३२ रागका ज्ञाता ः इन्द्र महर्जन

नेवार समुदाय नेपालको कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि विशिष्ट योगदान दिँदै आएको समुदाय हो । यसमा पनि महर्जन समुदायले काठमाडौंको सांस्कृतिक सम्पदा संरक्षणका लागि विशेष योगदान दिँदै आएको छ भन्दाखेरि अतिसयोक्ति नहोला । यसको अर्थ अन्य जातिको योगदान मूल्यहीन छ भन्न खोजिएको कदापि होइन ।
कला संस्कृतिको संरक्षण र संवद्र्धनको कुरा गर्नुपर्दा एक विशिष्ट पहिचान बोकेको टोल हो किलाघः टोल । इन्द्रजात्रामा निकालिने पुलुकिसिको नाच, देवीनाच, यहाँका मन्दिर, पाटीपौवा तथा चैत्यहरुले यस टोलको गरिमा र महत्वलाई अझ उचाई दिएको छ । यस टोलका यी विविध मूर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणमा आफ्नो जीवन पर्यन्त सेवा गर्नुहुने एक विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो स्व. इन्द्र महर्जन ।
यस लेखमा मैले उहाँका केही खास विशेषताहरुका बारेमा उल्लेख गर्ने कोसिस गरेको छु ।
सांगीतिक क्षेत्रमा योगदान
स्व. इन्द्र महर्जन नेवार बाजागाजाहरुका विशेष जानकार हुनुहुन्छ । उहाँले नेवार लोकबाजाहरु धिमे, खिं, पछिमा, नगरा, दंगः, बाँसुरी, बय्, डबडब, नाय्खिं, धाः, प्वंगा, भ्वाइलिन लगायतका बाजागाजा बजाउन सक्नु हुन्थ्यो ।
देवी नाचका मूल गुरु समेत रहनु भएका उहाँ नाचमा प्रयुक्त हुने सम्पूर्ण राग मात्र होइन नेपालमा दाफा गायनमा प्रचलनमा रहेका ३२ किसिमका राग गायनमा पोख्त रहनुभएको उहाँका सुपुत्र नरेन्द्र महर्जनले बताउनु भएको थियो । तर ती रागहरु कतै अभिलेखिकरण गरिएका छैनन् । उहाँले ती राग तथा संगीतको ज्ञान अरुलाई दिन नचाहेको होइन तर व्यक्तिगत रुपमा भने उहाँले कसैलाई पनि दिन चाहनु भएन ।
उहाँले आफूसँग भएका रागहरु मध्ये केही केही रागहरु नयाँ पुस्तालाई सिकाउनु भएको छ । तर उहाँले जान्नु भएको भनिएको ३२ वटा रागको अभिलेखीकरण नगरिएका कारण उहाँसँगै नेपालको एक अमूर्त सम्पदा नै क्षय भएको छ ।
नेपालमा शास्त्रीय संगीतमा स्नातकोत्तर गर्नका लागि भारतीय राग गाउन तथा बजाउन लगाइन्छ । नेपालकै शास्त्रीय रागको संरक्षणमा भने नेपाल सरकार उदासिन रहेको पाउन सकिन्छ ।
सांगीतिक क्षेत्रमा योगदानकै चर्चा गर्दा हाल चर्चित रहेको नेपालभाषाको गीत ‘सालुगु गाचा’को धुनका सर्जक उहाँ हुनुहुन्थ्यो ।
काठमाडौंमा एक समय डबली नाटकको डबडबा थियो । त्यतिबेला किलाघः टोलका स्व. इन्द्र महर्जन, मोहनकृष्ण डंगोल, मीनलाल बज्राचार्य र हुतराज शर्मा एकदम मिल्ने साथीहरु थिए । उहाँहरुकै समूहले निर्माण गरेको ‘शिला मय्जु’ नाटकको शीर्ष गीतको ध्याचु लय नै अहिले ‘सालुगु गाचा’मा प्रयोग भएको लय हो ।
स्व. इन्द्र महर्जनसहितको समूहले नै नाटकमा सर्वप्रथम महिला कलाकारलाई अभिनय गर्ने मौका प्रदान गरेको थियो । नेपाली अभिनय क्षेत्रका प्रख्यात अभिनेत्री सुभद्रा अधिकारी उहाँहरुकै नाटकमा डबलीमा नाच देखाएर कलाकारका रुपमा अगाडि आउनु भएकी कलाकार हुन् ।
संगीतमा रहेको विलक्षण प्रतिभाको कदर गर्दै उहाँका साथी हुतराज शर्माले उहाँलाई रेडियो नेपालमा जागिरका लागि बोलाउनु भएको थियो । तर उहाँले आफू जागिरे भएमा टोलको सांस्कृतिक गतिविधिहरु संचालनमा र खेतिपातिमा पनि असर पर्ने भएका कारण त्यसलाई स्वीकार गर्नुभएन ।
किसान हकका लागि आन्दोलन
स्व. इन्द्र महर्जन किसानहरुको हक अधिकारका लागि पनि अग्रसर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका छोरा नरेन्द्र महर्जनले दिनु भएको जानकारी अनुसार २०२९–३० सालतिर एनसीसीएन कम्पनीका लागि इखाधःमा रहेको जग्गा सरकारले अधिग्रहण गर्ने भयो । सो समयमा त्यहाँको जग्गाको प्रति रोपनी मात्र २०० रुपैयाँ मूल्यांकन गरिएको थियो । किसानको जनजीवनसँग जोडिएको भूमि कौडीको मूल्यमा अधिग्रहण गर्न लागिएपछि उहाँले यसको विरोध गर्नुभयो । सुरुमा त अन्य किसान दाजुभाइहरुले पनि यसमा साथ दिनु भयो । तर सरकारी दवाव ठेग्न नसकेपछि एक एक गर्दै सबैले मुआब्जाको पैसा लिई आफ्नो जग्गा दिएर पन्छिँदै गए । यसरी अन्तमा उहाँ एक्लै हुनुभयो । आन्दोलनकै क्रममा उहाँ जेल समेत भोग्नु परेको थियो ।
त्यतिबेला सरकारी अधिकारीहरुले उहाँलाई भनेका थिए, ‘हेर्नुस् सरकारसँग जुध्नु भनेको आफ्नो टाउको भित्तामा ठोक्नु हो । टाउको भित्तामा ठोक्दा भित्तालाई त केही हुँदैन, टाउकोलाई नै क्षति पुग्छ ।’ यसो भनेपछि उहाँले मुआब्जाको रकम समेत नलिइ जग्गा त्याग गर्नुभयो । किसान दाजुभाइमा एकता नभएकै कारण आफ्नो जनजीवनसँग जोडिएको जग्गा सरकारलाई कौडीको भाउमा सुम्पनु परेकोमा उहाँ दुःख मान्नुहुन्थ्यो ।
ज्योतिष ज्ञाता
स्व. इन्द्र महर्जन ज्योतिष विद्याका ज्ञाता समेत हुनुहुन्थ्यो । उहाँले चिना हेरेर साइत निकाल्ने र गुणदोषहरु छुट्याउन सक्ने व्यक्तित्व हुनुहुन्थ्यो । यसैगरी कसैलाई कुनै किसिमको लागोपागो भएमा झारफुक विधिबाट उपचार समेत गर्न सक्षम हुनुहुन्थ्यो ।
उहाँसँग भएको यो ज्ञान पाउनका लागि उहाँका छोराहरुले प्रयास गर्नुभएको थियो । तर उहाँले यो विद्या जान्नका लागि कसैको जुठो खान नहुने र कहिल्यै झूठो बोल्न नहुने भएका कारण दिन चाहनु भएन । आजको जीवनशैलीमा सँधै चोखो मात्र खाने कुरा खान सम्भव देखिँदैन । यसैगरी व्यापार व्यवसायमा लागेका मानिसहरुले सँधै सत्य मात्र बोलेर बस्न सकिँदैन । यसैकारणले उहाँले आफूसँग भएको यो ज्ञान दिन चाहनु भएन ।
अधुरा काम
देवीनाचको मूल गुरुका रुपमा २०३६ सालदेखि सेवा गर्दै आउनु भएका उहाँको पहलमा देवीनाचको घर खरीद गरी सो घर अहिले पुनःनिर्माणको चरणमा रहेको छ । उहाँले सो घर पूर्ण गरी उद्घाटन गर्ने चाहना राख्नु हुन्थ्यो । जुन पूरा हुनु अगाडि नै उहाँले यो संसार त्याग गरेर जानु भयो ।
यसैगरी किलाघः टोलको आराध्यदेवका रुपमा रहनु भएका नृत्यनाथको मन्दिर परिसर सुधार गर्ने चाहना राख्नुहुन्थ्यो । उहाँले नासःद्यःको मन्दिर परिसरमा रहेको फलामे रेलिङ हटाई तिकिझ्याः बुट्टा भएको झ्याल राखी कलात्मक बनाउने तथा मूलद्वार पनि नयाँ बनाई कथं कदाचित मन्दिर बन्द रहेको समयमा द्वारमा नै पूजा गर्न मिल्ने किसिमको व्यवस्था गर्ने सोचमा हुनुहुन्थ्यो । जुन कुरा पनि पुरा हुन सकेको छैन ।

अन्तमा…

नेपाली सांस्कृतिक क्षेत्रका एक नक्षत्रको रुपमा रहनु भएका गुरु इन्द्र महर्जनको निधन किलाघः टोलको लागि मात्र नभई समग्र सांस्कृतिक क्षेत्रकै लागि अपूरणीय क्षति हो । नेपाली कला संस्कृतिको संरक्षणमा लाग्नु भएका यस्ता व्यक्तित्वहरुको पहिचान गरी उहाँका ज्ञान र शीपलाई संरक्षण गर्न सबै पक्ष क्रियाशील भएर लाग्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध