नेपालभाषाका पाँच मूर्धन्य व्यक्तित्वको सालिक अनावरण

नेपाल भाषा र साहित्य पुनःजागरणकालका  चारस्तम्भ (प्यंगः थां)का रुपमा लिइएका व्यक्तित्वहरू पं. निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास महाजु, याेगवीर सिंह कसाः र मा. जगतसुन्दर मल्लसहित भाषा निभाः प्रेमबहादुर कसाःको शालिक शनिबार अनावरण गरियो ।

नासः दबू जीर्णोद्धार समितिले आयोजना गरेको एक समारोहकाबीच जनकवि दुर्गालाल श्रेष्ठले महाकवि सिद्धिदास महाजु, पूर्व उपप्रधानमन्त्री प्रकाशनमान सिंहले गद्यगुरु एवं पण्डित निष्ठानन्द बज्राचार्य, वाग्मती प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री वसन्त मानन्धरले योगवीरसिंह कंसाकार, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले मास्टर जगतसुन्दर मल्ल र पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले भाषा निभा प्रेमबहादुर कसाःको सालिकको अनावरण गरेका थिए ।

वाग्मती प्रदेश सरकारको सहयोगमा काठमाडौं महानगरपालिका– २५ स्थित जनबहाल, केलटोलको नासः डबलीको चार वटै कुना र बीचमा ति शालिकहरु राखिएको छ। सो सालिक वरिष्ठ मूर्तिकार स्वर्गीय बालकृष्ण तुलाधरका छोरा एवं मूर्तिकार महेश तुलाधरले बनाउनुभएको थियो।सो कार्यको परिकल्पनाकार पूर्व वडाध्यक्ष शाक्य हुनुहुन्छ ।

समारोहमा पूर्व उपप्रधानमन्त्री सिंहले नेपाल भाषा साहित्यका पाँच अग्रजको शालिक निर्माणले राणाकालमा भाषा, साहित्य उत्थानमा उहाँहरुले गर्नुभएको उच्चकोटीको योगदान नयाँपिढीलाई सम्झिरहने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा वाग्मती प्रदेशका मन्त्री मानन्धरले नेपाल भाषा साहित्यका मूर्धन्य व्यक्तित्वको सालिक काठमाडौंको केन्द्रमा राख्न पाउँदा गौरवको अनुभव भएको बताउनुभयो। नेपाल भाषा साहित्यका अतुलनीय योगदान गर्नुभएका ती व्यक्तिहरुको जीवनी, योगदान, कृतित्वबारे जानकारी लिन यसै स्थानमा टिओआर कोट बनाएर यहाँराख्नुपर्ने र त्यसका लागि वाग्मती प्रदेशले यथोचित सहयोग गर्ने पनि मन्त्री मानन्धरले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा जनकवि श्रेष्ठले नेपालका भाषा र साहित्यका पाँच महान आत्माको शालिक निर्माण त्यस्तो वृक्षरोपण सरह हो, जुन वृक्ष बढ्दै गएपछि नेपाल भाषा, साहित्य र नेवाः जातिको उन्मुक्तिको फल पाक्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर शाक्यले आफू मेयर हुँदा ‘ येँ देय् म्हसिके ’ (काठमाडौं चिनौं) पाठयक्रम बनाई शिक्षक समेत व्यवस्था गरेर काठमाडौंका निजी र सार्वजनिक विद्यालयको कक्षा १ देखि ८ सम्म पढाउन शुरुआत गरेको उल्लेख गर्दै त्यसलाई अझ व्यवस्थित र मजुबत बनाउदै लानुपर्ने खाँचो औल्याउनुभयो । आफू स्वंय पनि भाषिक, सांस्कृतिक आन्दोलनको धारा र परिवेशबाटै हुर्किएको जनाउँदै पूर्वमेयर शाक्यले भन्नुभयो ‘ मेयर हुँदा सबैको सहयोगले नेपाल भाषाको संरक्षण गर्दै तिनका माध्यमबाट काठमाडौंको सभ्यता, भूमि, संस्कृति, इतिहास, ऐतिहासिक योगदान पु¥याएका व्यक्तित्वको कृतित्व लाई चिनाउने उद्देश्यले पाठयक्रम तयार गरी पढाउने जग बसालेको छु। अब त्यसको दीगोपना र निरन्तरता हाम्रो मुख्य सरोकार रहनुपर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध