पत्रकार दबूको स्थापना दिवस
नेवाः पत्रकार राष्ट्रिय दबूले स्थापना दिवस सोमवार मनाएको छ । दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनलाई विशेष सम्मान गरिएको कार्यक्रममा मन्तव्य राख्नुहुँदै देशभर छरिएर रहेका नेवार पत्रकारहरुलाई एकतावद्ध गर्दै पत्रकारहरुको हक अधिकारको रक्षाका लागि ११ वर्ष अगाडि यो संस्थाको स्थापना गरिएको सम्झना गर्नुभयो ।
यसैगरी दबूका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रुपमा सत्यनारायण बहादुर श्रेष्ठलाई मान्यता दिनु पर्नेमा अर्कै व्यक्तिलाई संस्थापक भनिएकोमा आफ्नो कार्यकालमा नै कुरा उठाएको र विभिन्न चरणमा छलफल तथा अन्तक्र्रिया गरेको बताउनु भयो । उहाँले महासंघले पत्रकारिताको इतिहासलाई ओझेलमा पार्ने कार्य गर्न नहुने बताउँदै सत्यका लागि आफूहरु निरन्तर क्रियाशील रहने बताउनु भयो ।
कार्यक्रमका सभापति नृपेन्द्रलाल श्रेष्ठले प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता सुरु गरेको शतवार्षिकी पुग्न लागेकोले आगामी वर्षको बैशाख पूर्णिमादेखि एक वर्षसम्म विविध कार्यक्रमहरुको आयोजना गरेर मातृभाषा पत्रकारिता शतवार्षिकी मनाउने बताउनु भयो ।
सो कार्यक्रममा कार्यसमितिमा मनोनित सदस्य तथा सल्लाहकारहरुलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरिएको थियो ।
दबूको सल्लाहकारमा वरिष्ठ पत्रकारहरु सुरेश किरण मानन्धर, पुष्करभक्त माथेमा, विजयरत्न असंबरे, नरेशवीर शाक्य, मोहन दुवाल, राजु शाक्य, ईश्वर कुमार जोशी मनोनयन भएका छन् । यसैगरी दबूको कानुनी सल्लाहकारमा किरण शाक्य नियुक्त गरिएको छ ।
स्थापना दिवसकै अवसरमा दबूको कार्यसमितिलाई पनि पूर्णता दिइएको छ । समितिमा रिक्त रहेको ७ मनोनित सदस्यहरुलाई मनोनयन पत्र दिएर कार्यसमितिलाई पूर्णता दिइएको हो । मनोनित सदस्यहरुमा प्रेरणा शाक्य, भाइकाजी महर्जन, राजेश बज्राचार्य, विकास माली, रवि महर्जन र कविता श्रेष्ठ रहेका छन् ।
दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव सुनिता महर्जनले गर्नुभएको थियो भने दबूको आयोजनामा भएको मातृभाषा पत्रकारिता सम्बन्धी गोष्ठीका संयोजक तेजनारायण महर्जन र नारी दिवसको कार्यक्रमका संयोजक रचना श्रेष्ठलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।








