एक सयभन्दा बढी पुरातात्त्विक सामग्री रहेको इतुंबाहाः म्युजियमको उद्घाटन

एक सयभन्दा बढी पुरातात्त्विक सामग्रीहरू संग्रहित रहेकाे इतुंबहाः म्युजियमको उद्घाटन शनिवार एक कार्यक्रमका बीच गरिएको छ ।
काठमाडौं क्षेत्र नं. ८ का प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य र काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सो म्यूजियमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रदेश सांसद बज्राचार्यले आफू पनि बौद्ध धर्म मान्ने कूलमा जन्म लिएको र बौद्ध धर्मले मानिसहरुलाई शान्ति र सद्मार्गमा लाग्न प्रेरित गर्ने भएका कारण यसको प्रवद्र्धन गर्नु आवश्यक भएको बताउनु भयो । उहाँले बुद्ध धर्म धर्म भन्दा पनि शिक्षा भएकोमा जोड दिनुहुँदै यो नेपालको मौलिक शिक्षा भएको पनि बताउनु भयो ।
उहाँले बौद्ध समाजमा सङ्ग्रहालय विज्ञान पहिलेदेखि नै रहेको बताउनुहुँदै हामीले अहिले यसलाई आधुनिकिकरण गरेर लानुपर्ने बताउनु भयो ।
उहाँले सङ्ग्रहालयलाई पनि शिक्षाकै रुपमा प्रवद्र्धन गर्नुपर्ने बताउनुहुँदै इतुंबाहाः म्युजियमले अन्य विहारलाई पनि प्रेरणा दिने बताउनु भयो ।
यसैगरी पूर्वमेयर शाक्यले इतुंबाहाः सांस्कृतिक महत्वले पूर्ण काठमाडौंका परम्परागत विहार रहेको बताउनु हुँदै यहाँ बौद्ध धर्मसँग जोडिएका पुरातात्त्विक सामग्रीहरुको संग्रहालय निर्माणले भावी पुस्ताले बौद्ध धर्मसँग सम्बन्धित ज्ञान हासिल गर्न सहयोग पुर्‍याउने विचार व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा नै इतुंबाहाः संग्रहालय निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएता पनि प्राविधिक कारणले सो बजेट निकासा हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।


काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंबाहाः अर्थात् “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार” ऐतिहासिक विशेषता भएको प्रसिद्ध एवं पुरातात्विक महत्व बोकेको प्रमुख महाविहार हो । इतुंबहाललाई कान्तिपुरका विहारमध्येको सबैभन्दा ठूलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुंबहाः आफैमा सिंगो सङग्रहालय हो । मूर्तअमूर्त सम्पदाले पनि केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुने गर्दछ ।
श्री भाष्करदेव संंस्कारित केशचन्द्रवृmत पारावत् महाविहारले इतुंबाहाःको ऐतिहासिक परम्परालाई कायम राख्न सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा यस इतुंबाहाः म्युजियम तयार भएको छ । करीब दुई वर्षदेखिको अथक प्रयासपछि इतुम्बाहाः म्युजियमको उद्घाटन गरिएको अध्यक्ष प्रज्ञारत्न शाक्यले बताउनु भएको छ ।
उहाँले यो नेपालको पहिलो विहार संग्रहालय भएको पनि दावी गर्नुभएको छ ।
इतुंबाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले इतुंबाहाः समाजसँग सहकार्य गरेको छ । यसैगरी, इतुंबाहा समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको आयोजकले जनाएको छ ।
विहारका अध्यक्ष शाक्यले सन् १९९९ मा इतुम्बहाको आँगन घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको पुगेको बताउनुहुँदै सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपिएको बताउनु भयो ।
उहाँले सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम यस प्राचीन महत्व बोकेको सामाग्री विद्याधरको इतिहासबारे अवगत भएको र त्यसपछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गरेर विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्काएको बताउनु भयो ।


म्युजिमको स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र उहाँका विद्यार्थीसम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
इतुंबाहाः म्युजियममा अहिले तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ । विनष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामाग्री संग्रह गरी सकेसम्म पहिलेकै अवस्थमा ल्याएर अभिलेखीकरण गरिएको छ । यसै क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामाग्री पहिचान भए पनि हाललाई करीब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेका छौँ । दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामाग्रीको पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षण बारे जानकारी गराउने उद्देश्य यस सङ्ग्रहालयको रहेको छ । यसैगरी, इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको छ ।


(तस्वीरहरू ः नातिकाजी महर्जन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध