वंघः दबलीका जीवन्त साक्षी गुरु इन्द्र महर्जन

“मखन गल्लीमा मामाघर, सानैदेखि आफु हिँडेर जान सक्ने भएपछि सँधै किलागल टोलबाट भेडासिङ्ग हुँदै वंघः (इन्द्रचोक) भएर गल्लीबाट मखन गल्ली मामाघर गइन्थ्यो । त्यो मामाघर जाने बेलामा सँधै त्यो दबली हेरेर जाने तथा उक्त दबलीको तीन तिरबाट कर्कटले बुनेको ढोकाको रुपमा पर्दा रहेको हुन्थ्यो । दीनभरी सतलमा पसल खोल्ने राती त्यहि कर्कटको पर्दा लगाएर बन्द गर्दथ्यो । कुनै चोरको डर हुँदैन त्यहि सतलको अगाडी दबली थियो । उक्त दबलीमा दी प्याखं (देवी नाचको नाच प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट नचाउँदथ्यो । सो नाच हेर्न मामाघरकी बज्यैसँग जाने गर्दथेँ । इन्द्रचोक (वंघः) भएर मखन जाने गल्ली अहिलेसम्म पनि छ जुन प्रचलनमा आउँन चाहिँ छोडि सक्यो तर गल्ली अझै पनि छ । न्यूरोडको बाटो खोल्ने नाममा मामाहरुको उठीबास भयो । त्यो ऐतिहासिक दबली जुन दबलीमा लिच्छिविकालीन नाच दी प्याखं (देवी नाच) नचाउने गर्दथ्यो, रहेन । ७ वटा दबली मध्येको यो पनि एउटा दबली थियो । तर दुर्भाग्य आज त्यो दबलीको अस्तित्व मेटियो, न्यूरोड बाटो बनाउने नाममा । जुद्ध शम्शेरले बाटोको त विकाश गर्यो तर सम्पदा नासियो । अब त्यो सम्पदा फोटोमा सिमित हुन गएको छ, त्यो दुःखको घाउ कहाँ गएर मलम लगाउने कहाँ गएर निको पार्ने हो मलाई थाहा भएन ।”

यो भनाइ इन्द्रचोक (वंघः) दबलीका सायद नेपालको जिउँदो नजिकको साक्षीको हो । देवी नाच तथा विविध नाचका गुरु श्री इन्द्र महर्जनज्यूको हो । उहाँको जन्म १९९० साल भाद्र महिनामा बुबा स्व. नारायण महर्जन र आमा स्व. चिनीमाया महर्जनको कोखबाट किलागल टोलमा जन्मिनु भएको थियो ।
उहाँलाई दबलीको ऐतिहासिक पाटो तथा त्यहाँका समस्याबारे विविध पक्षमा छलफल गर्दा देवीनाचको नाच जहाँ दबली हुन्छ त्यहाँ मात्र नचाउने नाच हो जुन दवलीको पछाडी सतल हुन्थ्यो तर अहिले आएर दवली मात्र बाँकि छ । एउटा इन्द्रचोकेका दबली बाहेक अरु ठाउँको सतल व्यक्तिहरुले उपभोग गरेर जात्राको लागि १ दिनको लागि पनि छोड्न चाहेको छैन – उहाँ गुरु इन्द्र महर्जनले बताउनु भयो ।

उहाँले यो इन्द्रचोकको दबली बनाउनु पर्यो भनि विभिन्न समयमा विभिन्न पदका व्यक्तिहरुलाई दबलीको लागि हार गुहार गरे । तर सबैले मौखिक आश्वासन दिने बाहेक अरु केही प्रगति हुन सकेन । जब इन्द्रजात्रा पर्व शुरु हुन्छ इन्द्रचोकमा नचाउन प¥यो कि ज्यानलाई हत्केलामा राखेर नचाउनु पर्ने अवस्था आउँदछ । किनकि बाटोमा आएर नाच देखाउन आयो भनि बाटोमा हिड्ने बटुवाले पनि गुनासो गरेर जाने तथा गाडी गुडाउने मान्छेले बाटोमा नाच देखायो भनि गाडीले पेलेर लान खोज्ने तर दबली नभएकोले कहिले काहिँ उटाउलो यूवाहरुले कुमारीको रथ पनि तानेर ल्याउने जस्ता काम हुन्थ्यो तर वागमती प्रदेशका युवा सांसद श्री विराजभक्त श्रेष्ठज्यू लगायतको पहलकदमि तथा प्रदेशको बजेटबाट दबली जस्तै नबनाए पनि बाटोलाई दबलीको रुप दिन खोजिएकोमा गुरु इन्द्र महर्जनज्यूले धेरै धेरै धन्यवाद छ भन्नु भयो ।

उहाँले दबली भनेको जमीनबाट झण्डै २ फिट जति माथि हुनुपर्ने जसले गर्दा कुमारी तानेर ल्याए पनि समस्या नपर्ने तथा गाडीहरु तथा बतुवाहरु पनि वारपार गर्न सक्ने हुन्थ्यो तर के गर्ने समय बलवान रहेछ, त्यो नेपालको व्यस्त सडक मध्येको एउटा सडक हो । उक्त ठाउँमा वर्षको १ दिन पुरा बाटो बन्द गरेर २ फिटको अस्थाइ दबली एउटा व्यवस्था गर्न पाएको भए सुनमा सुगन्ध हुने थियो भनि उहाँले आफ्नो भनाइ राख्नुभयो ।
अन्तमा उहाँले देवी नाचको छोटो परिचय दिँदै लिच्छिविकालीन यो नाचमा ७ जना देवदेवी, ७ थरीको बाजा, ७ थरीको ताल, ७ वटा दबलीमा करिब ७ घण्टा मखमलको फूलको वासना छरी नचाउने यो नाचका ७ वटा दबली मध्येको एउटा इन्द्रचोकमा दबलीको अस्तित्व नभएर पिडा दुःख भएको बेला फेरी लुप्त भइसकेको ‘इन्द्रचोक’को दबलीलाई पुरी सकेको भएपनि बाटोमा दबलीको रुप दिएर ढुङ्गा बिछ्याएर दबलीको रुप दिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ संस्थालाई गुरु इन्द्र महर्जनज्यूले धन्यवाद ज्ञापन गर्नुुभयो ।








