नेवाः देय् दबूको भवन निर्माणका लागि जग्गा किन्न सहयोग अपिल

नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको घर निर्माण गर्न चःमति जग्गा किन्ने भएको छ । ने.सं ११४२ मा धरानमा सम्पन्न सातौं महाधिवेशन पछि बसेको केन्द्रीय समितिको बैठकबाट अध्यक्षको संयोजकत्वमा भवन निर्माण समिति गठन भएको थियो । भवन निर्माणका लागि चःमति जग्गा एकीकरण आयोजनाले दबूलाई ४ आना जग्गा जम्मा १ करोड ७६ लाख ५४ हजार एक सय आठ रुपैयाँमा दिन कबुल गरेकोमा दबूले आफूसँग भएको जम्मा १८,०००,००÷— रकम बैनाको रुपमा दिइसकेको र बाँकि रकम यही चैत्र महिनाभित्र बुझाउनु पर्ने भएका कारण नपुग रकमको लागि सहयोग गर्न आजको पत्रकार सम्मेलनमा अनुरोध गरिएको छ ।
सोहि सम्मेलनमा बोल्दै अध्यक्ष पवित्र बज्राचार्यले नेवाः देय् दबूको कार्यालय भवन नेवाः छेँ निर्माणको लागि आवश्यक कार्यनीति अपनाउन र आर्थिक व्यवस्थापन गर्न अत्यन्तै आवश्यक रहेको जानकारी दिनुभएको हो ।


सोहि सम्मेलनमा नेवाः छेँको निर्माण नक्सा पनि प्रमुख अतिथि डा. महेश मान श्रेष्ठ र डा. पुष्पराज राजकर्णिकारले अनावरण गर्नु भएको थियो । यस नेवाः छेँ निर्माण पश्चात संस्थाको कार्यालय भवनको रुपमा मात्र नभई भाषा, संस्कृति साहित्य लिपि आदि विषयमा पनि अध्ययन अनुसन्धान गर्न साथै संस्कृतिको जगेर्ना गर्न तालिम संचालनार्थ पनि यो भवन संचालन गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले सो भवनमा नेवाः देय् दबूको मात्र नभई नेवार सम्बद्ध नेवाः मिसा दबू, नेवाः ल्याय्म्ह दबूको समेत कार्यालय रहने र नेवाः पत्रकार राष्ट्रिय दबू, हलिं नेवाः दबू नेपाः च्याप्टरको कार्यालयका लागि पनि स्थान उपलब्ध गराउन सक्ने बताउनु भएको छ ।
नेवाः देय् छेँमा पार्किङ्गको समस्याको बारेमा सोधिएको प्रश्नमा कम जग्गा भएका कारण छुट्टै कम्पाउण्ड बनाएर पार्किङ गर्न नसकिने तर अगाडिको बाटो फराकिलो भएका कारण एक लेनमा पार्किङ गरेमा समस्या नपर्ने महानगरकै सुझाव रहेको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा २५ हजारसम्म सहयोग गर्नेको नाम भवन निर्माणको स्मारिकामा प्रकाशित गर्ने, २५ हजार भन्दा बढी आर्थिक सहयोग गर्नेलाई वार्षिक कार्यक्रममा ताम्रपत्रसहित सम्मान गर्ने, एक लाखभन्दा बढी सहयोग गर्नेको नाम भवनको शिलापत्रमा उल्लेख गर्ने तथा दबूको ट्रष्टीका रुपमा रहने तथा १० लाख भन्दा बढी सहयोग गर्नेको तस्वीर दबूको नेवाः छेँको बैठक कक्षमा राखिने जानकारी पनि गराउनु भएको थियो ।
दबूका सचिव एवम् भवन निर्माण समितिका सदस्य मचाराजा महर्जनले संचालन गर्नुभएको कार्यक्रममा समितिका पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध