अहम्ले कहिल्यै कसैको हीत गर्दैन ः राजकुमार नकर्मी

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसबाट राजकुमार नकर्मी अत्यधिक मत प्राप्त गरी मेयर पदमा निर्वाचित हुनु भएको छ । उहाँ मेयरमा निर्वाचित भएपछि कीर्तिपुरको विकास तथा नगरबासीहरुको सुविधाका लागि के कस्ता योजनाहरु रहेका छन् भन्ने सन्दर्भमा मेरो साप्ताहिकका लागि रत्नकाजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंले आफ्नो जीतलाई कसरी लिनु भएको छ ?
मेरो जीत भनेको कीर्तिपुरका परिवर्तनकारी जनताहरुको जित हो जस्तो लाग्छ । कीर्तिपुरेहरुले यसपालि जनमत दिइ १० वटा वडा मध्ये ९ वटा वडामा जिताइ अब कीर्तिपुरेहरुले यहाँ परिवर्तन चाहेको कुरा देखाएको छ । म यसलाई सकारात्मक ढंगबाट लिँदै कीर्तिपुर जहिले पनि परिवर्तनका लागि लड्ने क्रान्तिकारी थलो हो । कीर्तिपुर भित्र पुरातन धारणा भएकाहरु परिवर्तन भएको मैले देखेँ । यो अहिले सुन्दै आएको जस्तो कसैको गढ होइन । पहिला बामपन्थिहरुको अलि वर्चस्व भएको मात्र हो । मैले अघि पनि भने यहाँ पुरातन विचार धाराका मान्छेहरुले गाँस बास र कपासको लागि मात्र बाचेको जनता छ जस्तो पनि देखाए । तर अहिले कीर्तिपुरका जनताहरु विभिन्न विधामा विज्ञ छन् भने धेरै ठाउँमा योगदान दिएका प्रभुत्व व्यक्तिहरु अहिले कीर्तिपुरमा प्रसस्त छ । विशेष गरि युवा जमातहरु जो विश्वको विकाससित परिचित छ, जो नयाँ सोचसित नजिक छ । तिनै युवाहरुले मतदान परिवर्तनमा योगदान दिएको छ । हाम्रो वर्चश्व छ भन्ने विषयमा मात्र सिमित रहन् चाहेन कीर्तिपुर । कीर्तिपुर विकासको क्षेत्रमा विश्वसित एकाकार भएर अगाडि बढ्न चाहेको कुरा हामीले पाएका छौं । अहिलेको कीर्तिपुरका मतदाता परिर्वतन भएको छ । लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था, संघीयतामा विश्वास राख्ने जनताहरुको बाहुल्यता रहेको ठाउँ भएकोले अहिले परिवर्तन भएको छ ।
कीर्तिपुर नेपालकै शैक्षिक केन्द्रको रुपमा रहेको छ । कीर्तिपुर र त्रिवि बीच कसरी समन्वय गर्नुहुन्छ ?
कीर्तिपुर र त्रिभुवन विश्वविद्यालयबीच सौहार्दपूर्ण बातावरण छैन । तर जे जसो भएता पनि विश्वविद्यालयको कारणले कीर्तिपुरको नाम विश्वभर चलेको छ । अर्को कुरा विचार गर्ने मान्छेहरु पनि छ, विश्वविद्यालयले गर्दा कीर्तिपुर विकासमा पछि परेको भन्ने विश्वास गर्नेहरु पनि छन् । विश्वविद्यालयले कीर्तिपुरलाई धेरै सहयोग पनि गरेको छ विकासमा पनि अवरोध गरेको छ । जसलाई हामीले अव विश्वविद्यालयसित छलफल गरि समस्या समाधान गर्ने पाटोमा पनि लाने छौं र कीर्तिपुरलाई शिक्षाको क्षेत्रमा राम्रो शहरको रुपमा लिने गरेको छ । हाम्रै कीर्तिपुरमा थुप्रै प्राध्यापक डाक्टरहरु छन् । यो सानोठाउँमा यसरी विकास हुनु भनेको विश्वविद्यालयको कारण पनि हो । अब शिक्षा क्षेत्रमा यहाँका प्राज्ञहरुलाई जिम्मेवारी दिएर अगाडि बढ्नु पर्छ जस्तो लाग्छ ।
कीर्तिपुरको सांस्कृतिक तथा धार्मिक संरक्षणका लागि यहाँले कस्तो योजना बनाउनु भएको छ ?
हामी आइसकेपछि पनि जुन विगतमा भइरहेको काम धरोहरलाई संरक्षण संवद्र्धन गर्ने र कीर्तिपुरलाई विश्व सामु चिनाउने काममा हामी निरन्तरता दिनेछौं । अझ यस देशमा रहेका धार्मिक ऐतिहासिक तत्वहरुको सुक्ष्म रुपमा अध्ययन गरि संरक्षण गर्ने प्रयास गर्ने छौ ।
तपाईंले आफ्नो घोषणामा भ्यूटावर बनाउँदिन भन्नु भएको छ, यो किन हो ?
भ्यूटावरले जति खर्च हुन्छ त्यति फल दिन्छ जस्तो मलाई लागेन । भ्यू टावर आफैमा नराम्रो होइन तर यसले संस्कृतिमा केहि असर पार्दैन । आजभोलि जहाँ पनि भ्यूटावर वनाउने काम भइरहेको छ । यसले खालि बजेट एकातिर पार्ने बाहेक अरु काम गरेको जस्तो देखिन्न । जसले गर्दा भ्यूटावर बनाउनु मलाई राम्रो लागेन । त्यसैले कीर्तिपुरमा भ्यूटावर वन्दैन । किनकि कीर्तिपुर आफैले भ्यूटावरको काम गरिरहेको छ । बाघ भैरव लगायत यहाँको विभिन्न ठाउँले भ्यूटावरको काम गरिरहेको छ भने किन आर्थिक अवचलन गर्ने तर पर्यटकहरुलाई भित्राउने काम जस्तै कीर्तिपुरको आफै मौलिक संस्कृतिहरु छ सांस्कृतिक धरोहरहरु छ । धार्मिक र प्राकृतिक धरोहर पनि छ । तौदह मञ्जुश्री गल्छी गल्छी भित्रको गुफाहरु चम्पादेवी जस्ता प्राकृतिक सौन्दर्यहरु बजारमा बेच्न सकिरहेका छैनौं । यी सम्पदाहरु पर्यटहरुलाई भित्राउने उपयुक्त माध्यम बन्न सक्छन् । यी स्थानहरुमा पर्यटकहरुलाई भित्राउने बाटो बनाउन सक्यौं भने कीर्तिपुरको आर्थिक समृद्धिको बाटो खुल्ने छ ।
मातृभाषामा शिक्षाको चर्चा पनि चलिरहेको छ, यसका लागि तपाईंले के गर्नुहुन्छ ?
मातृभाषाको शिक्षालाई हामीले सुचारु गर्छौ । पाठ्यक्रमको अभाव विद्यार्थीहरुले झेलि रहेको अवस्था छ हाम्रो कार्यकालमा यसलाई पूर्ति गर्ने प्रयास गर्छौ । जहाँ सम्म नेवार वस्तीको वाल्हुल्यता भएको ठाउँ भएकोले नेवारहरुको लागि छुटै व्यवस्था हुन्छ कि भन्ने कुरा छ हालसम्म हामीले वनाएको छैन । हामीलाई सबै जनता बरावर छन् । तर हामीले सांस्कृतिक क्षेत्रको कुरा गर्दा ति सवै नेवार बस्तिको वाहुल्यता भएको ठाउँमा पर्छ । तर नेवार वाल्हुयता बाहेक छुट्टै संस्कार भएको देखिएइको छैन । जहाँ सम्म सांस्कृतिक धार्मिक ऐतिहासिक क्षत्रको संरक्षण संवर्दन गर्ने काम गछौ यो सवै नेवार बाहुल्यता भएको क्षेत्रमा पर्छ ।
चोभारमा रहेको सुख्खा बन्दरगाहलाई लिएर पनि त्यहाँका स्थानीयबासीमा असन्तोष देखिन्छ, यसलाई तपाईंले कसरी सम्बोधन गर्नुहुन्छ ?
राष्ट्रको विकासको लागि हामीले आआफ्नो क्षेत्रबाट योगदान गर्नु नै पर्छ । सुखाबन्दरगाहले केहि नराम्रा पक्षहरु ल्याए पनि केहि राम्रा पक्षहरु पनि छन् । त्यो क्षेत्रमा सुखा बन्दरगाहले केही हदसम्म आर्थिक विकासको काम गर्छ भन्ने हाम्रो धारणा छ । यसबाट हानी हुने कारणहरु न्यूनिकरण गर्ने काम चाहि हुनुपर्छ । त्यहाँ भएका स्थानियहरुको स्वास्थ्यसित सरोकार हुने कुरामा भने सजग हुनुपर्छ ।
अन्तमा मेरो साप्ताहिकका पाठकलाई यहाँ के सन्देश दिनु चाहनु हुन्छ ?
अहिले मुलुक परिवर्तन हुने संकेतहरु देखिएको छ । धेरै जसो ठाउँमा नेपाली कांग्रेसको विजय भएको अवस्था छ । अहमले दुर्घटना निम्त्याउने गरिन्छ, त्यसैले अहम गर्नुहुन्न । अहम् कसैको लागि पनि उपयुक्त गछैन र कसैको पनि यसले हित गर्दैन भन्ने कुराको पाठ भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि सिकाएको छ । तपाईको पत्रिकाबाट म कीर्तिपुरवासिहरुलाई धन्यवाद दिन चाहन्छु उहाँहरुको सक्रिय मतदानको कारणबाट आज हामी यहाँ छौं । तपाईहरुले जुन विश्वास मतले दिनुभएको छ हामीले पनि तपाईहरुको चाहना अनुरुप यस कीर्तिपुरलाई फरक धारमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध