सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशा
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कपडा तथा सिलाई पेशा मर्यादित पेशा भएको र हामी सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशाको रुपमा लिनुपर्ने धारणा राख्नुभएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको सल्लाघारीमा सम्पन्न चौथो वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नु भएको हो । उहाँले यो पेशालाई अझ मर्यादित, समृद्धि र आर्थिक रुपमा विकास गर्नको लागि व्यवसायीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
संघका भक्तपुर शाखा अध्यक्ष सुवरत्न बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव दिपक बासुकलाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष रामशरण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरियो ।
शिक्षक एवं सञ्चारकर्मी सागर गुरागाईंले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैंया धौभडेल, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धर, घरेलु तथा साना उद्योग संघ भक्तपुर, खुद्रा तथा किराना व्यवसायी संघलगायतका अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।








