नेपालभाषाको चार वटा गीत सार्वजनिक

नेपालभाषाको क्षेत्रमा लामो समयदेखि कविता लेखनमा सक्रिय नातिकाजी महर्जनको चार वटा नेपालभाषाका गीतहरु शनिवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
जुगल डंगोलको संगीत र राजेन्द्र डंगोलको स्वर रहेको गीती संग्रहको हास्यसम्राट मदनकृष्ण श्रेष्ठले भिनाइल बोर्ड खोलेर सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले आजको समयमा गीतमा रचना र संगीत मात्र भरेर नपुग्ने त्यसको म्यूजिक भिडियो समेत निर्माण गर्नुपर्ने भएका कारण एउटा राम्रो गीत बन्नको लागि धेरै मानिसको मेहनत पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रमका अतिथि ज्यापु महागुथि नेपाःका अध्यक्ष एवम् लोककवि राजभाइ जकःमिले विमोचित गीत तथा म्यूजिक भिडियोको प्रसंशा गर्नुहुँदै गीत संगीतको जन्म रचनाबाट हुने भए पनि यसलाई जनमानसमा पु¥याउनका लागि संगीतकार र गायकको अहम् भूमिका हुने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएका वाद्यसम्राट न्हुछेबहादुर डंगोलले कार्यक्रममा विमोचित गीतसंगीतको प्रसंसा गर्नुहुँदै गीतकार नातिकाजी महर्जनको पहिलो गीत आफूले संगीतवद्ध गरेर थँबहीको नासःद्यःकहाँ प्रस्तुत गर्न पाएको प्रसंग कोट्याउनु भयो । उहाँले विमोचित गीत तथा म्यूजिक भिडियोको प्रसंशा गर्दै म्यूजिक भिडियोका निर्देशक नृत्यांगना रोहिया महर्जन पद्मकन्या क्याम्पसमा आफ्नो विद्यार्थी रहेको र त्यतिबेलै परीक्षाका क्रममा उनमा स्टारको छवि देखिएको प्रतिभावान कलाकार भएको बताउनु भयो ।
उहाँले संगीतकार जुगल डंगोलको पनि प्रसंशा गर्दै नेपालभाषा र नेपाली भाषाका शब्दलाई जीवन्त पार्ने संगीत राख्न निपूण व्यक्तित्व भएको बताउनु भयो ।
सार्वजनिक गरिएको ‘ह्याउँसिन्हः’ गीती संग्रहमा ‘चकना ए चकना’, ‘म्हुतुसी लिप्स्टिक बुलाः’ , ‘बांला आपालं तिनातःगु’ मा जुगल डंगोलको संगीत तथा संगीत संयोजन छ भने ‘अय्लाः छ धात्थें’मा गायक डंगोलको संगीत र शिव शाहीको संगीत संयोजन रहेको छ । ‘म्हुतुसी लिप्स्टिक बुलाः’मा गायिका निशा देसारले गायक डंगाेललाइ साथ दिएकी छिन्।
कार्यक्रममा ‘चकना ए चकना’ गीतको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । सो म्यूजिक भिडियोमा हालै मात्र मिस स्टार युनिभर्सकी विजेता सृष्टी महर्जन, डिन्कर महर्जन र गायक डंगोलको अभिनय रहेको छ । गीतमा नेपाः डान्स एकेडेमीका कलाकारहरुको नृत्य रहेको छ । म्यूजिक भिडियोमा छायांकन गायक डंगोलको रहेको छ भने उहाँलाई अजय महर्जनले सहयोग गरेका छन् । म्यूजिक भिडियोमा इन्द्र महर्जनको सम्पादन र गीता श्रेष्ठ (महर्जन)को श्रृंगार रहेको छ ।
सोही कार्यक्रममा बहुप्रतिभाशाली गायक राजेन्द्र डंगोलको रचनाहरुको संग्रह ‘झुमिं यंगु समाज’ पनि सार्वजनिक गरिएको थियो ।


राजनीतिक विश्लेषक प्रा.डा. पंचनारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा गीतकार महर्जनले स्वागत गर्नुभएको थियो । कार्यक्रम संचालन सुरजवीर बज्राचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध