‘इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनुपर्छ’

ज्यापु संस्कृतिका धरोहर गुरु इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनु पर्ने र यसका लागि सम्बन्धित पक्षले पहल गर्नुपर्ने जिकिर एक कार्यक्रममा गरिएको छ । किलाघः त्वाःका कजि, देवीनाच (दीप्याखं)का गुरु एवम् नाइके इन्द्र महर्जनको निधन भएको ६ महिनाको पुण्यतिथिमा प्रकाशित पुस्तक ‘ज्यापु संस्कृतिका धरोहर गुरु इन्द्र महर्जन ः समय सन्दर्भ’ पुस्तक विमोचन तथा पुस्तक वार्ता कार्यक्रममा अतिथिका रुपमा मन्तव्य राख्नुहुँदै रीड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले गुरु इन्द्र महर्जनको हुलाक टिकट प्रकाशनका लागि समेत पहल गर्नुपर्ने र यसका लागि चाँडै नै गठन गरिने भनिएको इन्द्र महर्जन प्रतिष्ठानले काम गर्नुपर्ने बताउनु भयो ।
शनिवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा संस्थान, देवीनाच (दीप्याखं) संरक्षण तथा प्रवद्र्धन समिति र ज्यापु संस्कृतिका धरोहर गुरु इन्द्र महर्जन स्मृति ग्रन्थ प्रकाशन समूहको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा यस्तो धारणा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु बागमती प्रदेशका सदस्य एवम् कामपाका पूर्वउपप्रमुख मा. हरिप्रभा खड्गी श्रेष्ठ, बागमती प्रदेश सदस्य मा. शैलेन्द्र बज्राचार्य, पूर्वमन्त्री जीवनराम श्रेष्ठ, कामपाका पूर्वमेयर विद्यासुन्दर शाक्य, प्रा.डा. त्रिरत्न मानन्धरले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।
यसैगरी पूर्वउपप्रमुख एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले गुरु इन्द्र महर्जनको छत्रछायाँमा देवीनाच संचालन भइरहेको र राजनीतिले पनि त्यस्तै सबैको छहारी हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै बागमती प्रदेश सभासदस्य मा. शैलेन्द्र बज्राचार्यले दिवंगत इन्द्र महर्जनको पदचिन्ह अंगालेर अगाडि बढ्नु पर्ने बताउनु हुँदै उहाँको आत्माको चीर शान्तिको कामना गर्नुभयो ।
यस्तै पूर्वमन्त्री जीवनराम श्रेष्ठले गुरु इन्द्र महर्जनले देवीनाचको संरक्षणका लागि खेल्नु भूमिका सराहनीय रहेको बताउनु भयो ।
यस्तै पूर्वमेयर विद्यासुन्दर शाक्यले इन्द्र महर्जन एक रोल मोडल रहेको बताउनु भयो । उहाँकै अगुवाइमा जग्गा नभएको ठाउँमा जग्गा किनेर भवन निर्माणका लागि अनुदान दिने कार्य सुरु भएको र सोही पदचिन्हमा विभिन्न संघसंस्थाका भवनहरु निर्माणको क्रममा रहेको बताउनु भयो । सो कार्यक्रममा श्रव्यदृश्यबाट पनि गुरु इन्द्र महर्जनको परिचय प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा र वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले पुस्तकको समीक्षा गर्नुभएको थियो । पुस्तकवार्तामा प्रा.डा. चन्द्रमान बज्राचार्य, प्रा.डा. चु्न्दा बज्राचार्य, उपप्रा. डा. रविनदास श्रेष्ठ, सामाजिक उद्यमी अनिल चित्रकार, नेपाल सम्पदा संघका अध्यक्ष प्रकाश दर्नाल, ज्यापु महागुथि नेपाःका अध्यक्ष लोककवि राजभाइ जकःमि, नेपाल लोकबाजा संग्रहालयका सल्लाहकार पदम श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमकाे पूर्ण भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।

20230812_085902
previous arrow
next arrow

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध