सक्षम युवा नेतृत्वका लागि मेरो उम्मेदवारी

यही आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बागमती प्रदेश क्षेत्र नं. ९ ‘क’का लागि भूमि, गुठी तथा सम्पदा संरक्षणका सामाजिक अभियन्ता शैलेश रत्न शाक्यले उम्मेदवारी दिनु भएको छ । ‘नीति निर्माण तहमा सक्षम यूवा’ नारा दिएर चुनावी अभियानमा होमिनु भएका शाक्यसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्नकाजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
तपार्ईंको उम्मेदवारी किन हो ?
म २०३७ सालमा विश्व निकेटन स्कूलमा अध्ययनरत रहँदा नेविसंघमा सदस्य बनेको थिएँ । त्यतिबेला सुनिल स्थापित अध्यक्ष हुनुहुन्थ्यो । म पढाईमा त्यति राम्रो विद्यार्थी होइन । विश्व निकेतनमा म २०३९ ब्याचको विद्यार्थी हुँ । मैले २०४२ सालमा मात्र एसएलसी उत्तिर्ण गर्न सफल भएँ । त्यसपछि म काठमाडौं क्याम्पस ताहाचलमा २०४३ सालमा भर्ना भएँ । म पहिले नै राजनीतिक रुपमा सक्रिय भइ विश्व निकेतनमा नै नेपाल विद्यार्थी संघको सदस्य भइसकेको हुनाले त्यो संगठन के हो भन्ने मलाई जानकारी थियो । त्यतिबेला प्रचण्डदेव मानन्धरलगायतको नेतृत्वमा मैले नेविसंघको तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएँ । तर म सफल हुन सकिन । त्यसपछि २०४४ सालमा मैले सचिव पदमा दावी गर्दै स्ववियू निर्वाचनमा होमिएँ । त्यति बेला पनि म झिनो मतान्तरबाट पराजित हुन पुगेँ । त्यतिबेला सचिवमा अखिलका जीवन मानन्धर विजयी हुनुभएको थियो । उहाँको र मेरो दुवैको पसल कालिमाटीमा थियो । राजनीतिक रुपमा लागेकै कारण मैले आफ्नो शिक्षालाई राम्ररी अगाडि बढाउन सकिनँ ।
यसैबीचमा मैले यहाँ स्मरण गर्न चाहन्छु, २०४३ सालमा गणेशमानजिले आउटपोष्ट कब्जाको आह्वान गर्नुभयो । त्यतिबेला पार्टी प्रतिबन्धित थियो । हामी विद्यार्थी संगठनमा क्रियाशील थियौं । हामी हरिबोल दाइ र तीर्थराम दाइको घरमा गएर गणेशमानजिको अपिल बाँड्न जान्थ्यौं । यो १२ वडाबाट त्यतिबेला मैले कोही पनि चिनेको थिइनँ । न मलाई चक्रमान डंगोल नै काँग्रेस भनेर थाहा थियो । मैले चिनेको भनेको नारायणदास कारंजित, रमेश श्रेष्ठ र प्रवेश दाइ हुन् । यूवामा म एक्लो थिएँ ।
म जतिबेला तीर्थराम दाइ र हरिबोल भट्टराई प्रधानपञ्च र उपप्रधानपञ्चमा उम्मेदवारी दिनु भएको थियो त्यतिबेला म बूथ प्रतिनिधि भएर बसेको थिएँ । मैले काँगे्रसको १२औं १३ औं र १४ औं महाधिवेशनमा भाग लिएको छु । १४ औं महाधिवेशनका क्रममा नै मैले बागमति प्रदेशको ९ (१) मा मेरो उम्मेदवारी दिनका लागि यस क्षेत्रका चार वटै इकाईका सभापतिज्यूहरुसँग छलफल अगाडि बढाएको थिएँ । तर २०७४ को निर्वाचनमा इन्द्रमान तुलाधरले उम्मेदवारीको टिकट पाउनु भयो । यसपछि १४ औं महाधिवेशनका क्रममा प्रदेश सभापतिको लागि छलफल बढाएको थिएँ । यसका लागि १२ वडा इकाईमा माइन्यूट समेत भएको थियो । प्रदेश कमिटीका लागि १२ वडामा मात्रै १८ वटा भोट रहेका छन् । नेवार बाहुल्य रहेको क्षेत्रमा मैले ६५ भोट पाउने अपेक्षा गरेको थिएँ । तर मैले जम्मा ८ मत मात्र प्राप्त गरेँ । काँग्रेसभित्रको गुटबन्दीको शिकार म बनेँ । आदरणीय नेता