मधुमेहको रोगबाट बच्न नेपालीहरु सचेत हुनुपर्ने

नेपाल भर मधुमेहको रोग तिव्र गतिमा फैलिरहेको र यसबाट बच्न समयमै सबैले सावधानी अपनाउनुपर्ने र नेपालीहरु सचेत हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बिरोध खतिवडाले जनाउनु भएकाे छ ।

इन्डो–नेपाल–बेलायत मधुमेह सम्मेलन तथा मधुमेह नेपालको बार्षिक व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले शनिवार साे कुरा बताउनु भएकाे हाे ।

उहाँले नेपालमा कुल मृत्युदरको झण्डै चार प्रतिशत मधुमेहले ओगटेको र विश्वका करिब ५० करोड मानिस यसबाट पीडित रहेको बताए । यो संख्या चाँडै ६०० देखि ७०० मिलियन सम्म पुग्न सक्ने पनि उहाँले बताउनुभयाे ।

नेपालजस्तो अल्पविकसित राष्ट्रमा मधुमेहबाट पीडित तर जानकारीको अभावमा दर्ता नगरेका हजारौं व्यक्ति हुन सक्छन्, मन्त्री खतिवडाले भन्नुभयाे, ‘सरकारले छिट्टै निःशुल्कको नयाँ व्यवस्था ल्याउनेछ । ४० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्य परीक्षण। सरकारले सन् २०२४ सम्ममा नसर्ने रोगसम्बन्धी नीति ल्याउनेछ।’

उद्घाटन समारोहमा मन्त्री खतिवडाले नेपालमा मधुमेह नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ चिकित्सक प्राध्यापक डा. सञ्जीव ढुंगेललाई लाइफटाइम एचिभमेन्ट मधुमेह पुरस्कार प्रदान गरे ।

अवार्ड ग्रहण गरेपछि डा. ढुङ्गेलले मधुमेह नेपाल र हेल्थ नेपाल एक्सचेन्जले विश्वभर मधुमेहको उपचारमा भएका नयाँ विकासका बारेमा जानकारी गराई मधुमेह रोगीलाई व्यवस्थापन गर्न र नेपाली स्वास्थ्यकर्मीलाई मधुमेह रोगबारे जनचेतना गराउन महत्वपूर्ण योगदान पुर्याएको बताए ।

बेलायतस्थित संस्था हेल्थ एक्सचेन्ज नेपालका महासचिव डा.सत्यन राजभण्डारीले आफ्नो संघले डाइविटिज नेपाललाई स्वास्थ्यकर्मी र बिरामीका लागि विभिन्न मधुमेह सचेतना तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको बताए । हेल्थ एक्सचेन्ज नेपालले बेलायतको रोयल कलेज र नेपाल मेडिकल एसोसिएसनबाट हालका कार्यक्रमहरूलाई गुणस्तरीय बनाउन स्वीकृति प्राप्त गरेको राजभण्डारीले बताए ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै डाइविटिज नेपालका महासचिव कैलाश प्रधानले आफ्नो संस्था जनचेतनामूलक कार्यक्रम मार्फत मधुमेह रोकथाम र नियन्त्रणका लागि स्थापना भएको गैरनाफामूलक जनस्वास्थ्य संस्था भएको बताए ।

मधुमेह नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले नेपाल तथा विदेशका स्वास्थ्यकर्मीहरुको योगदानका कारण संघले हालको कार्यक्रम आयोजना गर्न सक्ने बताए । उनले डायबिटिज नेपालले यस्ता धेरै कार्यक्रम आयोजना गर्ने बताउँदै कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा युएसभी–नेपाल र नेपाल हेल्थ एक्सचेन्जलाई धन्यवाद दिए । युएसभी नेपालका कन्ट्री म्यानेजर हिमांशु शेखरले स्वास्थ्यकर्मीहरुको बैठकमा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध