वाद्यगुरु कृष्णभाइ महर्जनको सालिक अनावरण
काठमाडौंको तःननि टोलमा नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व वाद्यगुरु स्व. कृष्णभाइ महर्जनको सालिक अनावरण गरिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सालिकमा छोपिएको कपडा हटाउँदै नेपालको सांस्कृतिक सम्पदा जगेर्ना गर्न टोलमा मात्र सीमित नभई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बाजाको प्रचार र प्रदर्शनी गर्नुभएका मूर्धन्य व्यक्तित्व कृष्णभाइ महर्जनको सालिक अनावरण गर्न पाउँदा आफू पनि सौभाग्यशाली भएको अनुभूति भएको बताउनु भयो ।
ज्यापु महागुथि नेपाःका केन्द्रीय अध्यक्ष लोककवि राजभाइ जकःमिले वाद्यगुरु स्व. कृष्णभाइ महर्जनको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै कविता सुनाउनु भएको कार्यक्रममा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, ज्यापु महागुथि नेपाः येँ महानगर समितिका अध्यक्ष पंचनारायण महर्जन, येँ महानगरपालिका १२ वडाका वडाध्यक्ष लगायतको विशेष उपस्थिति रहेको थियो ।
धर्मचक्र तःननि खलःको आयोजनामा भएको कार्यक्रम खलःका अध्यक्ष तीर्थनारायण महर्जनको सभापतित्वमा भएको थियो ।










