चक्रमान डंगोलको वार्षिकीमा आँखा शिविर सम्पन्न
समाजसेवी चक्रमान डंगोलको सातौं वार्षिकीका अवसरमा उहाँको सम्झना गर्दै विभिन्न संस्थाहरुको आयोजनामा निःशुल्क आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नारायण परिवार क्लब, चक्रमान डंगोल स्मृति प्रतिष्ठान नेपाल र किवानिज इन्टरनेशनल नेपाल शाखाका विविध क्लबको संयुक्त आयोजनामा भएको शो शिविरको उद्घाटन कामपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त सभामा नारायण परिवार क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यले स्व. चक्रमान डंगोलले सामाजिक सेवाका क्षेत्रमा पु¥याउनु भएको योगदानको विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले चक्रमान डंगोलले आफ्नो जीवनमा ‘गिभिङ इज लिभिङ’ भन्ने धारणालाई सदैव अंगीकार गर्दै आएको र कहिल्यै नकरात्मक जवाफ नदिने सामाजिक व्यक्तित्व रहेको उल्लेख गर्नुभयो ।

यसैगरी किवानिज इन्टरनेशनल रिलेशन अफिसर कृष्णज्योति शाक्यले डंगोलले ज्यापु समुदायकै क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनु भयो । उहाँले किवानिजले १०७ वर्ष अगाडिदेखि बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको जानकारी गराउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बालकृष्ण महर्जनले काठमाडौं महानगरपालिका १२ वडाका पूर्व अध्यक्ष चक्रमान डंगोललाई सम्झिनु निकै सराहनीय कार्य भएको बताउँदै उहाँको समयमा काठमाडौंको फोहर व्यवस्थापनमा खेल्नु भएको भूमिका स्मरण गराउनु भयो ।
सदस्य सचिव सन्तकुमार महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

स्व. डंगोललाई श्रद्धाञ्जली अर्पण गरी थालिएको शिविरमा करिव ३५० जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । शिविरका लागि किवानिज इन्टरनेशनल अमेरिका शाखाबाट निःशुल्क चश्मा वितरणका लागि सहयोग गरिएको थियो ।








