सिथि नखः, पानी दिवस र प्रकाश दाइ
नेवार समाजमा सिथि नखः परापूर्वकालदेखि चल्दै आएको एक चाड हो । जेष्ठ शुक्ल षष्ठी तिथिका दिन मनाइने यो पर्व विशेष गरेर सरसफाई र पानीसँग सम्बन्धित रहेको पाइन्छ । जेठको महिना काठमाडौं उपत्यकामा कम मात्र वर्षा हुने गर्दछ । तर यसपछि आउने असार महिना भने वर्षा हुने महिनाको रुपमा रहेको पाइन्छ ।
उपत्यकामा मनाइने हरेक चाडपर्व प्रकृतिसँग गाँसिएको पाइन्छ । सुख्खा मौसम हुने भएका कारण यतिबेला इनार, कुवा जस्ता पानीको श्रोतहरुमा पानीको स्तर निक्कै कम हुने गर्दछ । यसैले यतिबेला इनार, कुवा जस्ता पानीको श्रोतको सरसफाई गर्न सजिलो हुने गर्दछ । यसैकुरालाई ध्यानमा राखेर सिथि नखःको दिन पारेर उपत्यकामा इनार, कुवा, ढुंगेधारा जस्ता पानीको श्रोतको सरसफाई तथा पूजा गर्ने परम्परा रहेको छ ।
यो परम्परा नेवारहरुका बीचमा मात्र सीमित थियो । नेवारहरु आफू आफू भेला भएर इनार, कुवा, ढुंगेधारामा जम्मा भएर त्यसको सरसफाईमा जुट्दथे । यसपछि इनारको पूजा गरेर वः (मासबाट बनाइने विशेष परिकार) खाने गर्दथे । नेवारहरुको हरेक चाडसँग कुनै न कुनै खाद्यवस्तु जोडिएको पाइन्छ । तर यस लेखमा खाद्यवस्तुको भन्दा पनि सिथिनखःसँग जोडिएको पानीको बारेमा केही चर्चा गर्ने जमर्को गरिएको छ । पानीको श्रोतका लागि अत्यन्त महत्त्वपूर्ण इनार, कुवा, पोखरी लगायतको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि पनि प्रकाश पार्छ । सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्यकारी हुने दूरगामी संस्कार रहेको पाइन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि ४ दिनसम्म त्यहाँको पानी प्रयोग गर्नु हुन्न भन्ने जनविश्वास रहेको पाइन्छ । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह कायम राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन दिनका लागि पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि उपत्यकावासीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको तथ्य पनि जायज छ ।
सिथि नखःका दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवाः खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।
यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौँको जैसीदेवलमा शिव–पार्वतीका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइने चलन छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।
कुमारलाई गंगाजीको पुत्रका रुपमा लिइन्छ । यसैले कुमारको पूजा पनि अप्रत्यक्षरुपमा पानीसँग जोडिएको पाइन्छ । साथै कुमार रहने स्थानलाई नेवारहरुले ‘पिखालखु’ भन्ने गरेको पाइन्छ । यस शब्दको विश्लेषण गर्दा पि भनेको बाहिरी खा भनेको घर ल भनेको पानी र खु भने खोला भन्ने बुझिन्छ । यसर्थ पिखालखु पूजा गर्नुको मूल उद्देश्य भनेको घरभित्र आउने हरेक शुद्ध भएर आओस् भन्ने चाहना हो ।

सिथि नखःलाई अहिले सरसफाई दिवसका रुपमा प्रचार गरिएको पाइन्छ । तर यसलाई पानी दिवसको नाम दिइनु पर्छ भन्ने धारणा जल संरक्षणका अभियानकर्ता स्व. प्रकाश अमात्यले व्यक्त गर्नुभएको पाइन्छ । उहाँले आफ्नो एक लेखमा लेख्नुभएको छ, ‘लोपोन्मुख प्राचीन संस्कृति र प्रविधिलाई आजको परिवेशअनुसार सिथि नखःको दिन पानीको उपयोग व्यवस्थित गर्न, यसको मुुहानलाई सफा गर्न, पानी सदुपयोग र सरसफाइ दिवसको रूपमा मनाउने र यसको प्रचारप्रसार गर्ने अभियान समयसापेक्ष छ । मानिसलाई परम्परागत पानी सम्पदा र पानीको मुहान सफा गर्नुपर्छ भन्ने चेतना जगाउन सकियो भने अहिले भइरहेको प्राकृतिक पानीको आपूर्तिमा अनेक स्रोतको उचित प्रयोग गर्न र उपत्यकामा विद्यमान पानीको समस्या पनि समाधान गर्न सकिन्छ । यसको लागि सबैभन्दा ठूलो पाइला भनेको पानीको मुहानको सरसफाइ विषयमा जनतालाई जागृत गराउनु हो । यसलाई दिवसको रूपमा मनाउने, प्रचारप्रसार गरेर नेपालीको मौलिक चाड सिथि नखःलाई स्थायित्व दिन सके पानीको समस्याबाट अवश्य पनि मुक्ति पाउन सकिन्छ ।’
प्रकाश अमात्य सहरी जीवनमा देखिएको पानीका अभावपूर्तिका लागि विभिन्न रुपमा क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो । २०७९ असोज १ गतेका दिन उहाँले यो भौतिक संसार त्याग्नु भयो तर उहाँले देख्नुभएको सपना नितान्त उहाँको मात्र थिएन । काठमाडौंबासीको सपना थियो । पानीको संरक्षणका लागि उहाँ गुथि जस्ता संस्थामा संलग्न भएर आकाशेपानी संकलन, पानीको निर्मलीकरण, शौचालयको आधुनिकीकरणले उहाँ परिचितहरुका माझ सँधै जीवित रहनु हुनेछ । उहाँको योगदानलाई समाज र राष्ट्रले कतिको बुझेको छ त्यो सम्बन्धित निकायले मूल्यांकन गर्ने र उहाँको योगदानलाई स्थायित्व दिन तयार गर्ने नीति तथा कार्यक्रमले तय गर्नेछ । तर उहाँको योगदानलाई कम ठान्नु पक्कै पनि गलत नै हुनेछ । पानी संरक्षणका लागि उहाँले थाल्नुभएको अभियानकै कारण उहाँ हामीमाझ आज पनि जीवित हुनुहुन्छ । हरेक सिथि नखःले प्रकाश अमात्यको सम्झना गराइ रहनेछ ।
पानीको महत्व जीवनमा रहे जसरी नै सिथि नखःको पनि यसमा विशेष महत्व छ । पानीको साथै वातावरणीय सरसफाईलाई ध्यानमा दिएर मनाइने सिथि नखःलाई व्यापकता दिने कार्यमा स्व. प्रकाश अमात्यको योगदान पनि उत्तिकै सराहनीय छ । उहाँले आधुनिक ‘कुमार’ बनेर उपत्यकाका सुकेका पोखरी, इनार, ढुंगेधाराहरुको पुनर्जीवनका लागि खेल्नु भएको भूमिकाको सबैले सदैव स्मरण गर्नु आवश्यक छ ।








