नेपालले ओमानलाई ८४ रनले हरायाे
एसीसी प्रिमियर कप क्रिकेटको त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको दोस्रो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको छ ।
जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाउनुभयो ।
यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो ।
उहाँले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गर्नुभएको हो । यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो ।
खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोड्नुभएको हो । यस्तै करण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एक दिवसीय इतिहासकै उच्च योगफल पनि हो ।
दुई ओपनर कुशल भुर्तेल र आशिष शेख शुन्य रनमा पेभिलियन फर्केको नेपालका लागि कुशल मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेल्नुभएको थियो । उहाँले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाउनुभएको छ । उहाँको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।
उहाँ समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैठौँ खेलाडी हुनुहुन्छ । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हान्नुभएको थियो ।
यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । सन्दीप लामिछाने आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट हुनुभयो ।
बलिङमा ओमानका आयन खानले दुई विकेट, विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिनुभयो । समूह ‘ए’ मा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल हो ।
एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।
यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।
शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ ।








