फुटपाथ पसल र अव्यवस्थित पार्किङको व्यवस्थापन गर्नेछु ः विनोद राजभण्डारी
विनाेद कुमार राजभण्डारी
(नवनिर्वाचित वडा अध्यक्ष काठमाडाैं महानगरपालिका २४ वडा)
मेरो जित भनेकै सम्पूर्ण २४ वडाबासिको जित हो । अझ भन्नु पर्दा मैले युवाको प्रतिनिधित्व गरिरहेको छु । यसैले यो युवाहरुको पनि जीत हो । अब हामीले काम गरेर देखाउने समय आएको छ ।
विशेष गरेर २४ वडा विश्वसम्पदा क्षेत्रमा परेको हनुमान ढोका क्षेत्रदेखि लिएर ऐतिहासिक ताहाननि जस्तो धरोहर पनि यहि वडामा छ । त्यस्तै विशाल वजार जस्तो न्यूरोड जस्तो व्यापारिक केन्द्र पनि यहि वडामा परेको भएर हामीले योजना बनाइ काम गर्नुपर्ने देखिन्छ ।
विकास निर्माणको काम संघीय सरकार र प्रदेश सरकारबाट भइरहेको नै छ, हामीले विकास निर्माण भन्दा पनि बढी व्यवस्थापन तिर ध्यान दिन जरुरी छ । यहाँको समस्या भनेका विश्व सम्पदा क्षेत्रमा रहेको अव्यवस्थित केवल तार, फुटपाथ, पार्किङ व्यवस्थापन पनि हो जसमा स्थानियलाई प्राथमिकता दिएर यसलाई व्यवस्थापन गर्ने तिर लाग्नेछौ । म वडा अध्यक्षको कुर्सिमा बसेदेखि व्यवस्थापनमा नै लाग्नेछु ।
फुटपाथ पसलहरुको व्यवस्थापन गर्नुपर्ने तड्कारो रुपमा देखिएको छ । कुनै कुनै स्थानीय मानिसले पनि स्वरोजगारका रुपमा फुटपाथ व्यवसाय अंगालेको देखिन्छ । मैले पदभार सम्हालेपछि जुद्धसालिकदेखि इन्द्रचोक र मखनसम्म फुटपाथ व्यवस्थापनमा विशेष प्राथमिकता दिनेछु ।
पार्किङ्गको लागि त यहाँ धेरै नै समस्या रहेको छ । विशेष गरेर व्यापारिक वडा भएका कारणले पनि पार्किङमा समस्या नै रहेको छ । तैपनि सम्बन्धित सरोकारवालाहरुसँग मिलेर यसको समाधान गर्न पहल गर्नेछु । हामीसँग अरु वडामा जस्तो सार्वजनिक स्थलहरुको पनि अभाव रहेको छ । अरु वडाहरुमा जस्तो खोला तिरमा लिंकरोडहरु पनि हामीकहाँ छैन । यसैले सम्बन्धित ब्यापारिक कम्प्लेक्स, स्थानीय बासिन्दा र सरोकारवालाहरुसँग बृहत्तर छलफल गरेर यसको समाधानका लागि पहल गर्नेछु ।
मेरो कार्यकालमा मैले केही देखिने गरी कार्य गरेर देखाउनेछु । हामीले धेरै पूर्व कार्यकालहरु देखि सकेका छौं । मैले चुनावको समयमा कुनै पनि प्रतिबद्धता पत्र तथा अपिल भनेर निकालेको छैन । मलाई अन्य मानिसहरुले तपाईंको प्रतिबद्धता के छ भनेर सोधेका थिए । हामी अरुले जस्तो ठूल ठूला कुरा गर्ने होइन, काम गरेर देखाउने हो, अरु गफ गर्छन् हामी काम गरेर देखाउने हो । पाँच वर्षपछि वडाबासीहरुले अनुभुत गर्नेछन् कि मेरो कार्यकालमा के काम भयो भन्ने ।
कामपा २४ वडा मूर्त–अमूर्त सम्पदाहरु धेरै भएको ठाउँ हो । व्यक्तिगतरुपमा भन्नुपर्दा गुठी विधेयक विरुद्धको आन्दोलनमा म पनि खुलेरै लागेको व्यक्ति हुँ । मेरो टीमबाट मूर्त अमूर्त सम्पदाहरुको संरक्षणका लागि पूर्णरुपमा सहयोग रहनेछ । हामी यसमा विशेष प्राथमिकताका साथ लाग्नेछौं, लाग्नै पर्छ भन्ने हाम्रो विश्वास रहेको छ ।
शिक्षा क्षेत्रको कुरा गर्दा विडम्वना नै भन्नुपर्छ यस भन्दा अगाडिका जनप्रतिनिधिहरुले स्कूल एउटा बचाउँदै बचाउनु भएन । हाम्रो वडामा प्राइमरी लेभलको समेत विद्यालय नभएको अवस्था छ । यहाँ भएका पूर्व विद्यालयहरु केशचन्द्र र तारिणी स्कूललाई श्रीकृष्ण मा.वि.मा गाभिएको छ । यसैगरी कन्या स्कूल अरुणोदयमा र कान्ति स्कूल शान्ति निकुञ्जमा गाभिएको छ । यी स्कूलको संचालक समितिमा जनप्रतिनिधिहरु पनि थिए । तर उहाँहरुले किन स्कूल बचाउन चाहनु भएन यो थाहा हुन सकेन ।
कोरोना महामारीको भ्याक्सिन क्याम्प हुँदा वडा वडामा विद्यालयमा भ्याक्सिन दिने भनियो । तर विडम्वना हाम्रो वडामा विद्यालय नै नहुँदा २० वडासँग सहकार्य गरेर शान्ति निकुञ्जमा भ्याक्सिन दिने कार्य भयो ।
२०४९ सालमा तत्कालीन काठमाडौं महानगरका मेयर पि.एल. सिंहको पालोमा नै प्रत्येक वडामा सामुदायिक स्वास्थ्य क्लिनिक आवश्यक छ भन्ने कुरालाई मनन गरेर वडा वडामा स्वास्थ्य क्लिनिकहरु सञ्चालन भएको थियो । अहिले पनि २३ २४ वटा वडामा यो संचालन भइहेको छ । महानगरसँग सहकार्य गरेर यसलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने मेरो योजना रहेको छ ।
कान्ति र कन्या स्कूल भत्काउन सुरु गरेकै समयमा मैले वडा र महानगरपालिकासँग पटक पटक सम्पर्क गर्दा सो ठाउँको प्रयोगका सम्बन्धमा स्पष्ट भिजन भएको पाउन सकेको छैन । कसैलाई यस बारेमा सोध्दा हामीलाई यसको बारेमा थाहा छैन भन्ने जवाफ पनि पायौं । मैले सुनेसम्म सो स्थानमा पार्क बनाउने भन्ने कुरा छ । मैले सो स्थानको प्रयोग गरेर सानो क्लिनिक वा हर्ट क्लिनिक संचालन गर्ने हो कि भन्ने सोच रहेको छ ।
निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि म नेपाली काँग्रेसको उम्मेदवार थिए । अब मत परिणाम घोषणा भइसकेपछि म समग्र २४ वडाबासीकै जनप्रतिनिधि हुँ । मैले कुनै पनि व्यक्तिप्रति दलीय पूर्वाग्रहबाट मुक्त भएर सेवाभावबाटै सबैलाई सेवा दिनेछु ।
अन्तमा मेरा विचार राख्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै मलाई आफ्नो अमूल्य मत दिएर यहाँ पु¥याउनु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।