ध्यानगोविन्द रंजितले ‘तिमी पहिले नेवार अनि मात्र काँग्रेस भन्ने’ भनेर गुटबन्दीको शिकार बनाए । मलाई कम्यूनिष्ट पार्टीहरुले पनि आफ्नो पार्टीमा आउन आग्रह नगरेका होइनन् तर म एक प्रजातन्त्रवादी भएको कारणले कुनै पनि हालतमा कम्यूनिष्ट पार्टीमा जान सक्दिनँ भनेर काँग्रेसमा नै बसिरहेको थिएँ । मलाई प्रदेश सभापतिमा निर्वाचित हुनुभएका मोहन बस्नेतज्यूले फोन गरेर सल्लाहकारमा मनोनित गरेको बताउनु भयो । तर त्यसपछि कुनै पनि बैठक तथा छलफलहरुमा मलाई सहभागी गराउनु भएन । यसरी मलाई मैले गुटको राजनीतिको शिकार बनाएपछि मैले गत पंजराको दिन नेपाली काँग्रेस पार्टी परित्यागको घोषणा गरेँ । र, अहिले नेवाः सम्पदा र सभ्यताको रक्षाको लागि मैले प्रदेशसभामा उम्मेदवारी दिएको छु ।
लामो समयदेखि नेपाली काँग्रेसमा रहेर अहिले तपाईं हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिँदै हुनुहुन्छ यो किन हो ?
यो उम्मेदवारी नेवारहरुको लागि हो । मैले नेपाः राष्ट्रिय पार्टीलाई पुनर्गठन गरेर त्यसैबाट संसदीय चुनावमा होमिने तयारी गरेको थिएँ । तर केही प्राविधिक कारणले हामीले यसमा सफलता हासिल गर्न नसकेपछि मैले लौरो चिन्ह लिएर प्रदेशसभामा उम्मेदवारी दिएको हुँ । हाम्रो नेपाली पार्टीले मलाई स्वतन्त्र उम्मेदवार नै हो भनेर पार्टीको ह्वीप नलाग्ने लेखी दिएको छ । मैले काम गर्ने भनेको नेवार जनताको लागि हो । मलाई साम्प्रदायिक भने पनि केही छैन तर म नेवार जनताको लागि नै लाग्नेछु ।
तपाईंको जीतको आधार के हो ?
मैले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं मनपा १२, १४, २१ र २२ वडा हो । यसमा १२ वडा म जन्मी हुर्केको क्षेत्र हो भने २२ वडा मेरो मावली हो । २१ वडा मेरो पुख्र्यौली थलो हो । कामपा १४ वडामा पनि मेरा शुभेच्छुकहरु छन् । यही नै मेरो चुनाव जित्ने प्रमुख आधार हो । मैले समाजको लागि दिएको योगदानको उचित मूल्यांकन हुनेछ भन्ने मैले विश्वास लिएको छु । म एक सम्पदा अभियन्ता मेरै अगुवाइमा रानीपोखरीको पुनःनिर्माणमा भइरहेको लापरवाहीलाई चिर्न सफल भएको थिएँ । यसैगरी धरहरालाई भूकम्प पार्क बनाउनु पर्छ भन्ने पनि म नै हुँ भने काष्ठमण्डप पुनःनिर्माण समितिको सदस्य बनेर हाम्रो सम्पदालाई मौलिक रुपमा उठाउन सफल भएको छु । यस्तै यंगाः हितिको संरक्षणका लागि मैले नै पहल गरेको थिएँ । पछि मलाई त्यहाँ निषेध गरियो अहिले त्यहाँको हालत कस्तो छ तपाईंहरुले हेर्न सक्नु हुन्छ ।
अर्कोतर्फ मलाई नेपाली काँग्रेसका साथीहरुले पनि सहयोग गर्नु हुन्छ भन्ने विश्वास छ । गत निर्वाचनकै परिणामलाई हर्ने हो भने यस क्षेत्रबाट ६२% हाराहारीमा मत खसेको देख्न सकिन्छ । त्यसमा धेरै जसो मत स्वतन्त्र उम्मेदवारले नै ल्याएको देखिन्छ । अहिलेको आधारमा मेरो गणना अनुरुप भन्नुहुन्छ भने म दोश्रो स्थानमा रहेको छु । मैले थोरै मिहेनत गरेपछि म नै निर्वाचित हुनेछु ।
तपाईंले अहिले दोश्रो स्थानमा छु भन्नुभयो, विगतको निर्वाचनमा हेर्ने हो भने यहाँ नेकपा (एमाले)को पकड रहेको देखिन्छ त्यसपछि काँग्रेसकै बाहुल्यता रहेको छ । तपाईंले दोश्रो स्थानको दावी कसरी गर्नुभयो ?
नेपाली काँग्रेसमा मैले ३८ वर्ष बिताएको छु । म एउटै घरमा बसेको हुनाले मलाई सबै थाहा छ । म एक स्वतन्त्र उम्मेदवार भएका कारण म पार्टीको दास रहिनँ । अन्य हामीले यसैमा भोट खसाल्नु पर्दछ भन्नेहरु पनि छन् । भित्रबाट सहयोग गर्नेछु बाहिर आउन सक्दिनँ भन्नेहरु पनि छन् । म एक स्वतन्त्र उम्मेदवार हुँ । मैले कुनै पनि पार्टीलाई सहयोग गर्न सक्छु ।
काँग्रेसी साथीहरुले स्वतन्त्र भएका कारण मलाई भोट राख्न हुँदैन भनिरहेका छन् । तर हिजो हाम्रा साथी सञ्जय महर्जनका हत्यारा माओवादीलाई भोट माग्न गइरहेका छन् । उनीहरुले साथीको हत्यारालाई भोट राख्ने कि मलाई भोट राख्ने ? गठबन्धनका कारण कसलाई भोट राख्ने भन्ने अलमल छ । मेरो प्रतिद्वन्द्वीका रुपमा नेपाली काँग्रेसकै उम्मेदवार भएता पनि म ३८ वर्ष काँग्रेसमा काम गरिसकेको मान्छे, मेरो विपक्षमा रहेका उम्मेदवार झापाबाट बिहे गरेर भर्खरै मात्र यहाँ आएकी हुन् । म उनको नाम लिन चाहन्न ।
तपाईं जित्नु भयो भने के गर्नु हुन्छ ?
म यो चुनाव हारेँ भने म सामान्य नागरिक नै रहनेछु । यदि जितेको खण्डमा मैले यसलाई नयाँ ढंगबाट अगाडि जानेछु । प्रदेश सदस्यको सपथ ग्रहणमा म नेवार परम्परागत पहिरनमा नेपालभाषाबाटै सपथ ग्रहण गर्नेछु । र सपथ ग्रहण पछि मैले बागमती प्रदेश मुर्दावाद नेवाः–ताम्सालिङ्ग जिन्दावादको नारा घन्काउनेछु । हिजो नेकपा एमालेका प्रदेशसभा सदस्यद्वय अजयक्रान्ति शाक्य र राजेश शाक्यले नेवाः–ताम्सालिङ नामाकरण नभए राजीनामा दिन्छु भनेका थिए तर त्यसलाई पूरा गर्न सक्नु भएन । न त पार्टी नै परित्याग गर्नुभयो । म त स्वतन्त्र छु, मैले जे पनि भन्न सक्छु ।
म निर्वाचित भए भने काठमाडौंको सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र १२, २१ र २२ को बाटोहरु राम्रो बनाउनेछु । दोश्रो यहाँको सडक बत्तीहरुको राम्रो व्यवस्था गरिदिनेछु । तेश्रो २२ वडाको तिंख्यः ध्वाखादेखि काष्ठमण्डप सम्मको क्षेत्रका घरहरुलाई परम्परागत स्वरुप दिन अगाडिको बाटमा तेलिया इँटाले छाएर प्राचीन स्वरुपलाई पुनर्जागरण गर्ने पहल गर्नेछु । यहाँलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध