पाँच महिनामा बढे १२ हजार ९९६ मतदाता
आउँदाे वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट हिजाे अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावली बमोजिम वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाता ८८ लाख ५२ हजार ४६ जना र पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ र अन्य एक सय ८५ गरी जम्मा एक कराेड ८०, लाख एक हजार ५६६ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगले जनाएकाे छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरूष ९१ लाख ४० हजा र ८०६ र अन्य १८५ गरी जम्मा एक कराेड ७९ लाख ८८ हजार ५७० जना रहेकाेमा हाल १२ हजार ९९६ मतदाता वृद्धि भएको आयोगले जनाएकाे छ ।
उक्त निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हार २१५, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ लाख ०५ हजार ०११ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४७० थप भइ १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा
२३७ थप भइ एक लाख पाँच हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १८५ घटी एक लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् ।
यसैगरी आयोगको निर्णयानुसार चैत १६ सम्म देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२
मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने छन् ।
उक्त क्षेत्रहरुमध्ये चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् भने बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ ।
आयोगको निर्णयअनुसार चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता (Pre-Enrollment) र बाहिरी जिल्ला दर्ता (ODR) स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य २०७९ माघ २ गतेदेखि यथावत जारी रहेको छ ।








