक । सकारात्मक विचारको परिणाम राम्रो आउँछ भने नकारात्मक विचारको नराम्रो । त्यसैले संकल्पलाई व्यवहारमा उतार्नु भन्दा पहिले वुद्धि लगाएर निर्णय गर्नु पर्दछ । त्यो नै हाम्रो बास्तविक दृष्टि हो ।
हाम्रो शरीर पञ्च भौतिक तत्वले बनेको हुन्छ । ती हुन् पृथ्वी, जल, वायु, अग्नी र आकास । यसलाई जड शरीर भनिन्छ । यो विनासी हुन्छ । यसलाई सञ्चालन गर्ने अमर तथा चैतन्य तत्व छ । त्यो आत्मा हो । यो जड शरीर आँफै चल्दैन । हाम्रो शरीरलाई सञ्चालन गर्ने भनेको आत्माले हो । आत्मा भित्र तीन वटा शक्ति हुन्छन् । ती हुन् मन, वुद्धि र संस्कार । मन शक्ति भनेको सोच्ने शक्ति हो । बुद्धि भनेको पारख गर्ने शक्ति हो र संस्कार भनेको हाम्रो व्यवहार, बानी, चालचलन र हामीले गरेको कार्यको अनुभुति आदिको अमेट छाप हो । यो हाम्रो जन्म जन्मको कमाई हो । हाम्रो यहि संस्कार अनुसार मनमा संकल्पहरु आउने गर्दछन् । हामी भित्रको खराव संस्कारले खराब विचार (संकल्प) पैदा गराउँछ । जसले हाम्रो व्यक्तिगत जीवनलाई नै पत वर्वाद पार्दछ नै साथै अरुको जीवनलाई पनि त्यसै गरी वर्वाद पार्न सक्दछ । मानव जगत, प्राणी जगत र प्रकृति जगतलाई नै वर्वाद पार्न सक्दछ । मानिसको नकारात्मक सोचका कारण नै मानिसले दुःख, पीडा, यातना, चिन्ता, भय, र आतंक भोग्न परिरहेको छ । मानिसको यो गलत विचारले मानिस मात्र हैन तमाम जीवात्मा नै प्रताडित बनेको छ । आतंक, कोलाहल, हिंसाको चपेटामा परिरहेको छ ।
हाम्रो प्रयास जहिले पनि असल संस्कारको विकास गर्ने तर्फ अग्रसर हुनु पर्दछ । हामीमा रहेको असल संस्कारले हाम्रा मनमा सकारात्मक संकल्पहरु पैदा गर्दछन् । जसको कारण हामीले गर्ने कार्यहरु राम्रा हुन जान्छन् । यसले गर्दा हामीले खुशी र आनन्दित हुन सक्दछौँ र अरुलाई पनि आनन्दित तुल्याउन सक्दछाँै । यसले विश्वमा शान्ति स्थापनामा सहयोग पुर्याउँछ । मानवताको हित, प्राणी जगतको भलो, उन्नतिप्रगति हुन सक्दछ । सबैको भलो र समुन्नति चिताउनेहरुले नै समाजमा सुख शान्ति र सम्मृद्धि ल्याउन सफल हुन्छन् ।
मनको काम त सोचिरहने हो । विचारहरु दिइरदिने हो । यो विचार पैदा गर्न मद्दत गर्ने हामीले लिएर आएको वा विगतमा विकास गरेको संस्कारले हो । खराव संस्कारले भरिएको आत्मामा मनले नकारात्म विचारहरु नै ज्यादा पैदा गर्न पे्ररित गर्दछ । असल संस्कारले भरिपूर्ण आत्माको मनभित्रबाट सकारात्मक विचारहरु नै निस्कन्छन् । सकारात्मक विचारहरुले प्रगति उन्मुख दृष्टि पैदा गर्दछ । त्यो खालको दृिष्ट दिने मानिसहरुबाट निर्माणका कामहरु हुने गर्दछन् भने खराव दृष्टि राख्नेहरुले विनास तथा विध्वंश मात्र गर्ने गर्दछन् ।
मनले त नकारात्मक विचार मात्र पैदा हुने हैन। मनमा त सकारात्मक र नकारात्मक दुवै विचार पैदा हुन्छन् । कुनलाई बढाउने र कुनलाई घटाउने र कुनलाई जीवनम कार्यान्वयन गर्ने भन्ने कुरा वुद्धिको हो । मनलाई वुद्धि लगाएर नियन्त्रण गर्न सकियो भने हामीबाट नराम्रा कार्यहरु हुन सक्दैनन् । सकारात्मक संकल्पहरु मनमा आइरहुन् भन्नको लागि हामीले राम्रो आहारविहार, असल मान्छेको संगत, राम्रा पठन सामग्रीहरुको अध्ययन, असल मानिसहरुको कुरा र प्रवचनहरुको श्रवण गर्ने र समय मिलाई यस्ता कुराको वारे चिन्तनमनन् गर्नु पर्दछ ।
आहारविहार अशुद्ध रहे । तामसी भोजन गरे । खराव मानिसको कमाई खाए । खराव चिन्तन राखेर बनाएको खाना खाए यसको नकारात्मर्क प्रभाव हाम्रो मनमा पर्दर्छ । मनले गलत संंकल्प गर्न थाल्छ । गलत संकल्पले हाम्रो दृष्टि पनि गलत बनाई दिन्छ । गलत दृष्टिले गलत सृष्टि हुनजान्छ । निर्माण भन्दा विनास वा तोडफोड हुन सक्छ । भनाई छ जस्तो अन्न उस्तै मन । जस्तो दृष्टि उस्तै सृष्टि ।
त्यसै गरी संगतको बारेमा पनि सजगता अपनाउनु पर्दछ । संगतले मानिसलाई महान पनि बनाउँछ र बदनाम पनि बनाउन सक्दछ । ज्ञानी मानिसहरुको संगतले महान पनि बनाई दिन्छ । फटाहा, चोर, डाँका, दुव्र्यसनी, जड्याहा आदिको संगतले त्यस्तै बनाई दिन्छ । असल मानिसले लेखेका कितावहरु पढ्नाले हामीलाई सुमार्गमा लाग्न प्रेरित गर्दछ भने अस्लील र उट्पट्याड लेख उपन्यासहरु पढ्नाले, खराब श्रव्यदृश्यहरुले हाम्रो मनको चिन्तनलाई विगारी दिन्छ, हामीमा भड्काउ आउँछ, मन दिग्भ्रमित बन्छ, र यसले हामीलाई गलत मार्गमा लगाउँछ । यसले आप्mनो जीवनलाई बर्बाद त गर्दछ नै परिवार र समाजलाई पनि सताउँछ । समाजको शान्ति अमन चयनलाई खलबल्याई दिन्छ ।
राम्रो विचार मनमा ल्याउनु, सकारात्मक चिन्तन गर्नु, गलत सोच र नकारात्मक चिन्तनलाई मनबाट हटाउनु र आफ्नो भलो सोच्नु र अरुको पनि भलो नै शुभ संकल्प हो । मनिसको मनमा अशुभ संकल्प नआउने हैन आउँछ तर असल मानिसले अशुव संकल्पहरु वा नकारात्मक विचारलाई मनमा धेरैबेर रहन दिदैनन् । आफ्नो बुद्धिले पारख गर्दछन् र गलत चिन्तनलाई हटाई शुभ संकल्पहरुलाई बढाउने प्रयास गर्दछन् र व्यवहारमा उतार्न कोसिस गर्दछन् । यसले व्यक्ति आफूलाई र अरुलाई पनि कल्याण गर्दछ ।
असल व्यक्तिले जहिले पनि विहान सबेरै उठेर सबै भन्दा पहिले आफूले दिनभर गर्ने कार्यको वारेमा चिन्तन गर्छ र आफ्नो लगायत अरुहरुको हितको लागि पनि कल्याणका काम गर्न सकुँ, प्राणी जगतको र सम्पूर्ण प्रकृति, धर्ती माता लगायत सबैको हितमा केही गर्न सकूँ, परिवारका सदस्य, वरपरको समाज, देश र विश्वका सवै चराचर जगतको कल्याण होस् भन्ने संकल्प मनमा राख्नु नै हामी मानिसको कर्तव्य हो । शुभ संकल्पको न केही मेहनत र केही खर्च नै । हामी सबै मिलेर एकसाथ यस्तो संकल्प गर्ने हो भने वातावरण नै बदलिन्छ । जसरी एउटा ईञ्जिनियरले एउटा घर वा पुल निर्माण गर्दा उसले यस्तो बनाउँछु भनेर दृष्टि गोचर गर्दछ । एउटा मालीले बगैंचालाई सुन्दर बनाउन कुन जातका फूललाई कुन कुनामा कसरी सजाउने भनेर दृष्टि गोचर गर्दछ अनि मात्र घर र बगैंचा सुन्दर बन्दछन् । समाजलाई रुपान्तरण गरेर सुन्दर कसरी बनाउने सुखी र शान्त समाजको निर्माण गर्न हामी सबैले आआफ्नो स्थानबाट राम्रो दृष्टि बनाउनु पर्दछ । हामी सबैको असल दृष्टिले सुन्दर सृष्टि तयार हुनजान्छ । हामीले सोचेको जस्तो सृष्टि तयार हुन हामी धेरै मिलेर सोच्नु पर्दछ त्यसमा हामीलाई प्रकृतिका पाँचै तत्वले पनि सहयोग गर्नेछन् । हामीले उनीहरुलाई केवल शुद्ध संकल्पको योगदान दिए मात्र पुग्दछ । अहिले हाम्रो पृथ्विमा दुःख व्याप्त छ यो दुखको संसारलाई सुखी संसार आनन्दको संसारमा रुपान्तरण गर्न सकारात्मक दृष्टिको आवश्यकता पर्दछ ।








