इन्द्रजात्रा ः संस्कृति र विकृति

नेपालभाषा (नेवार भाषा) मा “जात्राको” अर्थ २ वटा हुन्छ । एउटा जुन जात्रामा मौलिकता र जीवन्त्तताको साथ साथमा परम्परागत र ऐतिहासिक हुन्छ तब मात्र त्यो जात्रालाई “जात्रा” भन्न सकिन्छ भने, अर्काे पाटो बेइज्जत गर्ने नियतले गरिने त्यो कार्यलाई पनि जात्रा भन्ने गरिन्छ ।
“यँयाः” जात्रालाई अहिले आएर सरकारी भाषामा इन्द्रजात्रा भन्ने गरिन्छ जुन सरासत गलत हो । त्यस्तै योसींलाई लिङ्गो भन्न थालि सक्यो, यो सरासर गलत हो । यो भनेको हामीले कुनै व्यक्तिलाई माइला भनेर सम्बोधन गर्नु पर्ने ठाउँमा माइकल भन्दा जति अर्थहिन र असान्दर्भिक छ, त्यति नै यँयाः लाई इन्द्रजात्रा र योसीलाई लिङ्गो भन्नु असान्दर्भिक तथा अर्थहिन छ । त्यस्तै यँयाःको बेला निकालिने पुलुकीसीलाई सेतो हात्ती भन्ने, दी प्याखंलाई देवी नाच भन्ने, वंघः आजुलाई आकाश भैरव भन्ने सव–भकुलाई हल्चोक आकास भैरव जस्ता केहि उदाहरण छन् जुन शब्द तथा नामले यँयाःलाई बेइज्जत गर्ने हिसाबले प्रयोग गरेका शब्दावली जस्तो लाग्दछ ।
परम्परागत रुपमा चलि आएको जात्रालाई समय अनुकुल ढाल्दै लगेको खण्डमा त्यो जात्रा सदा जिवित तथा मौलिक रहि रहन्छ नत्र भन्ने त्यो जात्रा विलय तथा लोप भएर जान सक्छ तर सजिलोको नाममा क्षणिक र सिमित व्यक्तिहरुको रमाइलोको लागि जात्रालाई परिमार्जित गरिन्छ भने कालान्तरमा गएर त्यो जात्राको महत्व तथा मौलिकता हराएर जान सक्छ ।
पोहर सालमात्र योसींलाई नालाबाट रत्नपार्क सम्म ल्याउदा क्रेनले तानेर ल्याईयो जुन सरासर गलत हो । कुमारीे, भैरव र गणेशको रथ तान्दा पहिला रथमा हेरचाह गर्ने छुटै गुठीका सिमीत व्यक्तिहरु मात्र बस्दथ्यो तर अहिले जथाभावि भेषभुषा लगाएर रथ नै नदेख्ने गरि मान्छे बस्ने परम्परा भएको छ साथै विशेष प्रकारकोे भेषभुषा तथा टोपी लगाएर महानायोले हस्ते भने पछि मात्र हाइस्ते भनेर रथ तान्नुपर्नेमा जथाभाबी भेषभुषामा गलत प्रवृत्तिका व्यक्तिले रथमाथि चढेर शक्ति र समुहको बल देखाएर स्व घोषित महानायोको रुपमा हस्ते भन्न जाने गरेको देखिन्छ । यस्ता विकृतिलाई रोक्न आवश्यक छ । यसका साथै बाजा खलक तथा रथमा बस्नेहरुले पनि विभिन्न संस्थाले प्रायोजन गर्ने टिशर्ट लगाएर प्रदर्शन गर्नु भन्दा परम्परागत भेषभूषामा जात्रामा सहभागी हुन आवश्यक छ । जसले गर्दा नेपाली परम्परागत पोशाकको समेत प्रचारप्रसार हुन जानेछ ।
१० वर्ष अगाडिसम्म कुमारीको रथ महिला पुरुष दुवै ताने पनि कुनै विरोध थिएन तर २०६९साल देखि कुमारीको रथलाई नानीचायाःको दिन महिलाहरुले मात्र तान्नु पर्ने केटाहरुले तान्न हुन भन्ने चलन ल्यायो तर कारण बुझदा नानीचायायको अर्थ महिलासगँ सम्बन्धित छ त्यसैले सो एक दिनको लागि महिलाले रथ तान्ने व्ववस्था गरियो । तर १०० वर्ष पछि नानीचायायको दिनमा महिलाले मात्र तान्नु पर्छ भनि एतिहासमा पढाउने काम हुन जान्छ भने वास्तवमा त त्यो बिल्कुलै सत्य होइन ।
यँयाःजात्राका दिन उपाकु जात्रा भनि मरेको व्यक्तिका नाममा काठमाडौंको निश्चित क्षेत्र तथा बाटो भएर मन्दिर तथा बाटो भरि बत्ति चढाउदै जाने जात्रा हो, तर बिदम्वना यहि जात्रामा पनि आफ्नो आगँन चोक तथा गल्लीहरुमा डोरीले तानेर छेकेर नचाहिने ठाउँहरुमा पनि घुमाउने नराम्रो प्रविधिको विकास भएको छ जुन तत्काल बन्द हुनुपर्नेमा झन विकृति बढि रहेको छ । पोहोर साल कराँतेका राष्ट्रिय खेलाडी छोरी डंगोलले आफ्नो भाइको मृत्युको सम्झनामा उपाकु घुम्न जानु भएको, तर घुम्न नसकिएर आधा मात्र घुमेर घर फर्के भनि गुनासो गर्नुभयो ।
जहाँसम्म २१ औ शताव्दीमा महिला र पुरुष भनेर भेदभाव गर्नु राम्रो होइन जस्तो लाग्छ । त्यस्तै पुर्णिमाको पर्सि पल्टको दिनमा श्वेत भैरवमा हाथुहायकेगु कार्यक्रम गरि रक्सी र जाँड श्वेत भैरवको प्रसादको रुपमा पहिला पहिला महिला र पुरुष दुवैले पिउन सकिन्थ्यो । त्यस बेला यो बार यो गते यो तिथिमा पुरुषको पालो, यो बार तथा तिथिमा महिलाको पालो भनेर छुट्याएको थिएन । तर अहिले महिलाको लागि भनेर दिन तोक्ने कार्य गरियो । यो ठीक बेठीक भन्ने कुरा भबिष्यको लागि नै छोड्न कल्याण होला । तर २१ औं शताब्दीमा जात्रामा पनि आरक्षण तथा कोटा महिलाको लागि व्यवस्था गर्नु कतै जात्राको नाममा महिला दिदी बहिनीहरुलाई गिज्याइ रहेको त होइन ? भनि प्रश्न चिन्ह बेलाबेलामा उठ्ने गरेका छन् ।
अहिलेको नयाँ जमानामा महिला पुरुषको अधिकार बराबर छ । यो नेपालको सविधानले दिएको नैसर्गिक अधिकार पनि हो । महिलाहरुले रथ तान्ने तथा श्वेत भैरबमा हाथुहायकेगु बेला महिलाहरुको लागि दिन तोक्नु कति उपयुक्त छ भनि सोध्दा खिचापोखरीका गोविन्द लाल तण्डुकारले भन्नु भयो कि यो आधुनिक जमानामा महिलाको नाममा जात्राको बेला महिलाहरुको निम्ति दिन तोक्नु भनेको जात्रामा पनि आरक्षणको व्यवस्था भएको जस्तो भयो यो सरासर गलत हो भन्नु भयो ।
त्यस्तै यट्खा टोलका नाम बताउन नचाहने एकजना व्यक्तिले भन्नु भयो यँयाः जात्रामा महिलाको लागि रथ तान्न नानीचायायको दिनमा महिलालाई अधिकार दिनु एकदम राम्रो हो । हुन त हाम्रो परम्परा होइन तर समय अनुसार परिर्वतन हुनु पर्दछ त्यो नानीचायायको दिनमा त मेरो श्रीमती टिसर्ट लगाएर ल बुढो आज तिम्रो भात पकाउने दिन म चाँही रथ तान्न जान्छु भनि खुशीले गडगड भएर जानु हुन्छ, राम्रो कामको सुरुवात भएको छ भन्नु भयो ।
त्यस्तै अभियन्ता गणपति लाल श्रेष्ठलाई महिलाहरुको लागि जात्रामा रथ तान्ने र हाथुहायकेगु दिन तोक्न कति उचित छ भनि सोध्दा हाम्रो परम्परागत होइन तर महिला दिदी बहिनीहरुलाई नानीचायाको दिन रथ तान्ने पालो राख्नु राम्रो हो यसलाई परिवर्तन गर्न धेरै गाह्रो हुन्छ भन्नुभयो ।
त्यस्तै पत्रकार प्रेरणा शाक्यलाई सोहि प्रश्न राख्दा उहाँले थोरै विरोध गरेर भन्नु भयो कि म पनि महिला हो तर महिलाहरुले रथ तान्ने भनेको हाम्रो परम्परा रितीरिवाज रहन सहनको विपरीत हो । उहाँले रथ तान्ने बेलाको फोटो हाथुहायकेगु बेलाको महिलाहरुको उटाउलोपनको फोटो आफुसगँ छ तर फोटो भएर पनि त्यो फोटो लुकाएर राख्नु पर्ने अवस्थाको छ भनि गुनासो व्यक्त गर्नु भयो ।
त्यस्तै का.म.न.पा वडा न. २४ का भु.पु वडा सदस्य लक्ष्मी महर्जनलाई महिलाले रथ तान्नु र हाथुहायकेगु बेला जाँड रक्सी खानको लागि क्रमश नानीचायाको दिन र पुर्णिमाको भोलि पल्टको दिन तोक्नु, कति उचित छ भनि प्रश्न राख्दा उहाँले भन्नु भयो कि म पनि एकजना महिला हो तर यो सरासर गलत काम हो, हुन त मलाई पनि एक पल्ट जबरजस्ती रथ तान्न लगाएको र रथमा चढाएको छ तर यसमा मेरो पूर्णबिमती छ यो सरासर हामीहरुले हाम्रो पुर्खालाई गिज्याई रहेको छ भनि भन्नु भयो ।
त्यस्तै श्वेत भैरवका गुठीयार प्रकास ताम्राकारलाई हाथुहायेकेगु दिनमा महिलाको लागि दिन तोकेको बारे कुरा राख्दा उहाँले साहै चित्त दुखाएर भन्नु भयो कि ८ वर्ष भयो जबरजस्ती गरेर महिला दिदी बहिनीको लागि हाथुहायेकेगु दिन प्रसाद खानको नाममा जाँड रक्सी खान आरक्षण तथा कोटा तोके जस्तै दिन तोक्नु भयो जुन सरासर गलत हो भगवानको प्रसाद हो महिला होस या पुरुष सभ्य भएर जसले जहिले खाए पनि हुन्छ । यो हाम्रो परम्परा रीतिरिवाजको ठाडो उल्लंधन हो । अहिले त श्वेत भैरव मन्दिर अगाडी महिलाहरुले छोटा छोटा सर्ट पाइन्ट लगाएर अर्धनग्न भेषमा महिलाहरुले भैरवको प्रसाद खाने नाममा महिलाहरुको बदनाम गर्ने मंच हुन गएको छ भन्नु भयो ।
नानीचायायको दिन महिला समुहद्दारा रथ तान्ने समितिका संयोजक नानीहिरा महर्जनलाई महिला दिदी बहिनीहरुले मात्र नानीचायायका दिन रथ तान्ने बारे कुरा राख्दा यो पहिला देखिको परम्परा होइन २०६९ साल देखि मात्र महिलाहरुलाई रथ तान्न उहाँलाई जिम्मा दिएको त्यहाँ देखि उहाँको नेतृत्वमा रथ तान्ने काम आजको मिति सम्म चलिरहेको साथै सोहि कारणले गर्दा महिलाहरुले रथ तान्न पाएकोले महिला दिदी बहिनी साह्रै खुसी भएको जानकारी दिनुभयो । साथै ९ वर्ष अगाडि रथ तान्ने बेलामा एकजना महिलाको खुटृामा रथको पांग्राले किचेर घाईते भएकोले रथ तान्ने बेला सुरक्षाको व्यवस्था गरि फेरि दुर्घटना नहोस भनी व्यवस्थित रुपमा रथ तान्ने गरेको जानकारी दिनु भयो । तर श्वेतभैरवको हाथुहायकेगुको बेला पुर्णिमाको भोलि पल्ट महिला दिदी बहिनीहरुले प्रसादको नाममा जाँड रक्सी खाने परम्परा सुरु भएको २ वर्ष सम्म हेर्न गएको तर त्यति शोभनिय नदेखेकोले त्यस पछिका दिन देखि आफु हेर्न पनि नगएको भनि जानकारी दिनु भयो ।
कराँतेका राष्ट्रिय खेलाडी छोरी डंगोल, जो व्यक्ति प्रत्यक्ष रुपमा श्वेत भैरवको हाथुहायकेगु तथा कुमारीको रथ तान्नेमा कार्यमा सक्रिय व्यक्तित्व हुनुहुन्छ उहाँले महिलाको लागि हाथुहायेकेगु दिन र रथ तान्नको लागि महिला दिदी बहिनीहरुलाई दिन तोक्नु राम्रो तर श्वेत भैरवको हाथुहायेकेगु दिन केही ट्यापे महिला दिदी बहिनीहरुले जथाभावी लुगा लगाएर उटाउलोपन देखाएर प्रसाद खान आउन्छन त्यसलाई भरपुर रोक्ने काम भईरहेको जानकारी दिनु भयो । साथै रथ तान्ने दिनमा अप्रत्यक्ष रुपमा ज्यापुनी दिदी बहिनीहरुले मात्र तान्नु पर्दछ, अन्य जातका महिला दिदी बहिनीहरुलाई तान्न दिनु हुन्न भन्ने सङ्कुचित अघोषित धारणा छ, यो सरासर भेद्भाव हो । यो जात्रामा सबै जातका महिला दिदी बहिनीहरुले रथ तान्नेमा सहभागी गर्नु पर्छ साथै उहाँले यहि रथ तान्ने कुराको कारणले गर्दा महिलाहरुबिच नै झै झगडा भई हाना हान भएर आफुले सम्हाल्नु परेको थियो भनि जानकारी दिनु भयो ।
यो नयाँ युगमा महिला पुरुष बराबर हो । महिला र पुरुष बिचमा भेद्भाव हुनु भएन हामी नेपाली सभ्य र भलाद्मी पाराले यँयाः जात्रा मनाऔ समय अनुकुल जात्रालाई परिर्वतन गर्नु परे गर्नु पर्दछ, तर तिनका मौलिकता र जीवन्ततालाई मार्नु भएन यँयाः जात्रालाई अझ व्यवस्थित गर्न एउटा छुटै सवै गुठीयारहरु अट्न सक्ने एउटा समिति खडा गरेर सो समितिले मात्र जात्राको समन्वय कर्ताको भुमीकामा मात्र सिमित भई तथा सरकारले पनि अभिभावकको रुपमा भुमिका खेलेको खण्डमा मात्र जात्राको अस्तित्व हुन्छ त्यसैले हाम्रो जात्रा हाम्रो पहिचान हो यसलाई बचाउनु हामी सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध