नेपालमै रोजगारीको सृजना होस् भन्ने चाहन्छौं ः अध्यक्ष दीपक श्रेष्ठ
नेपाली सेवा क्षेत्रमा महत्वपूर्ण क्षेत्र यातायात पनि एक हो । कुनै पनि मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा सहजै पुग्नका लागि यातायातले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राचिनकालमा पालकी, बयलगाडा जस्ता साधन यातायातका लागि प्रयोग हुने गर्दथ्यो भने आधुनिक यु्गमा मोटरगाडीले यातायातलाई धेरै हदसम्म सहज बनाइ दिएको छ । यसमा पनि सार्वजनिक यातायातको भूमिका अझ बढी छ भन्न सकिन्छ । अहिले विश्व डिजिटल युगमा प्रवेश गरीसकेको छ । विकसित देशहरुका लागि त डिजिटल प्रविधि सामान्य कुरा भइसकेको छ । नेपाल पनि विस्तारै डिजिटल विश्वमा पवेश गरिरहेको वर्तमान परिपेक्षमा विदेशमा रहेका नेपाली युवाहरुले यातायात सेवालाई सुरक्षित र सहज बनाउृने उद्देश्यका साथ नयाँ मोबाइल एप ईक्याब नेपालको सुरुवात गरेको छ । यसै ईक्याब नेपालको सेरोफेरोमा रहेर मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले ईक्याब नेपालका अध्यक्ष दीपक श्रेष्ठसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ – सं. ।
ईक्याब नेपाल के हो ?
ईक्याब एउटा डिजिटल एप हो । यो एप चालक र यात्रुबीच सहज सम्पर्कका लागि बनाइएको हो । यसको प्रयोग गरेर चालकले सहज रुपमा यात्रुसँग सम्पर्क गर्न सक्छन् भने यात्रुले पनि सुरक्षित र सस्तो भाडादरमा यात्रा गर्न सक्नेछ ।
ईक्याब नेपाल स्थापनाको सोच कहाँबाट पलायो ?
अहिले नेपाल पनि डिजिटल युगमा प्रवेश गरिसकेको छ । नेपाल सरकारले पनि काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यसमा हामीले पनि विदेशमा बसेर सिकेको ज्ञान, शीप र प्रविधिलाई प्रयोग सहज र सुलभ दरमा यात्रुहरुलाई सेवा प्रदान गर्र्ने सोच लिएर यो एप सुरु गरेका हौं । खासमा यो योजना हामीले यसभन्दा अगाडि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु गर्ने योजना रहेको थियो । तर अहिलेसम्म सो विमानस्थलको निर्माण पुरा नभइसकेको अवस्थामा हामीले काठमाडौंबाट सेवाको सुरुवात गरेका छौं ।
नेपालमा अनलाइनको माध्यमबाट सवारी सेवा दिने अन्य एपहरु पनि उपलब्ध भइसकेका छन्, यस्तोमा फेरि एउटा नयाँ एपको आवश्यकता किन महसूस गर्नुभयो ?
मलाई के लाग्छ भने जति धेरै प्रतिस्पर्धा बढ्छ त्यसले सेवाको गुणस्तर वृद्धि हुँदै जान्छ । गुणस्तरमा हुने प्रतिस्पर्धाले सेवाग्राहीले सस्तो र सुलभ भाडा दरमा सेवाको उपभोग गर्न पाउनु हुनेछ । हुन त तपाईंंले भन्नु भए जस्तै पहिले नै नेपालमा यस्तो सेवा सुरु भइसकेको छ । तथापि हामीले अझ सुढृद र सहज ढंगबाट नेपाली सेवाग्राहीहरुलाई सेवा दिन सक्छौं भन्ने सोच लिएर हामीले यो सेवामा लगानी गरेका हौं ।
यात्रुहरुको सुरक्षालाई यहाँहरुले प्राथमिकतामा राख्नुभएको भन्नु भयो, यात्रुको सुरक्षाको लागि यहाँहरुले के कस्ता सुविधाहरु निर्धारण गर्नुभएको छ ?
यात्रुको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो । यसका लागि हामीले हामीसँग आवद्ध हुनुहुने चालकहरु जसलाई हामी पार्टनर भन्न रुचाउँछौं, उहाँहरुको वैध सवारी चालक अनुमतिपत्र, बीमाका कागजात तथा सवारी दर्ताको रेकर्ड हाम्रो डाटाबेशमा सुरक्षित गरेका छौं । कुनै पनि यात्रुले हाम्रो सेवाको प्रयोग गरेर क्याब बुक गर्नुहुन्छ र यात्रा गर्नु हुन्छ भने उहाँसँग आफूले यात्रा गरेको सवारी साधनको सम्पूर्ण विवरण मोबाइलमा सेभ भएको हुन्छ । जसले गर्दा कथंकदाचित गाडीमा कुनै सामान छुट्यो भने सहज रुपमा कुन गाडीमा छुटेको हो भन्ने थाहा पाउन सकिन्छ । सामान्यतः हामी नेपालीहरुले यात्रा गर्दा गाडीको नम्बर नोट गर्ने चलन रहेको पाइँदैन । यसर्थ गाडीमा छुटेको सामान पुनः पाउन गा¥हो पर्छ । कोही कोही इमान्दार चालकहरुले यस्ता सामान फिर्ता दिने गरे पनि यस्तो भएको धेरै कम मात्र सुन्न पाइएको छ । अर्कोतर्फ गाडी चालकले कुनै पनि किसिमको बदमासी गरेको खण्डमा पनि हामीसँग भएको रेकर्डका आधारमा ऊसम्म सहजै पुग्न सक्छौं र नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग मिलेर आवश्यक कारवाही प्रक्रियाका लागि समेत सहज हुने हुनाले यो सेवा प्रयोग गर्ने यात्रुहरु सुरक्षित हुने छन् । कुनै पनि क्षति भएकै खण्डमा पनि सम्बन्धित निकायसँग समन्वय गरेर क्षतिपूर्ति पनि दिलाउन सकिनेछ ।
कुनै पनि यात्रा सुरक्षित हुनको लागि त्यसको चालकको अहम् भूमिका रहेको हुन्छ । चालकका लागि यहाँहरुले के कस्तो व्यवस्थाहरु गर्नुभएको छ ?
यो सेवाबाट चालकहरु पनि उत्तिकै लाभान्वित हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ । हामीले जति सक्दो धेरै रोजगारी सृजना गर्ने सोच रहेको छ । अहिलेसम्म हामीसँग दुई हजार जना ट्याक्सी चालकहरु आवद्ध भइसकेका छन् । उहाँहरुको आफ्नै ट्याक्सी हो । हामीसँग जोडिनु भएका उहाँहरुको हितलाई हामीले ध्यानमा राखेका छौं । जसले दुःख गर्छ उसले नै बढी फल पाउनु पर्छ भन्ने सोच अनुरुप हामीले हाम्रो एप प्रयोग बापत लिने कमिशनको दर अत्यन्तै न्यून मात्र राखेका छौं भने भाडादर पनि सम्बन्धित पार्टनरहरुसँगको सहकार्यमा नै निर्धारण गरेका छौं । यो एपको प्रयोग गरीसकेपछि चालक चोकचोकमा बसेर यात्रुहरु कुरिरहनु परेन । घरमै बसेर पनि मोबाइलमा हाम्रो एप अन गरेर उहाँहरु सेवाग्राहीसम्म पुग्न सक्नु हुनेछ । अहिले यसको प्रयोग न्यून मात्रामा मात्र रहे पनि भविष्यमा चालकहरुले यसको प्रयोग गरेर धेरै भन्दा धेरै लाभ ग्रहण गर्नेछन् । आफ्नो व्यस्त समयमा एप बन्द गरेर आफ्नो काम गर्न सक्नु हुन्छ भने फुर्सद भएको समयमा पुनः एप जोइन गरेर सेवा प्रदान गर्न सक्नुहुन्छ । यसमा हामीले समयावधि तोकेका छैनौं । चालकले आफूलाई पायक पर्ने समयमा यो एपको प्रयोग गरेर सेवा दिन सक्छन् ।
यति मात्र होइन, हरेक कारले २५ लाखसम्मको विमा गरेको हुन्छ । कथंकदाचित कुनै किसिमको दुर्घटना भएको खण्डमा त्यसबाट हुने क्षतिपूर्ति आफ्नो ठाउँमा छ । अर्कोतर्फ चालकका तर्फबाट पनि ड्राइभरलाई गलत व्यवहार हुन सक्छ । यस्तो भएको खण्डमा ड्राइभरसँग पनि चालकको सम्पूर्ण विवरण रहने भएका कारण चालकले सहजरुपमा कानूनी उपचार पाउन सक्नेछ । नेपाल सरकारको नीति र नियम अनुरुप नै हामी अगाडि बढ्ने हो । यसैले यो सेवाको प्रयोगले चालक र सेवाग्राही दुवै पक्षलाई फाइदा नै रहेको छ ।
तपाईंसँग जोडिन चाहने चालक र यात्रुहरु कसरी जोडिन सक्छन् ?
हाम्रो यो एप एप्पल र एन्ड्रोइड दुई वटै भर्जनमा छ । ड्राइभरहरुले आफ्नो मोबाइल अनुरुप एप स्टोर वा प्लेस्टोरमा गएर ईक्याब ड्राइभर एप डाउनलोड गरेर सहजै यो सेवा सुरु गर्न सक्नु हुनेछ । यदि उहाँलाई एप रजिष्टे«शन गर्न समस्या छ भने हाम्रो कल सेन्टरमा फोन गरेर पनि दर्ता गर्न सक्नु हुन्छ । साथै हाम्रो मार्केटिङ्ग टीम उहाँको नजिकै रहेको भएमा उहाँहरुले व्यक्तिगत रुपमा भेटेरै पनि यो सेवा सुचारु गरि दिन सक्नु हुन्छ । यात्रुहरुले पनि ईक्याब एप डाउनलोड गरेर सहजै यो एप प्रयोग गर्न सक्नु हुन्छ । यात्रुहरुका लागि पनि हाम्रो टोल फ्रि नम्बरमा फोन गरेर सहज रुपमा सेवा लिन सक्नुहुन्छ । यति मात्र होइन यो एप प्रयोगकर्ताले अरुका लागि समेत क्याब बुक गरीदिन सक्छन् । यसरी क्याब बुक गर्दा सम्बन्धित मान्छेको नै नाम र नम्बर रहने हुँदा चालक चाँडै यात्रुसम्म पुग्न सक्ने हुन्छ । यसमा सहभागी हुनका लागि चालक र यात्रुले कुनै पनि किसिमको शुल्क तिर्नु पर्दैन ।
चालकले बाटोमा धुकेरै आफूले मनमानी ढंगले रकम असुलेर यात्रु लाने गरेका छन् । यस्तोमा तपाईंहरुलाई निर्धारित दरमा कमिसन दिएर उसले किन यात्रु ओसार्ला ?
सबैभन्दा पहिले त चालकले कुनै चोकमा गएर यात्रुका लागि कुरिरहनु परेन । यसले उहाँहरुको समयको बचत हुने भयो । अर्को हामीले निर्धारण गरेको जुन भाडादर छ त्यसमा हामीलाई केही प्रतिशत कमिशन दिएपनि उहाँहरुलाई नाफा नै छ । मनमानी भाडादर लिनु भनेको गैरकानुनी कार्य हो, यस्तोमा कुनै यात्रुले कानूनी उपचार खोजेको खण्डमा चालकलाई दण्ड जरिवाना समेत हुन सक्छ । यसर्थ हामीसँग जोडिएर कानुनी मूल्य र मान्यताको पालना गरेर व्यवसाय गर्न चाहने चालकहरुका लागि हाम्रो एप एकदम सहायक सिद्ध हुनेछ । मनोमानी ढंगले असुल्ने भाडाले भोलिका दिनमा यात्रुले चालकप्रतिको दृष्टिकोणमा नै नकारात्मकता सृजना गरिदिन्छ । हाम्रो एपको प्रयोग गर्दा नाफा पनि हुने, यात्रुसँग सुमधुर सम्बन्ध पनि बन्ने र सेवा पनि दीर्घकालसम्म सञ्चालन गर्न सकिने हुँदा सबैको लागि लाभदायक रहेको छ ।
यसका साथै हामीले लोयल्टी प्वाइन्टको पनि व्यवस्था गरेका छौं । यसमा चालकलाई के कस्ता सेवा सुविधाहरु प्रदान गर्ने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौं । अर्कोतर्फ यात्रुहरुका लागि पहिलो राइडका लागि ५०% छुटको व्यवस्था गरेका छौं । यस्ता योजनाहरु हामीले भविष्यमा पनि निरन्तर ल्याइ नै रहने सोच बनाएका छौं ।
यो सेवा तपाईंहरुले कहाँ कहाँ सुरु गर्नुभएको छ ?
हाम्रो पहिलो लक्ष्य त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थियो । तर हालसम्म त्यसको सञ्चालन नभइसकेको हुनाले हामीले काठमाडौंबाटै यो सेवालाई सुरुवात गरेका छौं । हामीले देशका प्रमुख शहरहरु पोखरा, भैरहवा, विराटनगर लगायतमा विस्तार गर्ने योजना रहेको छ ।
पहिलो चरणमा हामी ६ महिनासम्म काठमाडौंमा नै परिक्षणका रुपमा यो सेवा सञ्चालन गर्दैछौं । यसपछि कस्तो प्रतिक्रियाहरु प्राप्त हुन्छ त्यसका आधारमा सेवालाई परिमार्जित गर्दै अन्य शहरहरुमा जाने योजना रहेको छ ।
सेवाको लागि निजी सवारीका धनीहरु जो यात्रुहरुसँग आफ्नो यात्रा बाँड्न (राइड सेयर) चाहन्छन्, उनीहरु तपाईंहरुसँग जोडिन सक्छन् कि सक्दैनन् ? यस्तो चाहना राख्नेहरुलाई तपाईंहरुले चालकको रुपमा दर्ता गर्नु हुन्छ कि हुन्न ?
यो एकदमै सान्दर्भिक प्रश्न छ । अहिले सरकारको नीति नियम अनुसार हामीले रातो प्लेटलाई भाडामा हिडाउन मिल्दैन । सरकारविरुद्ध हामी जान चाहन्नौं । सरकारको नीति अनुरुप नै हामी अगाडि बढाउन चाहन्छौं । तर भोलिका दिनमा रातो प्लेटका सवारी धनीहरुले पनि आफ्नो कारबाट सेवा दिन पाउनुपर्छ ।
यसले उपभोक्ताहरुले लक्जरी गाडीहरु पनि उपभोग गर्न पाउनु हुने एकातर्फ छँदैछ साथै त्यतिकै रहने सवारीसाधनबाट सवारीधनीले थप केही आय पनि आर्जन गर्न सक्नु हुनेछ ।
जस्तै म कुनै कार्यालयमा ९ बजेबाट ५ बजेसम्म काम गर्छु र मेरो गाडी छ भने त्यो समयमा मेरो गाडी त त्यतिकै रहेको हुन्छ । यदि सो समयमा मेरो गाडी प्रयोग गर्न पाउने भएमा एकजना थप व्यक्तिले रोजगारी पनि पाउनु हुनेछ भने मलाई पनि केही थप आर्थिक उपार्जन हुन आउँछ । यसर्थ सरकारले यस्तो नीति ल्याउनु पर्छ भन्ने पक्षमा म रहेको छु ।
विदेशमा जस्तै म लण्डनमा बस्छु । म खालि छु र मसँग कार रहेको छ भने एउटा एप डाउनलोड गरेर त्यो खाली समयमा मैले मेरो गाडी प्रयोग गरेर सेवा प्रदान गर्न सक्छु । यसले गर्दा मैले मेरो कार्यालय समयपछि पनि स्वतन्त्ररुपमा काम गर्न पाउने भएँ । जब खालि हुन्छ तब काम गर्न पाउने भए । यसले देशको अर्थतन्त्र मज
यहाँले अन्तर्राष्ट्रिय रुपमा नै यो एपको माध्यमबाट यात्रा बुकि· गर्न सक्ने बताउनु भयो । मानौं कसैले निर्धारित समयको लागि कुनै यात्रा बुकि· गरेको छ तर सो समयका लागि बुक भएको गाडीका चालक भवितव्यका कारण त्यहाँ पुग्न सक्ने अवस्था रहेन भने यसको समाधानका लागि तपाईंहरुले के गर्नुहुन्छ ?
यदि यस्तो समस्या आइप¥यो भने पूर्व सूचनाका आधारमा हामीले त्यो राइडलाई अर्को उपलब्ध राइडमा ट्रान्सफर गर्नेछौैं । यसको लागि हामीले सिष्टम बनाई सकेका छौं । जस्तै कोही चालकले बुकिङ्ग लिनु भएको समयमा उहाँ विरामी पर्नुभयो र उहाँ जान नसक्ने हुनु भयो भने हामीले त्यस्तो राइडलाई अर्को राइडमा ट्रान्सफर गर्छाैं ।
ईक्याब एपमा के कस्ता सेवा सुविधाहरु रहेका छन् ?
हामीले ट्याक्सी राइडमा क्यूआर कोडबाटै भुक्तानी गर्न सक्ने व्यवस्था गरेका छौं । तपाइँको कुनै पनि बैंकमा ईबैंकिङ वा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिन्छ । यो नितान्त नयाँ प्रयोग हो । यसका साथै तपाईंले डिजिटल पेमेन्ट जस्तै खल्ती, ईसेवाहरुबाट पनि क्याबको महसूल तिर्न सक्नुहुन्छ । यसैगरी आफन्त वा साथीभाईको लागि क्याब बुक गर्नु भएको छ भने जसका लागि बुकिङ्ग गर्नुभएको हो उहाँकै नाम र नम्बर देखाउने भएका कारण चालक सजिलै यात्रुसम्म पुग्न सक्नु हुन्छ । जसले गर्दा वेटिङ्ग चार्ज र क्यान्सिलेशन हुने समस्याबाट मुक्त हुन सकिन्छ ।
ईक्याबको प्रबद्र्धनका लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?
यसका लागि हाम्रो एउटा मार्केटिङ्ग टीम नै रहेको छ । यसका साथै हामी सामाजिक सञ्जालबाट अगाडि जाने, तपाईंहरु जस्ता पत्रकारहरुबाट सञ्चार माध्यममा हाम्रा सेवाहरुको बारेमा प्रचारप्रसार गर्ने योजना रहेको छ ।
यसका साथै टेलिभिजन र मुख्यमुख्य स्थानहरुमा होर्डिङ्गको पनि योजना रहेको छ । यसैगरी हामीसँग आवद्ध क्याबहरुमा अगाडि र पछाडी ईक्याबको स्टीकर टाँसेर पनि प्रचार गर्ने कार्य गरेका छौं ।
अन्तमा मेरो साप्ताहिकका पाठकहरुलाई यहाँ के सन्देश दिन चाहनुहुन्छ ?
हामी विदेशमा पसिना बगाएर कमाएको पैसा लगानी गरेर नेपालमा केही गर्छौं भनेर आएका हामी गैरआवासीय नेपाली हौं । हाम्रो तन विदेशमा भएपनि हाम्रो मन सँधै नेपालमा नै छ । नेपालमै केही गरुँ भन्ने हाम्रो इच्छा छ । हामी विदेशमा हुँदा हाम्रा बच्चाहरु जो विदेशमा जन्मिएका हुन्छन्, हामीले तिनीहरुलाई पनि व्यवसाय वा अन्य माध्यमबाट भए पनि नेपालसँग सम्बन्ध बनाइ राख्न चाहन्छौं । यो नेपालीकै लगानी हो, यसबाट नेपालीहरु नै लाभान्वित हुन्छन् । यसलाई सफल बनाई दिएर अरु ठाउँमा पनि यस्ता लगानी भित्र्याउने वातावरण बनाई दिनुस् ।








