युवालाई यहीँ रोजगारको अवसर सृजना गर्ने छौं ः उपप्रमुख सुनिता डंगोल
जसरी काठमाडौं महानगरबासीहरुले मलाई अत्यधिक मत दिएर विजयी गराउनु भएको छ । यो मतलाई मैले उत्सव भन्दा पनि जिम्मेवारीका रुपमा लिएकी छु । यो पाँच वर्षको कार्यकाल काठमाडौं महानगरबासीहरुका साथै देशैभरबाट काठमाडौंमा आएर बसोबास गर्ने नेपालीहरुको चाहना बमोजिम विकास, निर्माण र काठमाडौंलाई राजधानी शहरको रुपमा विकास गर्नुछ । यसका साथै काठमाडौंलाई सांस्कृतिक शहरका रुपमा विकसित गर्ने योजना सहित अबको ५ वर्ष जिम्मेवारीवहन गर्दै कर्तव्यनिष्ठ भएर इमान्दारिताका साथ असल जनप्रतिनिधिको रुपमा कार्यभार दिनुभएको छ भन्ने मलाई लागेको छ ।
विशेष गरी हामी निर्वाचन अभियानमा लाग्दाखेरी नै प्रतिबद्धताबाट हामीले यो यो काम गर्छौं भनेर भनेका छौं । ती कुराहरुलाई नै प्राथमिकतामा राखेर बजेट निर्माणका लागि योजनाहरु बनाउँदैछौं । बजेट निर्माणको लागि अत्यन्त छोटो समय छ । आगामी वर्ष हामी कसरी अगाडि बढ्ने भन्ने कुरा पनि बजेटले प्रष्ट्याउनेछ । बजेटमा काठमाडौं महानगरपालिकाको आधारभूत आवश्यकतालाई पूरा गर्दै महानगरबासीको जनजीवनलाई कसरी सरल बनाउने भन्ने कुरामा ध्यान दिएका छौं ।
काठमाडौं महानगरको बजेटमा विशेष जोड नै फोहरमैला व्यवस्थापनमा रहेको छ । फोहरमैलाको दीर्घकालीन व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराका लागि हामी अगाडि बढीसकेका छौं । यो भन्दा अगाडिका जनप्रतिनिधिहरुले पनि थुप्रै कामहरु गरेर जानुभएको छ । अन्तिम चरणमा पुगेका कामहरु पनि छन्, जसलाई पनि हामीले अगाडि बढाउने छौं । काठमाडौं महानगरले एउटा मात्र क्षेत्र हेरेर पुग्दैन, हरेक क्षेत्रको समग्र विकास गर्नु आवश्यक छ । सोही अनुरुप शिक्षाका लागि विभिन्न योजनाहरु हामीले तयार गर्दैछौं । स्वास्थ्यका लागि वडास्तरमै गएर सेवा सुविधा लिन सकिने व्यवस्था गर्नेछौं । बजेटसँगै राजश्वको कुरा पनि रहेको छ । बजेट निर्माण गर्दा केन्द्रबाट मात्र निर्माण गर्नु भन्दा पनि वडास्तरमा त्यहाँका आवश्यकताहरु केके छन् भन्ने बुझेर त्यहाँबाट आएको सुझाव अनुसार बजेट निर्माण गर्नेछौं । यसका लागि वडास्तरबाट योजनाहरु संकलन गर्ने कार्य अगाडि बढाइ सकेका छौं ।
भौतिक निर्माणका सम्बन्धमा कुरा गर्नुपर्दा थुप्रै कामहरु गर्न बाँकि रहेका छन् । भइरहेकाहरु निर्माणका कार्यहरु सुचारु रुपमा संचालन गर्ने नै छौं । आगामी वर्षमा गरिने भौतिक निर्माण सम्बन्धी कार्यहरुको लागि भने केही समय अझै पर्खनु उपयुक्त हुनेछ ।
काठमाडौं महानगरपालिका विशिष्ट छ । यस अर्थमा यो सांस्कृतिक नगरी हो । यहाँको कला, संस्कृति, संस्कार विशिष्ट छ । देशमा मात्र होइन, विदेशमा पनि प्रख्यात रहेको छ । यहाँको सांस्कृतिक विकासको कुरा गरिरहँदा हामीले यहाँ भएका मूर्त अमूर्त सम्पदाहरुलाई सम्वद्र्धन गर्ने, प्रवद्र्धन गर्ने, नयाँ पुस्तालाई पनि यसका महत्वहरु बुझाउने काम गर्ने कार्यक्रमहरु पनि रहेका छन् ।
नेपालभाषाको सन्दर्भमा कुरा गर्ने हो भने पहिले निर्णय भइसकेका र कानुनी आधारहरु भएका कुराहरुलाई हामीले पक्कै पनि निरन्तरता दिने नै छौं । यसको साथै विद्यालयहरुमा स्थानीय विषय स्थानीय भाषामा पढाउने कामको थालनी पनि भइसकेको छ । काठमाडौंको स्थानीय भाषा भनेको नेपालभाषा हो । यस अर्थमा काठमाडौंमा पढ्ने हरेक विद्यार्थी चाहे नेवार होस् वा गैरनेवार होस् एउटा विषय नेपालभाषामा पढ्ने मौकाको रुपमा हामीले लिएका छौं । यो कुरालाई निरन्तरता दिने पक्षमा नै छौं । यसलाई अझ प्रभावकारी रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा हामीले विभिन्न विभागसँग छलफल तथा विचारविमर्श गरिसकेका छौं । भइरहेका कामहरुलाई निरन्तरता दिने पक्षमा नै छौं ।
लिपिको सन्दर्भमा कुरा गर्दा सबैभन्दा पहिला हामीले कुनै पनि अक्षर वा भाषा सिकाउनका लागि बालबालिकालाई सिकाउनु आवश्यक छ । आजका बालबालिकालाई सिकायौं पढायौं भने त्यो अर्को ५० वर्ष ७० वर्षका लागि कायम हुन्छ । यसैले हरेक कुरालाई दीर्घकालीन रुपमा संवद्र्धन प्रवद्र्धन गर्ने हो भने बालबालिकालाई सिकाउनु पर्छ भन्ने कुरामा म विश्वास गर्छु । स्थानीय भाषामा स्थानीय पाठ्यक्रम भन्ने कार्यक्रमबाट स्थानीय लिपि पनि स्कूलका विद्यार्थीहरुलाई सिकाउने भन्ने लक्ष्य लिएको छ, पहिले पनि पाठ्यक्रममा समावेश भइसकेको छ, यसलाई पनि हामी निरन्तरता दिने छौं ।
काठमाडौं महानगरपालिकामा मात्र ९० वटा सामूदायिक विद्यालयहरु रहेका छन् । ती सामुदायिक विद्यालयहरुको स्तरोन्नति हाम्रो पहिलो प्राथमिकता हुनेछ । शिक्षालाई जुन वर्गीय दृष्टिकोणबाट हेरिने गरिएको छ, त्यसलाई हामी निर्मूल बनाउने प्रयास गर्ने नै छौं । विशेष गरी सामुदायिक विद्यालयको स्तरोन्नति र त्यहाँ अब प्रतिस्पर्धात्मक रुपमा पढ्न जानु पर्छ भनेर पनि लिउन् भन्ने पनि इच्छा रहेको छ । सोही अनुरुप विभिन्न कार्यक्रमहरु हामी पक्कै पनि ल्याउने छौं । स्तरोन्नति र गुणस्तरीय शिक्षा नै हाम्रो पहिलो प्राथमिकता हुनेछ ।
युवाहरुलाई अब देशमै बस्ने वातावरण बनाउने तर्फ हामी लाग्नेछौं । काठमाडौं महानगरपालिकामा पनि थुप्रै युवाहरु विदेशिने क्रम धेरै अगाडि देखिको क्रम हो । अझै पनि जाँदैछन्, त्यो कुरालाई हामीले रोक्नु पर्छ । विशेष गरी युवा सशक्तता र युवा रोजगारीलाई ध्यानमा राखेर हामीले कार्यक्रमहरु ल्याउने छौं । युवा सशक्तिकरण गराउनु आवश्यक छ । सशक्तिकरण भन्नासाथै त्यहाँ आर्थिक पक्ष जोडिएको हुन्छ । हामी चाहे जतिसुकै सशक्त छौं, जानकार छौं भनेता पनि जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौं तबसम्म त्यो सशक्त भन्ने कुरा त्यति सत्य हुँदैन । त्यसका लागि पनि फेरि रोजगारीसँग नै जोडिन आउँछ । युवाहरुलाई रोजगार दिने रुपमा हामी अगाडि बढेका छौं । अब युवाहरु विदेश जानु भन्दा पनि काठमाडौंमा नै छ है अवसर भन्ने धारणा कसरी तय गर्न सकिन्छ भन्ने कुरामा हामीले कार्य गरिरहेका छौं । यससँग सम्बन्धित कार्यक्रमहरु हामी बजेटसँगै सार्वजनिक गर्नेछौं ।
जसरी यहाँहरु सबैले मिलेर माया गरेर हामीलाई निर्वाचित गर्नुभएको छ, यहाँहरुको विश्वासलाई हामीले काँधमा बोकेर हिँडिरहेका छौं । त्यो विश्वास पूरा गर्नका लागि यहाँहरुको साथ सहयोग आगामी दिनमा पनि निरन्तर पाउने छौं भन्ने अपेक्षा गरेका छौं । काठमाडौं महानगरको विकास र यहाँको संस्कृति सम्पदाको प्रवद्र्धनका लागि हामीले कार्य गर्ने नै छौं । यस्तै कहिँ हामीले भूलचुक गर्न लाग्यौं भने तपाईंहरुले सचेत पनि गराउनु होला । सचेत नागरिकको भूमिका तपाईंहरुले पनि निर्वाह गर्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । यहाँहरु सबैलाई हार्दिक धन्यवाद छ । काठमाडौं महानगरपालिका एक व्यक्तिले बनाउने होइन, हामी सबै जना मिलेर बनाउनु पर्छ, यहाँहरुको पनि साथ सहयोग आवश्यक छ ।
(काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित मेयर सुनिता डंगोलसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सार ।)








