जनताकै सहभागितामा देवघरको पुनःनिर्माण : अध्यक्ष पंचरत्न डंगोल
काठमाडौं महानगरपालिकाको २७ वडास्थित लुचुभुलु् अजिमाको देवघर स्थानीय जनताको पहलकदमीबाट निर्माण सम्पन्न यही फागुन २० गते शनिवारका दिन विधिवत्रुपमा उद्घाटन गरिएको छ । यस भवन निर्माण र भवनका उपयोगिताका सम्बन्धमा मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले लुचुभुलु अजिमा द्यःछेँको उपभोक्ताको रुपमा रहेको महाबू त्वाः खलःका अध्यक्ष पञ्चरत्न डंगोलसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ – संं.
तपाईहरुले लुचुभुलु अजिमाको देवघर उद्घाटन गर्नु भएको छ यस देवताको बारेमा केहि जानकारी दिनुस न ?
लुचुभुल अजिमा नै वास्तवमा लुमदि अजिमा हो । भक्तलाई लुँचुं (सुन) वरदान लिनको लागि प्रकट भएको देवता भएर लुँचु (सुनको) अजिमा भनिन्छ ।
तपाईहरुले यस लुचुभुलु अजिमाको मन्दिर पूर्ण स्थापन गर्नु भएको छ । यसका के कस्ता काम भएका छन् ?
सवभन्दा पहिला गुठियारका अगाडि कुरा राखेँ । त्यसपछि काम अगाडि बढाउन विभिन्न पक्षसँग सहयोग माग्ने कुरा आयो । सवभन्दा पहिला हनुमानढोका दरवार क्षत्र निर्माण, काठ्माण्डौ महानगरपालिका अनि वडाबाट सहयोग मिलेको छ ।
यो मन्दिरको पूर्ण निर्माण २०७२ सालको भुकम्पले गर्दा गर्नुपरेको हो कि त्यो भन्दा पहिला नै ?
खासै भन्ने हो भने भुकम्पले चाहि होइन पहिला नै वनाउनुपर्ने भएको थियो । त्यतिखेर नै यो भवन बनाउनको लागि पहल थालिएको थियो । तर केही समय अलमल हुन पुग्यो । २०७२ सालमा भुकम्प आएपछि पहिले नै जीर्ण बनीसकेको भवनको निर्माणका लागि पुनः सवै गुथियारहरुसँग सरसल्लाह गर्ने कार्य भयो । र सबैले देवघरलाई राम्रो बनाउनु पर्छ भन्ने एकमत भएपछि हामीले यो घर पुनःनिर्माण कार्य अगाडि बढाएका हौं ।
यो बनाउन कहिले शुरु गर्नुभएको हो कति समय लाग्यो ?
हुनत हामीले २०७३ सालको असार महिनामा शुरु गरेको हो । त्यसमा पनि काठमा कलात्मक बुट्टा राखि बनाउने हाम्रो उद्देश्य रहेको र त्यसको लागि उपयुक्त काठले अभावले गर्दा केहि धेरै समय लियो । अर्को कोरोना महामारीका कारणले पनि केहि समय काम रोन्नु पर्ने अवस्था आयो । यसैले हामीले सोचे जस्तो चाँडै भवन निर्माणको कार्य पूरा गर्न सकेनौं । भवन निर्माणको पूर्ण गरेर अहिले २०७९ सालमा मात्र उद्घाटन गर्न सफल भएका छौं ।
तपाईंहरुले यस पूनःनिर्माणमा सरकारी निकायबाट के कस्तो सहयोग प्राप्त गर्नुभयो ? यसमा के कस्ता समस्या छन् वा छैनन् ?
हामीले पनि यो पुरानो मन्दिर भएकोले पुरातत्व विभागमा पर्छ कि भनि त्यहाँ गएर सम्पर्क गरेका थियौं । त्यहाँका मानिसहरु यहाँ आइ चेकजाँच गर्दा यो पुरातत्व विभाग अन्तर्गत पर्दैन भन्ने थाहा पायौं । तर पनि उहाँहरुले सहयोग गर्ने कुरा राख्नु भएको थियो । तर उहाँहरुको सहयोगमा काम गरेमा उहाँहरुले पुरानो भवनमा रहेका विविध सामग्रीहरुको अवस्था हेरेर अत्यावश्यक भए मात्र फेर्न दिने नभए पुरानै सामग्री राख्नु पर्ने बताए । तर यस मन्दिरको अवस्था प्राय सबै फेर्नु पर्ने अवस्थामा थियो र हामीले आफ्नै स्रोतबाट वनाउछौं भनेपछि उहाँहरु पछि हट्नु भयो ।
नगरपालिकाबाट के कस्ता सहयोग भयो ?
नगरपालिकामा दर्ता गर्ने काम अगाडि बढाइसकेपछि हामीले २०७३ सालमा हामीले नगरपालिकामा १ करोड २५ लाखको बजेट राखेको तर उहाँहरुले जम्मा ४९ लाख मात्र बजेट राख्यो । यो चाहिँ सम्भव नै भएन । हामीले तीनलाखको बजेटको गजुरको स्टिमेत गर्दा उहाँहरुले जम्मा २० हजारको मात्र मूल्यांकन गर्नुभयो जुन मूल्यमा गजूर बनाउन सम्भव नै थिएन । जसमा २५%को हिसावले हामीलाई रकम निष्कासन हुनेमा आखिरमा हाम्रो हातमा जम्मा साढे १७ हजार मात्र प¥यो । जनसभागिताको पैसा कटि गरेर हेर्दा जम्मा त्यति मात्र हाम्रो हात परेको थियो । काठमाडौं महानगरपालिकाले आफ्नै किसिमले विभिन्न निर्माण सामग्रीको मूल्य तोकेको छ, जुन वास्तविक बजार मूल्य भन्दा धेरै गुणा कम छ । यसले गर्दा उपभोक्ता मोडेलबाट सार्वजनिक महत्वका निर्माण गर्दा उपभोक्ताहरुबाट १०–१५ प्रतिशत जनसहभागिता लिने भनिएता पनि वास्तविक बजार मूल्य अनुरुप सहयोग प्राप्त नहुने भएपछि या त निर्माण अल पत्र हुने या उपभोक्ताको ८०–८५ प्रतिशत रकम राख्नुपर्ने अवस्थाको सृजना भइरहेको छ । यसलाई महानगरले पुनरविचार गरेर वास्तविक बजार मूल्य अनुरुप मूल्यांकन गर्नु आवश्यक छ ।
२०७४ सालको स्थानिय चुनाव पछि महानगरपालिकाले सम्पदाहरु वनाउने भनि अगाडि बढेको थियो । २०७४ सालपछि तपाईहरुले केहि सहयोग पाउनु भयो ?
हामीलाई नगरपालिकाबाट जुन नगद प्राप्त भयो त्यहिबाट काम चाहि शुरु भयो तर यसको लागि पछि महानरपावलकामा फेरी पहल भने गरेन ।
नगरपालिकाले दिएको रकम तपाईको मूल्याकन भन्दा कम अवस्थामा पनि तपाईको यो मन्दिर पुन निमाण भयो । यो कसरी गर्नुभयो ?
हाम्रै गुठियारहरुले राखे चन्दा संकलन पनि भयो करीव ३८ जति सहोगया प्राप्त भयो । हामीलाइ जिन्सिबाट पनि सहयोग भयो जसमा गजुर राखिदिने , सिंह राखिदिने देवताचाहि मैले नै वनाएर राखें, यसका अलावा पनि १५ जना जति जिन्सि सहयोगी आए । त्यसैगरी हामीले भोज खाने पैसा पनि समयवजि मात्रमा सिमित गरेर पैसा जोगाए साथै यहाँबाट आउने आम्दानीलाई पनि जोगाएर बाकि नपुग पैसा चाहि उदारमा पछि तिर्ने गरि यस मन्दिर निर्माण सम्पन्न गरे ।
तपाईहरुले १ करोड चानचुन खर्च निस्केको मन्दिर पुन निर्माण तयार हुँदा कति सम्म खर्च भयो ?
१ करोड ५७ लाख जम्माजम्मी खर्च भयो । खास गरी २०७३ सालको भाउ र अहिलेको भाउमा फरक भएका कारण केही बढी खर्च हुन पुगेको हो । टोलको यो मन्दिर कला क्षेत्रमा पर्ने भएकोले सकेसम्म कलात्मक रुपमा बनाएका छौ । जिन्सि सहयोग बाहेक नै यति लागतमा यो जिर्णोद्धार भएको हो । यो देवघर जिर्णोद्धारमा महानगरपालिकाबाट प्राप्त सहयोग बाहेक दाताहरुले स्वेच्छिक रुपमा प्रदान गर्नुभएको आर्थिक र जनश्रमदान नै महत्वपूर्ण रहेको छ । जनताकै अग्रसरतामा देशकै महत्वपूर्ण सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । यसका लागि सम्पूर्ण दाता तथा शुभेच्छुकहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
यो देवघरबाट के कस्ता कार्यहरु हुन्छ ?
हाम्रो महाबौद्ध टोल नेवार परम्परा अनुसार रहेका परम्परागत ३२ टोल मध्येमा एउटा पर्छ । मूल धिमे, धुन्या, दाफा आदि पनि यस टोलमा रहेको हुनाले यस देवघरबाट प्रशिक्षण गराउने हुन्छ । पाहाँचःर्हेमा खट जात्रा, दशैंमा पाया (खड्ग) जात्रा, स्वाछा जात्रा, बौ राख्ने आदि परम्परागत पर्वहरु यसै देवघरबाट संचालन हुँदै आएका छन् । यसका साथै नयाँ पुस्तालाई विविध सांस्कृतिक प्रशिक्षण पनि यहाँ संचालन गर्ने गर्दै आएका छौं ।
यस देवघर बाहेक लुचुभुलु मन्दिर पनि यहि महाबौद्ध टोलले व्यवस्ूथापन गर्ने गरिन्छ हो ?
मन्दिर नभइकन त देवताको घर हुने त कुरै छैन । यस देवताको मन्दिर केलटोलमा अवस्थित छ । यसको व्यवस्थापन पहिला देगु खलःले गर्दै आएको थियो । जसमा ८ जना खलक थिए । अहिले जम्मा ६ जना खलक मात्र बाँकि रहेको छ । म स्वयम् पनि देगु खलःकै मानिस हुँ । देगु खलःबाट मात्र देवताको नित्य पूजाआजा तथा मन्दिरको रेखदेख संचालन गरिरहँदा भविष्यमा समस्या उत्पन्न हुन सक्ने देखिएर महाबू त्वाः समिति गठन गरेर विविध कार्यहरु संचालन गर्ने निर्णय गरिएको थियो । जसमा म अहिले अध्यक्षको रुपमा कार्यरत छु । यस समितिले महाबू टोलको अन्य खलकहरुसँग मिलेर यहाँको सांस्कृतिक सम्पदाहरुको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
तपाई समितिको अध्यक्ष भएको नाताले अव यो टोललाई कसरी अगाडि बढाउने भन्ने सोच राख्नु भएको छ । अहिले के के योजना रहेको छ ?
हामी महाबू टोलका मूलबासीहरु यस टोलमा हाम्रा खलकहरु कोहि छैनन् । राणाशासनको समयमा वीर अस्पताल बनाउनका लागि यहाँको बस्ती हटाइएको थियो । जसको कारण हाम्रा दाजुभाइहरु विभिन्न ठाउँमा छरिएर रहन पुगेका छन् । यसैले यहाँको सांस्कृतिक संरक्षण गर्नु हाम्रो लागि चुनौतिपूर्ण कार्य बनेको छ । हामीले केही समय अगाडि मात्रै पनि दाफा बाजा सिकाउने प्रयास गरेका थियौं । त्यतिबेला सुरुमा ८ जनाले सिक्नका लागि अग्रसर भएका थिए । तर पछि गएर जम्मा ४ जनले मात्र प्रशिक्षण पूरा गरे । यसको मूल कारण भनेको हाम्रा दाजुभाइहरु टोलभन्दा टाढाटाढा बस्नु परेको नै हो ।
तपाईहरुको देवघरको सामुन्ने नै वीर अस्पतालको अक्सिजन प्लाट रहेको छ । जसको कारण तपाईको यो देवघर नै छेकिएको छ । यसको लागि केहि पहल गर्नुभएको छ ?
हामीले पहल गरेको हो । हाम्रो यस तोलका सवै सदस्यहरुका साथै ज्यापु महागुथिको पनि सहयोग लिइ पहल गरेका हौं । वीर अस्पतालको प्रशासनले हटाइदिने वचन पनि दिनु भएको थियो । तर उहाँहरुले सारी दिनु भएन । अक्सिजन प्लान्ट निर्माण गरिरहेको समयमा कोरोना महामारी फैलिरहेको र जनताको स्वास्थ्यसँग सम्बन्धित भएका कारणले हामीले जोड दिएर सोनिर्माणलाई रोक्न दवाव दिन सकेनौं । जसका कारण उहाँहरुले अक्सिजन प्लान्ट पहिले बनाउने भनेको ठाउँमा नै बनाएको छ ।
अहिले चाहि यो प्लान्ट हटाउनको लागि केहि सोच्नु भएको छ कि छैन ?
अहिले हामीले सल्लाह गरि महानगर पालिका र वडाको सक्रियतामा यो प्लान्ट हताउन कोशिस गर्ने छौं । अस्पताल प्रशासनसँग पनि यस विषयमा हामीले निरन्तर छलफल गरिरहेका छौं । उहाँहरु पनि अक्सिजन प्लान्टलाई केही पछाडी सार्ने कुरामा सकारात्मक हुनुहुन्छ । हेरौं देशकै सम्पदाको सौन्दरीकरणका लागि उहाँहरुबाट कस्तो योगदान प्राप्त हुनेछ ।
अहिले स्थानिय चुनाबबाट नयाँ स्थानीय सरकारको पहलमा काम भइरहदा यस टोललाई के कस्ता सहयोग भइरहेको छ ?
स्थानिय सरकार आइसकेपछि सहयोग गर्नुपर्ने हो केहि केहि रकम सहयोग गर्नु बाहेक अरु सहयोग हामीले प्राप्त गरेका छैनौं ।
अन्तमा तपाइलाई केहि भन्न बाँकी रहेको छ कि ?
हामी स्थानिय नेवाःहरुको पहिचान भनेको सम्पदा हो । यसलाई वचाउन तपाईले गर्नुभएको काम प्रशंसनिय छ । हाम्रो संस्कृति सम्पदा अरु सामु पुर्याउन सहयोग गर्नुभएको छ यसको लागि तपाईंको टीम र हामीलाई सहयोग गर्नुहुने सवैलाई धन्यवाद ।








