स्व. इन्द्र महर्जन ः एक चिनारी

देशको गहनाको रुपमा रहेको मूर्त तथा अमूर्त कला र संस्कृतिको धरोहरको रुपमा काठमाडौंको आदिबासी ज्यापुहरुको ३२ टोलले साँचैको सांस्कृतिक गहनाको रुपमा काम गरेकोमा सायद नै विमति होला । यिनै परम्परागत ३२ टोलहरु मध्ये एक हो किलाघः ।
यो ऐतिहासिक तथा सांस्कृतिक कला, भेषभुषा, देवालय, शिवालय, पाटीपौवा, चैत्य, मठमन्दिर तथा विभिन्न जातजाती बसोबास भएको ठाऊँ हो । यस किलाघः टोलमा १२ महिना बाह्रै ओटा नै जात्रापर्व सञ्चालन गरिँदै आएको छ । यसै टोलबाट सेतो हात्ति (जसलाई ऐरावत हात्ति पनि भनिन्छ) इन्द्रजात्राको बेला निकालिन्छ । त्यस्तै किलाघः टोलबाटै दीप्याखं (देवीनाच) पनि इन्द्रजात्राको बेला निकालिन्छ । दशैंमा पायाः जात्रा, पाहाँचः¥हेको बेला गणेशको जात्रा यही टोलबाट निकालिनु का साथै मरः जाः नकेगु भनि बालबच्चाहरुलाई भोजन खुवाउने चलन पनि यहाँ रहेको छ ।
गुँलापर्वमा १ महिनासम्म किलाघः टोलमा दाफा भजन गाउने गरिन्छ । यसै टोलबाट गुरुमापालाई भोजन गराउन जाने चलन आजसम्म पनि चलिरहेको छ । कार्तिक महिनामा हरिबोधिनी एकादशिदेखि सकिमिला पुन्हीको ५ दिनसम्म दाफा भजन गाउने गर्दछ । त्यस्तै गथांमुगःको दिन घण्टाकर्ण बनाई त्यसलाई जात्रा गरेर बिष्णुमति खोलामा सेलाउने कार्य पनि किलाघःबाट निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ । सो दिन पनि बेलुका दाफा भजन गाउने चलन रहेको छ ।
काठमाडौंको ३२ टोल तथा त्यस माथि विशेष किलाघः टोलको पररम्परागत मूर्त तथा अमूर्त कला संस्कृति बारे जानकारी लिन परेमा आजको मितिसम्म पनि जिउँदो अमूर्त कलाका जीवन्त खम्बाको रुपमा रहनु भएका विभिन्न बाजा तथा देवी नाचका गुरु तथा किलाघः त्वाःका कजि श्री इन्द्र महर्जनसँगको छलफल तथा परामर्श बिना संस्कृति तथा परम्परा सम्बन्धी लेख अधुरो नै रहन्छ होला ।
उहाँ बि. स. १९९० भाद्र महिनामा बुबा श्री नारायण महर्जन र आमा चिनी महर्जनको कोखबाट जन्म भई; ७ वर्षको कलिलो उमेरदेखि नाचगाना बाजागाजा बजाउन सिक्दै आजको मितिसम्म मूधिमय् बाहेकको किलाघः टोलबाट निकालिने बिभिन्न बाजा तथा देवी नाचका गुरु इन्द्र महर्जनलाई किलाघः टोलको धरोहर मानिन्छ । निर्माण भएको त्वाःछेँ तथा त्वाःछेँको इतिहास तथा त्वाःका कजिको योगदान, भुमिका बारे गहनरुपमा अध्ययन गर्न उहाँलाई विभिन्न समयमा भनेका कुराहरु तथा कुनै अनुकुल समय निस्कना साथ टोलको बारे लागेका विभिन्न सांस्कृतिक पक्षबारे विभिन्न प्रश्नहरु राख्दा सर्वप्रथम त्वाःछेँको ऐतिहासिक पक्षबारे बुझ्दा गुरु इन्द्र महर्जनज्यूले भन्नुभयो कि, ‘पहिला त्वाःछेँ ३ तल्लाको थियो । उक्त त्वाःछँेमा टोलमा विभिन्न जात्रापर्वमा चलाउने सामानहरु राख्ने गर्दथ्यो र सोही ठाउँमा नित्यपुजा गरी भोज खान चलन थियो ।’
उहाँले यस त्वाःछेँ २०२३ सालमा निर्माण गर्दाका दुःख सुख तथा टोलका दाजुभाइहरुको योगदान बारे कुरा राख्दा टोलका गुठीयारहरुलाई रु १० उठाउने निर्णय भयो उहीबेला गुरु इन्द्र महर्जनज्यूका बुवा श्री नारायण महर्जनले सबैभन्दा पहिला रु १०० चन्दा दिने घोषणा गरि चन्दा दिनासाथ बाँकि अरु २ जना हाल्यो कालु महर्जन र न्हुछे महर्जनले पनि रु १०० दिनुभयो । तर रु १० उठाउन निक्कै गाह्रो भएर जनश्रमदानबाट बनाउने निर्णय गरियो । उक्त जनश्रमदानबाट बनाउने निर्णय गर्दा मासु टोलबाट खुवाउने चिउरा चाहिँ आफैले ल्याउनुपर्ने गरी नियम बनाएर त्वाःछेँ निर्माण गरेर २०२५ सालमा सम्पन्न गरेको जानकारी दिनुभयो ।
