नेवाः संगीत साधकमा समर्पित पुरस्कार

नेपालभाषा सांगीतिक क्षेत्रमा नेवाः साधना संगीत सिरपाः नामक नयाँ पुरस्कारको घोषणा गरिएको छ । अहिले यस पुरस्कारका लागि प्रतियोगितामा सहभागी हुन चाहनेहरुको नाम दर्ताको कार्य भइरहेको छ । यसै पुरस्कारको सेरोफेरोमा रहेर मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले आयोजक नेवाः साधना कला केन्द्रका सुरेन्द्र श्रेष्ठ ‘बागमती भाइ’सँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ – सं. ।
नेवाः साधना संगीत सिरपाः कार्यक्रम कस्तो हो ?
नेवाः साधना संगीत सिरपाः कार्यक्रम नेवाः संगीत साधनामा लागेका संगीतकर्मीहरुलाई समेटेर संरक्षण र संवद्र्धन गर्ने कार्यक्रम हो । यो कार्यक्रम नेपालभाषाको विकास र प्रवद्र्धनको लागि हामीले संचालन गर्न लागेको हो ।
नेपालभाषा संगीत क्षेत्रमा नेवाः स्टार अवार्ड, पेजथ्री पिपल्स च्वाइस अवार्ड पहिला थियो अहिलेको यो नयाँ अवाडको आवश्यकता किन भयो ?
हो, विभिन्न अवार्ड पहिला नै थियो । तर यसमा नेवाः संगीत जगतमा चाहिने आवश्यक रुपमा प्रतिनिधित्व नभएको विचार गरि यस नेवाः साधना अवार्डको घोषणा भएको हो । अर्को भोटिङ्ग गरि हुने अवार्ड कार्यक्रमहरुमा पनि एकै जनाले धेरैलाई भोट गराउने र पैसा खर्च गरी भोटिङ गर्न नसक्नेहरुले यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउन नसक्ने विचार गरि हामीले यो कदम उठाएका हौं । संगीत जगतमा सहि ढंगलाई अगाडि बढाउनका लागि पनि यो कार्यक्रम गर्न लागेका हौं ।
संगीत क्षेत्रलाई मात्र समेटेर अवार्ड कार्यक्रम आयोजना गर्ने घोषणा गर्नुभएको छ । आजभोलि गीत सुन्ने भन्दा पनि हेर्ने प्रचलन बढेको छ । म्यूजिक भिडियोलाई चाहिँ किन यसमा सहभागी गराउनु भएन ?
हामीले अहिलेका लागि संगीत क्षेत्रलाई मात्रै समेट्ने विचार गरेका छौं । एउटा राम्रो गीत नभईकन अन्य बाटो खुल्दैन । म्यूजिक भिडियो तथा संगीतका अन्य पक्षमा हामीले पछि कदम चाल्दै जानेछौं । सबै कुरा एकैपटक गर्दा सही मूल्यांकन हुनका लागि कठिन हुन्छ कि भन्ने हामीलाई महसूस भएको छ । यसैले हामीले पहिलो चरणमा सांगीतिक पक्षलाई मात्र समेट्ने प्रयास गरेका हौं ।
यो अवार्ड कार्यक्रमले नेपालभाषा सांगीतिक जगतलाई कसरी टेवा दिने ठान्नु भएको छ ?
नेपालभाषा संगीत जगतमा अगाडि बढीरहेकाहरुलाई एउटै मञ्चमा भेला गर्ने र यसले राम्रा संगीतकर्मीहरुलाई टेवा पु¥याउने हाम्रो उद्देश्य हो । साधकहरुलाई साधनाको साथै सहयोग पनि आवश्यक पर्दछ, जुन यस अवार्डले उपलब्ध गराउनेछ भन्ने हामीले महसूस गरेका छौं ।
यो अवार्डमा सहभागी हुनका लागि एउटा गीत वा एक जना संगीतकर्मीले के गर्नुपर्दछ ?
यस अवार्डमा सहभागीता जनाउनका लागि एक संगीतकर्मीले आफ्नो गीतको अडियो वा भिडियो रेकर्ड गरेर दुई हजार रुपैयाँ सहभागीता शुल्क बुझाई सहभागिता जनाउन सक्नेछ । म्यूजिक भिडियो सहभागी गराए पनि त्यसको सांगीतिक पक्षमा मात्र परीक्षण गरी अवार्ड वितरण गरिनेछ ।
अवार्डको नाममा ट्रफी मात्र हुनेछ कि प्रोत्साहनका रुपमा नगद पुरस्कार पनि रहनेछ ?
ट्रफिका साथै नगद पुरस्कार पनि हुनेछ । तर नगद पुरस्कार कति रकमको हुनेछ भन्ने कुरा पछि मात्रै घोषणा गर्ने योजना रहेको छ ।
अवार्ड वितरण हुने मूख्य आधार के हो ?
अवार्ड वितरणको प्रमुख आधार भनेको निर्णायक मण्डलको निर्णय नैहुनेछ । निर्णायक मण्डलको निर्णयलाई नै आयोजक समितिले सहर्ष स्वीकार गर्नेछ ।
कुनै पनि कर्यक्रम सफल बनाउनका निमित्त आर्थिक पक्षले पनि त्यतिकै महत्वपूर्ण भूमिका खेलीरहेको हुन्छ । यस कार्यक्रमको आर्थिक पक्षको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
हो, कुनै पनि कार्यक्रमको निमित्त आर्थिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । हामीले सहभागी हुने प्रतियोगीहरुबाट सहभागिता बापत उठाउने दुई हजार रुपैयाँ, कार्यक्रम हुने समयमा टिकटको विक्रीबाट प्राप्त हुन रकमका साथै कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि स्पोन्सर खोज्ने प्रयास भइरहेको छ ।
अवार्ड वितरण समूहमा को को हुनुहुन्छ ? उहाँहरुको भूमिका के कस्तो छ ?
अवार्डको आयोजना त यो नेवाः साधना कला केन्द्रकै आयोजनामा हुनेछ । हामीले निर्णायक मण्डलमा रहनुहुने निर्णायकहरुको नामावली भने पछि मात्रै सार्वजनिक गर्नेछौं ।
संचार जगतको यस अवार्डमा कस्तो भूमिका रहनेछ ?
यो अवार्ड कार्यक्रम संचालनका निमित्त सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने छ । यस कार्यक्रमलाई सकेसम्म धेरै जनमानसमा पु¥याउने र उहाँहरुलाई सहभागी गराउने र धेरै सहभागी भएमा मात्र यो कार्यक्रम सफल हुने भएको कारणले यस कार्यको जिम्मेवारी साँच्चै भन्ने हो भने तपाईंहरु जस्तै संचारकर्मीहरुकै काँधमा रहेको छ ।

नेवाः संगीत साधना पुरस्कारकाे जानकारी दिन अायाेजित पत्रकार सम्मेलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध