शान्ति गोरेटो अब मोटर गुड्ने सडक ः स्थानीय खुशी
काठमाडौं महानगरपालिका वडा नं. ७ मा रहेको शान्ति गोरेटो विस्तार भएर मोटर गुड्ने बाटो बनेको छ ।
महानगरको पहलमा बाटो फराकिलो पारिएपछि स्थानीयहरुले महानगरप्रति आभार प्रकट गरेका छन् ।
सो गोरेटो पानी पर्दा हिलोमाटो हुने र घाम लाग्दा धुलाम्य हुने गरेको थियो । यसबाट आवतजावतमा स्थानीयले सास्ती पाएका थिए । सो गोरेटोमा ढलको समेत व्यवस्था नभएको र चालु आर्थिक बर्षमा महानगरको केन्द्रीय बजेटबाट सडकमा ढलान गर्ने र ढुंगा छाप्ने योजना अन्तर्गत २८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको महानगरले जनाएको छ ।
बाटो चौडा पार्नका लागि कतै अतिक्रमण हटाइएको र कतै स्थानीयसँग समन्वय गरेर ४ देखि ५ मिटरसम्मको बनाइएको पनि महानगरले जनाएको छ ।
५६ लाख ५४ हजार ८८० रुपैयाँ को सम्झौता रहेको यस योजनामा उपभोक्ताको ५ प्रतिशत योगदान छ ।
२०७९ फागुन १४ गते कार्यादेश दिइएको योजना सम्पन्न गर्न यही वैशाख ३० गतेसम्मको अवधि निर्धारण गरिएकोमा निर्धारित समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि प्रदेश सभा सदस्य श्रीराम लामिछाने र वडाध्यक्ष विमलकुमार होडाले संयुक्त रुपमा आइतबार सडक सञ्चालन शुभारम्भ गर्नुभयो ।
त्यस क्रममा प्रदेश सभा सदस्य लामिछानेले स्थानीय सरकारका काममा प्रदेश सभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राख्नुभयो ।
यो सडक नागरिकको करबाट बनाइएको हो । सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग पनि हो । यसलाई दुरुपयोग हुनबाट बचाउनुपर्छ । वडाध्यक्ष होडाले भन्नुभयो, ‘वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ । यस्तै वडाका दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन गर्ने तयारीमा छौँ ।’
यस ठाउँमा आउँदो ४० बर्षसम्म ढलको समस्या हुँदैन । स्थानीय अरुण बस्नेतले, सडक निर्माण भएकोमा खुशी मान्दै व्यापार व्यवसायलाई असर नहुने गरी सडकमा पार्किङ् निषेध गर्नुपर्ने बताउनुभयो । अर्का महेश्वर शर्माले, छतबाट सडकमा खस्ने पानीले ढलानको आयु घटाउने भएकोले, छतको पानी सडकमा नखस्ने गरी प्रबन्ध मिलाउनु पर्ने अवको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
सडक सञ्चालन थालिएसँगै सडकसँग जोडिएका व्यापारीलाई गुट्खा, परागजस्ता धूम्रपानजन्य सामग्री नबेच्न, आफ्नो क्षेत्रको सडक आफैँ सफा गर्न, सडकमा जथाभावी फोहोर नफाल्न, व्यापार गरिने सटरमा फोहोर बर्गीकरण गर्ने भाँडो राख्न, मनपरि पार्किङ्ग नगर्न अनुरोध गरिएको थियो ।








