नेपालभाषाको कला र साहित्य विकासमा मुनासःको योगदान

मदन कृष्ण श्रेष्ठ
सचिव, मुनासः
आज भन्दा पचास वर्ष अगाडि मुनासः गठन भएको हो । ख्यालः (हास्य व्यंग्य प्रहशन)ले पहिले स्टेज पाएको थिएन । ख्यालः देखाउने चलन मल्लकालमै शुरु भएर निरन्तर संचालन हुँदै आएको छ । यो राणाकालमा समेत प्रचलित थियो । पञ्चायतकालमा पनि ख्यालःले स्थान पाएकै थियो । जब मुनासःको गठन भयो, तब यसले ख्यालः कासा (प्रतियोगिता)को आयोजना गर्न थालनी ग¥यो । यसबाट धेरै कलाकारहरुको जन्म भयो । म पनि यसैबाट जन्मेको हुँ । मुनासःका कार्यक्रमहरुमा नगेन्द्र हाडाका रचना र संगीतमा रहेको गित गाएर म कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । म जस्तै रामशेखर नकर्मि, श्रीकृष्ण अणु, कृष्ण नापित, आशा काजी थकु, वत्स गोपाल बैद्य, पदम रत्न तुलाधर, मोहनलाल पांसु जस्ता धेरै कलाकारहरु मुनासःका कारण चिनिनु भएको छ ।
मुनासःको लोगो मोहनलाल दाईले मु ना सः तिन अक्षरलाई घण्टीको आकारमा राखेर लोगो डिजाइन गर्नुभएको छ । यसले मुनासःलाई परिचित गराउन सहयोग गर्यो । मुनासःको लोगो घण्ट हुनुमा मुनासःको अर्थ भित्रबाट उत्पन्न भएको आवाज हो । आवाजको प्रतिक घण्टी हो भन्ने प्रतिकका रुपमा यो लोगोको निर्माण गरिएको हो । मुनासको ख्यालकासामा भाग लिन व्यक्तिगत रुपमा नपाइने भएका कारण टोलटोलमा धेरै संस्थाहरुको गठन भयो । संस्थागत रुपमा भाग लिँदा पछि पुन सम्पर्क गर्न सजिलो हुने भएका कारण हामीले ख्यालः कासामा सहभागि हुनका लागि संस्थागत हुनैपर्ने पहिलो नियम बनाएका थियांै । अर्को कुरा संस्थागत रुपमा संचालन हुँदा एक आपसमा छलफल भइ राम्रो काम हुने गर्दछ । हरिवंश र म दुइजना मिलेर गर्दा पनि हामीले एक अर्कालाई अगाडि बढ्न सहयोग गरिरहेका हुन्छौ । यस्तै संस्थामा त झन सामूहिक छलफलबाट राम्रो निचोड निस्कन्छ भन्ने हाम्रो मन साय हो । हामीले संस्थागत रुपमा नै भाग लिनुपर्ने व्यवस्था गरेपछि ख्याल कासमा भाग लिनकै लागि पनि कतिपय संस्थाहरु गठन गरिएको पाइयो । तर यसरी ख्यालकासामा भाग लिनको लागि मात्र गठन गरिएको संस्थाहरु पनि ख्यालकासामा पुरस्कृति भएपनि नभएपनि निरन्तर विभिन्न सामाजिक कृयाकलापमा क्रियाशिल भएको पाइन्छ ।
यस्ता संस्थाहरुले सामाजिक सेवाका कार्यका साथै संगित सम्मेलन जस्ता कार्यक्रमहरुको आयोजना गर्नाले नेपालभाषा साहित्य तथा कलाकारिता विकासमा ठुलो टेवा पुगेको छ । टोलटोलमा यस्ता समूहहरु गठन भएपछि त्यसको नियमनको लागि एउटा छाता संगठनको आवश्यकता महशुस भयो र नेपालभाषा मंकाः खलः पनि गठन हुन पुग्यो । पद्मरत्न तुलाधरको नेतृत्वमा मंकाः खलः स्थापना भएपछि उहाँलाई राजनितिक रुपमा अगाडि बढ्न पनि सजिलो भयो । राष्ट्रिय पञ्चायतसम्म पुगेर जनताको आवाज राख्न सफल हुनुभयो । मुनासःको गठनबाट राजनितिक सामाजिक र कलाकारिता क्षेत्रमा ठुलो टेवा पुग्न गएको छ । मुनासःले आयोजना गरेको ख्याल कासाका क्रममा तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सत्य मोहन जोशीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने काम भयो । यस कार्यक्रमबाट प्रभावित भएर जोशि ज्यूले आगामि वर्षदेखि प्रज्ञा प्रतिष्ठानमा नै राष्ट्रब्यापी गाइजात्राको कार्यक्रम आयोजना गर्नुभयो । यो कार्यक्रम संचालन गर्दा जोशीज्यूलाई समस्या पनि परेको थियो । तथापि उहाँले तत्कालिन पंचायत सरकारलाई हास्य व्यग्य परम्परा नेपालीको संस्कृति नै भएको कुरा बुझाएपछि गाइजात्रा कार्यक्रमले निरन्तरता पाएको थियो ।
मुनासःलाई हामीले संस्थागत रुपमा दर्ता गर्ने प्रयास पनि गरेका थियौं तर तत्कालिन पञ्चायति व्यवस्थाले यसलाई दर्ता गर्न स्वीकार गरेन । मुनासःले संचालन गर्ने कार्यक्रमका सुचना तथा पोष्टहरु च्याटेर लाने कामसम्म भयो । तत्कालिन प्रशासनको नीतिको कारण मुनासः अगाडि बढ्न सकेन भने एकडेमिले संचालन गरेको गाइजात्रा कार्यक्रम पनि लामो समय चल्न सकेन तर त्यहाँबाट पनि थुप्रै कलाकारहरु उत्पादन भए । हास्य व्यङ्ग विधामा दीपकराज गिरी जस्ता कलाकार कमेडि क्लब जस्तो कार्यक्रमको जग यहि गाइजात्रे प्रहसन नै हो ।
पचास वर्ष अगाडि मुनासः संचालन गर्दा आजजस्तो संचार सुविधा थिएन । कुनै पनि सुचनाको आदान प्रदान गर्न सम्वन्धित व्यक्तिलाई भेट्न सम्बन्धित ठाउँमा नै जाने पर्थो जस्तै राम शेखरलाई भेट्नु पर्यो भने भक्तपुर नै पुग्नु पथ्र्यो श्री कृष्ण अणुलाई भेटेन उहाँको घरमै जानुपथ्र्यो, बत्सगोपाल भेटन ललितपुर पुग्नुपथ्र्यो । यसरी विभिन्न कठिनाइको सामना गरेर मुनासःले ख्यालः कासा आयोजना गर्दै आएका थियौ । मुनासःमा पञ्चायत शासन व्यवस्था भएका कारण ख्यालःमा प्रयोग गरिने सम्वादले कलाकारहरुलाई मर्का नपरोस् भन्ने हेतुले प्रदर्शन पुर्व नै प्रा. माणिक लाल श्रेष्ठज्यूको संयोजकत्वमा सेन्सर बोर्ड गठन गरेका थियौ । उहाँले ख्यालःको स्कृप्त अध्ययन गरेर संशोधनको सुझाव दिनुहुन्थ्यो । सोहि अनुरुप ख्यालः कासा संचालन गर्दागर्दै पनि नेपालभाषाबाट संचालन गर्ने ख्यालः कासामा पञ्चायती शासन व्यवस्थाको वक्रदृष्टि पर्न नै गयो । जसका कारण तत्कालिन समयमा लोकप्रिय हँुदाहुँदै पनि ख्यालः कासा छ पटक सम्म संचालन गरिसकेपछि रोकिन पुग्यो ।
मुनासः रोकिएपछि पलिस्था गठन भयो । जसले डबलि नाटक तथा संगित सम्मेलनहरुको आयोजना गर्यो यसै गरि टोल टोलमा पनि संगित सम्मेलनको आयोजनाले मलाई कलाकारको रुपमा अगाडि बढन सहयोग पु¥यायो । मुनासःकै कारण पद्म रत्न तुलाधरज्यू नेपाल भाषा हास्यव्यंग्य रचनामा एक अलग्ग छाप छोड्न सफल व्यक्तित्व हुनुभयो । उहाँ तत्कालिन समयमा “झी” नामक पत्रिका संचालन गर्नुहुन्थ्यो । हामी गएर उहाँलाई ख्याल लेखिदिन आग्रह गरिदिन्थ्यो । उहाँ विल्क्षण प्रतिभाका धनि हुनुहुन्थ्यो । उहाँले एकै सिटिङ्गमा ख्याल लेखन पुरा गर्नुहुन्थ्यो यस्तै अर्को सम्झनु न पर्ने व्यक्ति राम शेखर नकर्मि हुन्छ मुनासःका कार्यक्रम भएकै कारण उहाँले धेरै ख्यालहरु लेख्नु भएको छ । जुन पछि संग्रहित गरेर पुस्तक नै प्रकाशित भएको छ । मुनासःको ख्याल कासा नभएको भए यस्तो हुने थिएन । किनभने ख्यालको आवश्यकता नै पर्ने थिएन । आवश्यकता नभइकन राम शेखरज्यूले लेख्नु पनि हुने थिएन । यसर्थ नेपाल भाषा कला साहित्यको विकासमा मुनासःको विशेष योगदान रहेको छ ।
मुनासः स्थापना भएको पचासौ वर्ष पुगेको छ । हामी स्थापना गर्दाको समयका युवाहरु अहिले जीवनको उत्तराद्र्धमा पुगेको छौं । म पार्किन्सनको सिकार भएको छु । यसै गरि संस्थापक नविन चित्रकार व्रेन स्ट्रोक भएर अस्वस्थ हुनुभएको छ कतिपय साथिहरु परलोक सिधार भइसकेको छ । अब यो संस्थालाई यतिकै विलय गराउनु भएन युवा पुस्तालाई हस्तान्तरण गरेर यसलाई अझ अगाडि बढाउनु पर्छ भन्ने सल्लाह भयो । यसमा अब सुरेन्द्र तुलाधर र उहाँको समूहले यसलाई अगाडि बढाउनु हुन्छ भन्ने विश्वास रहेको छ । यस समूहले ख्यालःकासालाई पुनर्जिवन दिनु हुनेछ र जनताको आवाजलाई मुखरित गर्नु हुनेछ भन्ने विश्वास गरेको छु ।
हामीले पहिला ख्यालः कासा संचालन गर्दा एउटा ख्यालः र एउटा गीतको फम्र्याटमा कार्यक्रम संचालन गथ्र्यौ अब नयाँ नेतृत्वले आगामि वर्ष देखि जुन ख्यालः कासाको आयोजना गर्दै हुनुहुन्छ उहाँहरुले पनि यहि फम्र्याटलाई अंगीकार गरेर अगाडि बढ्न सुझाव दिन चाहन्छु ।
हामी मुनासःका साथिहरु अध्यक्ष श्रीराम श्रेष्ठ, उपाध्यक्ष नविन चित्रकार, सचिव म स्वयं मदनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष मोहन लाल श्रेष्ठ लगायत सम्पूर्ण सदस्यहरुको तर्फबाट नयाँ समूहले मुनासःलाई अझ उचाईमा पु¥याउन सकोस र नेपाली कला र साहित्य विकासमा टेवा पु¥याउन सकोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
(ख्यालि जुजु मदनकृष्ण श्रेष्ठ मुनासःका सचिवसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्नकाजी महर्जनले गर्नुभएको कुरा कानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध