आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम नजाेड्न फाेनिजकाे सुझाव
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिकाे जेठ १७ गते सम्पन्न सचिवालय बैठकले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम जोड्न नहुने जनाएकाे छ ।
फाेनिजकाे सचिवालय बैठकले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन्’ भन्ने तथ्यलाई नजरअन्दाज गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममार्फत ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ गठन गर्ने नीति अघि सारेर गलत तथ्यका आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोजेको प्रति घोर निन्दा तथा विरोध गरेकाे छ ।
साे बैठकले पहिलो चरणमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन भन्ने तथ्यबारे संस्थागत सदस्य संस्थाहरुसँग छलफल गरी आवश्यक कदम चाल्ने, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम जोड्न नुहेन, यदि नाम जोड्ने नै भए संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाम हुनुपर्ने माग राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेकाे छ ।
साथै पत्रकार महासंघको संस्थापक अध्यक्ष र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनबारे सरोकार राख्ने पत्रकारजन्य संघ संस्थाहरुसँग अन्तरकृया गर्नुका साथै प्रस्तुत तीन काम गरेपछि थप छलफल गरेर फोनिका सम्पूर्ण संरचनाहरुमार्फत प्रस्तुत विषयलाई वृहत छलफलको विषय बनाउने निर्णय गरिएकाे महासचिव मिलन लिम्बुले जनाएका छन्।
फाेनिजका अध्यक्ष गजुरधन राइकाे अध्यक्षतामा बसेकाे बैठकले ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन्’ भन्ने थप तथ्य–प्रमाण जुटाएर समग्र फोनिजको धारणा बन्नेगरी ‘विशेष रिपोर्ट’ तयार पार्न वरिष्ठ उपाध्यक्ष लक्की चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको पनि जानकारी प्राप्त भएकाे छ ।








