नेपालभाषा एकेडेमीमा कविता गोष्ठी
नेपालभाषा एकेडेमीको साहित्य उपसमितिको आयोजनामा ‘मुखू ब्यूंगु कविताया सवाः’ नामक कवयित्रीहरुको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपालभाषा एकेडेमीको सभाहल कीर्तिपुरमा भएको कार्यक्रममा भाषाविद्, समालोचक एवम् संयुक्त राष्ट्र संघ आइएलओको उच्च प्राविधिक पदमा रहेर विश्वका महिला सशक्तिकरणको काम गरीसक्नु भएकी डा. ज्योतिप्रभा तुलाधरको अवधारणा र संयोजनमा सो कार्यक्रम भएको हो ।
कार्यक्रम नेपालभाषा एकेडेमीको आयोजनामा तीन चरण मध्ये पहिलो चरणमा सृजनात्मक लेखन र कविता कार्यशाला सम्पन्न गरीसकेपछि दोश्रो सत्रमा ‘मुखू ब्यंगु कविताया सवाः’ संचालन गरेको छ ।
कविता क्षेत्रमा कलम चलाउँदै आएका लेखिकाहरुलाई कविता लेखाएर नेपालभाषाको काव्यक्षेत्रको विकासको उद्देश्यले यो कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउँदै लैजानका लागि यो कार्यक्रम आयोजना गरिएको सह संयोजक कवयित्री रजनी मिलाले बताउनु भयो ।
सृजनात्मक लेखन र कविता कार्यशाला गोष्ठीको दोश्रो चरणमा १६ कवयित्रीहरुको कविता १४ जनाले वाचन गरेर सुनाए ।
कार्यक्रममा रोनिका श्रेष्ठ, युक्ता बज्राचार्य, ज्ञानकेशरी श्रेष्ठ, दिलकुमारी महर्जन, सविना महर्जन, रुपा शाही, रहेना नकर्मी मानन्धर, मिनर्वा शर्मा राजोपाध्याय, बिनिता बज्राचार्य, मिमला शर्मा राजोपाध्याय, हिसिलिना शाक्य, शोभा महर्जन, कृता बज्राचार्य, विणा नेम्कुल, मन्दिरा श्रेष्ठ, मंजुसिंह श्रेष्ठले कविता वाचन गरेका थिए ।
वाचन गरिएका कविताहरुलाई लिएर वरिष्ठ साहित्यकार ध्रुब मधिकर्मी र नेपालभाषा केन्द्रिय विभागका प्रमुख सहप्राध्यापक रास जोशीले टिप्पणी गर्नुभयो । उहाँहरुले नवप्रतिभा र सिद्धहस्त लेखिकाहरुकोकविताको भाषा, साहित्य र सौन्दर्यताका सम्बन्धमा टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि कविका रुपमा सुरेश किरण, राजेन्द्र पुता, नवीन प्रकाश श्रेष्ठ, वसन्त नकःमि, राज अक्षोभ्य, कविन्द्रलाल प्रधान र राजेन्द्र महर्जनले पनि कविता बाचन गर्नुभएको थियो ।
नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा भएको कार्यक्रममा एकेडेमीका साहित्य समितिका संयोजक त्रिरत्न शाक्यले स्वागत गर्नुभएको थियो ।








