समाज सेवी डंगोलको निधन
समाज सेवी शरद कुमार डंगोल (विष्णुविर)को हिजो राति ११ः०० बजे निधन भएको छ ।
शनिवार उहाँलाई हर्टअट्याक भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको र त्यहाँ उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
डंगोलको आज इन्द्रायणी दीपमा पारम्परिक रुपमा दाहसंस्कार गरिएको छ । उहाँका सुपुत्र सबिन डंगोलले उहाँलाई दागबत्ति दिनुभएको थियो ।
उहाँ श्री आकाश भैरवनाथ गुठी संचालक समिति, जय श्री आकाश भैरवनाथ बचत तथा ऋण सहकारी संस्था लि., श्री आकाशभैरवनाथ व्यवस्थापन समुदाय, दथुटोल सुधार समिति, खुसिबुँ र श्री आकाशभैरवनाथ इन्द्रचोक तथा श्री आदिनाथ वन उपभोक्ता समितिका अध्यक्षका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।
इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्षको रुपमा कार्य गर्दै आउनु भएका उहाँ श्री आकाश भैरवनाथ लिङ्गो गुठी संचालक समितिका उपाध्यक्ष एवम्, सामाखुशी उपभोक्ता संघ र मानव कल्याण संघ, खुसिबुँमा महासचिवका रुपमा सेवा गर्दै आउनु भएको थियो ।
श्री आकाश भैरवनाथ मन्दिर जिर्णोद्धार समितिमा सचिव भएर मन्दिर निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्व. डंगोल नयाँबजार जग्गा एकिकरण उपभोक्ता संघ खानेपानी उपसमितिका सचिव एवम् खुसिबुँ (एम ब्लक)का सदस्य हुनुहुन्थ्यो ।
नेपाल रेडक्रस सोसाइटीमा पनि सदस्य रहनु भएका उहाँ फ्रेण्डशिप युथ क्लव, नयाँबजार र ज्यापु संस्कृति विकास कोषका सल्लाहकार हुनुहुन्थ्यो ।
उहाँ प्रवल गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुहुन्थ्यो भने उहाँका श्री बखत विर डंगोलको पुस्तेवारी, निध्वः (दुइरेखा) र संगालो सूत्र पुस्तक प्रकाशित भएका छन् ।
स्व. डंगोलको श्रीमति एक छोरा र एक छोरी छन् ।