यो त्वाःछेँ तेरोमेरो भन्ने झगडाले गर्दा २०२० सालमा त्वाःछेँमा भएको शिलापत्र पेश गरी स्व. द्यःहेरमां र स्व. स्यः हेरमांको नेतृत्वमा अदालतमा मुद्दा लडेर जितेको थियो भनी उहाँले स्मरण सुनाउनु भयो । सो त्वाःछेँ निर्माण गर्दा उहाँ आफैले श्रमदान गर्दा केहि व्यक्तिहरुले भत्काउने तथा बिग्रह ल्याउनको लागि तिमीकिन यसरी ज्यानको पर्वाह नगरी दिनरात किन खतिरहेको ? तिमीले यो घरबाट के पाउँछौ र ? यदि दुर्घटना भई अपाङ्ग भयौ भने के टोलले पाल्छ भनि भाँड्ने कुरा गरेपनि आफूले निसंकोचित भई ऊबेला दुःखले ज्यानको पर्वाह नगरी सबै टोलबासि मिलीजुली बनाएको घर २०७२ सालमा भुकम्पका कारण जीर्ण हुँदा साह्रै चित्त दुखेको भाव व्यत्त गर्नुभयो ।
तर फेरि त्यही घर भत्काएर नयाँ घर बनाएको देखेर खुशी लागेको अवगत गर्नुभयो । उहाँलाई किलाघः त्वाःबाट खासगरि परम्परा देखी गर्दै आएको सास्कृतिक काम बारे प्रश्न गर्दा किलाघः टोलमा २ पल्ट टोलका सम्पूर्ण गुठीयारहरुलाई बोलाएर भोज खुवाउने काम गर्दछ । पहिला फागुन महिनाको होलि पूर्णिमामा गरिन्छ, जसमा ज्यापूहरु मात्र बसेर भोज खाइन्छ भने उक्त भोजमा सेतो हात्ति नचाउनका लागि प्रतिनिधि छान्नेकाम पनि गर्दछ । जुन कार्य टोलका सम्पूर्ण गुठयिारहरु मिलेर पालैपिलो गर्ने गर्दछ ।
अर्को भोज माघ महिनामा टोलका सम्पूर्ण ज्यापू तथा सापूहरु मिलेर नासः पूजा गरी भोज खाने गर्दछ । १२ वर्षमा १ चोटी मू धिमय्, प्वंगा तथा धुन्या सिकाउने, इन्द्र जात्राको बेला इन्द्र देवताको मुर्ती प्रदर्शन गर्ने कार्य गरिन्छ भनि जानकारी दिनु भयो ।
गुरु इन्द्र महर्जनज्यूलाई किलाघः टोलको कजिको भुमिका तथा महत्व बारे जानकारी लिँदा कजि भनेको घरको ‘हामा’ (मुली) हो । कजिको काम टोलका सम्पूर्ण कामहरुलाई समन्वय तथा व्यवस्था गर्ने तथा प्रत्येक भोजको बेला पूजाकोे व्यवस्था गर्ने नै हामा वा कजिको काम हो भन्ने जानकारी दिनुभयो । साथै टोलका खलकहरुबीच कुनै वैमनस्यता तथा असमझदारी भई मनमुटाव भएमा त्यसलाई मिलाउने तथा समाधान गर्ने काम पनि कजिले गर्ने गर्दछ भनी जानकारी दिनु भयो ।
छुविननिको प्रतिनिधि तथा कजिको भूमिकामा आजको मितिसम्म आफ्नो क्षमता र अनुभवले भ्याएसम्म निरन्तर रुपमा काम गरिरहेको जानकारी दिनुभयो । श्री इन्द्र महर्जनले किलाघः टोल एउटा संघियताको राम्रो नमुनाको स्वरुपमा संचालन भइ रहेको जानकारी दिनु भयो । उदाहरणको लागी छबिननी बाट ३ जना, बिज्यापु ननीबाट २ जना, सापू खलः बाट २जना, गणेद्यः खलः बाट २ जना, मेपूः खलः बाट २जना, जनमामुगः बाट १ न्यतपाःच्वबाट १ प्रतिनिधि छानी त्यही प्रतिनिधिबाट एक जना नायः छान्ने परम्परा रहेको जानकारी दिनुभयो ।
किलाघः टोलको अहिले सम्म थाहाभएको पुरानो टोल नाइकेको नाम सोध्दा उहाँले सबभन्दा पुरानो नाइके श्री मस्र्या महर्जनको नाम लिनेुभयो जुन व्यक्ति नाताले उहाँको ठूलो बाजे पर्ने भन्नु भयो ।
(किलाघः त्वाःका कजि एवम् दीप्याखंका गुरु इन्द्र महर्जनको यही २०७९ पुस ३० गते शनिवारका दिन निधन भएको छ । उहाँको व्यक्तित्व तथा योगदानका सम्बन्धमा किलाघः त्वाःबाट प्रकाशित स्मारिकामा प्रकाशित लेखलाई यहाँ पुनः प्रकाशन गरिएको छ – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध