कुकुर तिहार मनाइँदै
यम पंचककाे दाेश्राे दिन घरघरमा पालिएका कुकुरकाे पूजा गरेर कुकुर पूजा गरी मनाइँदैछ ।
कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।
कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।








