सफल प्रहरीको छवि बनाएका खनाल राजनीतिमा कत्तिको सफल होलान् त ?

प्रहरी सेवामा कार्यरत रहँदा उनी जहिल्यै चर्चाको शिखरमा रहे, चाहे अपराध अनुसन्धान महाशाखा प्रमुख रहँदा होस् अथवा ट्राफिक प्रहरी प्रमुख हुँदा ।

अपराध अनुसन्धान महाशाखा प्रमुखको रुपमा काम गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्नमा उनी सफल नै मानिए । ‘त्यो बेला त डन भनाउँदाहरु सब टाउनको लुकाएरै बस्नुपरेको अवस्था थियो नि’ कत्तिले आज पनि यस्तो भन्ने गर्छन् ।

ट्राफिक प्रहरी प्रमुख रहँदा पनि अव्यवस्थित पार्किङ, अव्यवस्थित बस विसौनी, ट्राफिक जाम लगायतका समस्या न्यूनीकरणमा पनि उनको कामलाई तारीफ गरिएको थियो ।

यति भनिरहँदा तपाईँले नाम अनुमान लगाइसक्नुभयो होला । हो, उनी हुन् पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल ।

नेपाल प्रहरीमा सेवारत रहँदा जहिल्यै चर्चाको शिखरमा रहने खनाल अहिले फेरी एक पटक चर्चामा छन् । नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मदेवारी दिएपछि उनी फेरी एक पटक चर्चाका पात्र बनेका हुन् । नेपाल प्रहरीबाट अवकाश पाएको साढे दुई वर्ष पछि राजनीतिमा प्रवेश गरेका उनी अहिले चुनावी मैदानमा होमिएका छन् ।

केही समय अघि मात्रै नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका खनालले आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि एमालेबाटै काठमाडौं क्षेत्र नम्बर ६ मा उम्मदेवारी दिएका छन् । उनको उम्मेदवारी पछि क्षेत्र नम्बर ६ मा खनालको चर्चा निकै भइरहेको छ । नेपाल प्रहरीमा काम गरेर आएका खनाल किन राजनीतिमा आए ? सुरक्षा क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेका खनालले सांसद भएर के के गर्नेछन् ? यस्तै प्रश्नहरु र जिज्ञासाहरु अहिले उठिरहेका छन् ।

नेपाल प्रहरीमा कार्यरत रहँदा पनि आम सर्वसाधारणसँग नै बस्न रुचाउने खनाल अहिले घरदैलो कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्दै हिँड्न पाउँदा पनि रमाईलो लागिरहेको बताउँछन् । र यस्ता प्रश्नहरुको उत्तर दिँदै आफ्ना योजनाहरु सुनाउँदै खनाल क्षेत्र नम्बर ६ मा सबैको घरघरमा पुगिरहेका छन् ।

जनताको प्रश्नमा खनाल देशको सुरक्षा, विकास र आर्थिक समृद्धिमा योगदान दिन आफु राजनीतिमा आएको बताउँछन् । अवकाश पछिको साढे दुई वर्षसम्म एक आम नागरिकको रुपमा सामाजिक जीवन बिताएको र सो क्रममा देशको लागि केही योगदान दिन राजनीति क्षेत्रमा लाग्नु उचित भएको महसूस आफुलाई भएको उनी बताउँछन् । विशेष गरेर देश र समाजको सुरक्षा, कानून निर्माणमा सक्रिय योगदान दिने उनको भनाई छ । ‘मेरो दक्षता भनेको सुरक्षा क्षेत्रमै हो, देश र समाजको सुरक्षामा मेरो योगदान रहनेछ । साथै सान्दर्भिक कानूनको निरन्तरता र असान्दर्भिक कानून संशोधनमा मेरो विशेष भूमिका रहनेछ’ खनालले सुनाए ।

सुरक्षा व्यवस्था र कानून क्षेत्रमा दख्खल हासिल गरेका खनालले आर्थिक क्षेत्रमा पनि गहिरो सोच बनाएका रहेछन् । अहिले देशको अर्थतन्त्रको अवस्था कमजोर हुनुको कारण के हो भनी अध्ययन गर्नुका साथै यसको समाधानको उपायको बारेमा पनि उनको योजना रहेको छ । देशको अर्थतन्त्रलाई मजबुद बनाउँदै आर्थिक समृद्धिका लागि पनि आफुले सक्दो योगदान दिने उनको भनाई छ ।

देशको अर्थतन्त्रलाई बलियो बनाउन युवाहरुलाई स्वदेशमै रोजगारी पाउने वातावरण बनाउन र युवाहरुलाई स्वरोजगार बनाउन आफुले भूमिका खेल्ने उनको भनाई छ । ‘अहिले विज्ञान र प्रविधिको यूग हो, एक क्लिकबाट नेपाललाई संसारसँग जोड्न सकिन्छ । प्रविधिको सहायताले यहाँका युवाहरुको सीप र दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने मेरो सोच छ’ खनालले आफ्नो योजना सुनाए ।

साथमा स्थानीय श्रोतलाई उत्पादनमा लगेर निर्यातलाई जोड दिने उनको भनाई छ । ‘उद्योगी, व्यवसायीले ढुक्क भएर व्यवसाय संचालन गर्न पाउने वातावरण बनाउनमा पनि मेरो भूमिका रहनेछ । स्थानीय उत्पादनलाई बढावा दिँदै निर्यात बढाउन सकिएमा देशको आर्थिक अवस्थालाई उकास्न सकिन्छ’ खनालले आफ्नो योजना सुनाउँदै गए ।

एमाले पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको अवस्थामा सो घोषणा पत्र मतदातालाई रिझाउनलाई नभई कार्यान्वयन गर्न बनाइएको र पार्टीको घोषणा पत्र कार्यान्वयन गर्नमा पनि आफ्नो भूमिका रहने उनले बताए ।

नेपाल प्रहरीमा रहँदा धेरैको तारीफ कमाएका खनाल अहिले राजनीतिक क्षेत्रमा नेताको रुपमा प्रस्तुत भएका छन् । उनको योजना र परिकल्पनाहरु सुन्दा त देशको विकास र आर्थिक समृद्धिको लागि पनि उनमा दूरदर्शिता रहेको अनुमान लगाउन सकिन्छ । आशा गरौं, खनालले भने जस्तै यी योजनाहरु मतदाता रिझाउनका लागि मात्र नभएर, साँच्चिकैमा राष्ट्र, समाजको उत्थानको लागि नै होस् । आफ्ना योजना कार्यान्वयनमा उनी दृढ संकल्पका साथ लाग्न सकोस्, शुभकामना छ खनाललाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध