सही पत्रकारिताले चलचित्रलाई सघाउने राय सहित कार्यशाला सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौंमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा शुक्रबारदेखि प्रारम्भ भएको कार्यशालामा काठमाडौं तथा मोफसलका एक सय बढी पत्रकार सहभागी छन् भने समापन कार्यक्रममा कार्यशालामा सहभागि प्रशिक्षार्थी पत्रकारहरु लगाएत प्रशिक्षक पत्रकारहरुलाई प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष विशिष्ट अभिनेता भुवन के सि ले प्रमाण पत्र प्रदान गरे ।
दुई दिने सो कार्यशालामा पहिलो दिन शुक्रबार प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालद्वारा पत्रकार आचारसंहिताको विषयमा प्रशिक्षण दिए भने कार्यशालामा पत्रकार कृष्ण भट्टराईले ‘पत्रकारिताः हिजो र आज’ विषयमा प्रशिक्षणसहितको अनुभव साटासाट गरेका थिए ।
शुक्रवार नै फोटो पत्रकार विकास रौनियारले फिल्म फोटो पत्रकारिता तथा निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षाबारे प्रशिक्षण दिए ।
‘अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्’, प्रेस काउन्सिलका मुख्य अधिकृत भुसाल भने – ‘यस्ता कार्यशालाले स्वनियमन गर्न मद्दत गर्छ ।’
निर्देशक सायमीले फिल्मको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न फिल्म बुझ्नु आवश्यक रहेको बताए ।
‘कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सले झैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ’, निर्देशक सायमीले भने ।
पत्रकार कृष्ण भट्टराईले चलचित्रलाई बिट बनाएर काम गरिरहेका पत्रकारहरुले यो क्षेत्रमा देखिएका समस्या, विकृतीदेखि सफलताका विषयहरुमा गहन रिर्पोटिङको आवश्यकता औंल्याउँदै मनोरञ्जन पत्रकारितालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।
कार्यशालामा शनिवार सन्चारकर्मि के पि ढुंगानाले पत्रकारितामा लेखन शैलीको महत्व , छायाङ्कार विष्णु कल्पितले दृश्य भाषा र लेखन, रेडियोकर्मी नरेश भट्टराईले कार्यक्रम प्रस्तोताको विविध आयाम , संघका पूर्व अध्यक्षद्वय विदुर गिरी तथा शान्तिप्रिय र जेष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर सहभागीतामा चलचित्र पत्रकारिताको महत्व र विविध पक्ष माथि बहस पनि भएको थियो भने सो अन्तरक्रियात्मक बहसलाई पत्रकार डब्बु क्षेत्रीले सहजीकरण गरेका थिए ।
पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई कार्यशालाले लाभ दिने सङ्घका अध्यक्ष दिनेश सिटौलाको भनाइ छ ।








