भाषा, साहित्य, सांस्कृतिक सेवक राजु महर्जन
आमा माया महर्जन र बुबा स्व. शंखलाल महर्जनको कोखबाट ललितपुर महानगरपालिका १२ वडामा जन्मी कला संस्कृतिको संरक्षणमा तीन दशकदेखि योगदान गर्दै आउनुभएको व्यक्तित्व हुनुहुन्छ राजु महर्जन । २०४३ सालमा लोक साहित्य परिषद्को उद्घाटनमा राग अलाप्ने कलाकार महर्जनले आफ्नो जीवन नै लोकनृत्य, संगीत, साहित्यमा समर्पित गर्छ भन्ने कुरा कसैलाई लागेको थिएन । २०४६ सालमा बुबा शंखलाल महर्जनको निधनपछि बुबाको साथी प्रेमलाल कुलुको माध्यमबाट लाजिम्पाटस्थित न्यू हिमालचुली कल्चरल ग्रूपमा प्रवेश पाएका राजु महर्जन हाल नेपालभाषाको चलचित्र, म्यूजिक भिडियो तथा कल्चरल थिएटर अनलाइन मिडिया मार्फत् जनजनमा लोकप्रिय रहेका छन् ।
न्यू हिमालचुली कल्चरल ग्रूपमा ७ वर्ष कार्यरत तथा प्रशिक्षण पछि २०५३ सालमा आफ्नै निवासमा लँुझ्याः कलाकुञ्ज नामको संस्था स्थापना गरी नेपाली लोकनृत्य तथा संगीत निःशुल्क प्रशिक्षण दिँदै आउनुभएको छ । २०६० सालमा नेपालभाषाको कविता संग्रह ‘ह्वय्त्यंगु स्वाँ’ प्रकाशन गर्नुभएका महर्जन नेपालभाषाको साहित्य क्षेत्रमा पनि प्रवेश गर्नुभएको थियो । यसको लगत्तै ने.सं. ११२६ देखि कला संस्कृतिलाई चलचित्र, म्यूजिक भिडियोको माध्यमबाट पनि प्रचार गर्दै आउनुभएको छ । नेपालभाषाको चलचित्रहरुमा पनि जीवन्त अभिनय गरी दर्जनौं चलचित्र तथा म्यूजिक भिडियोहरुमा आफ्नो अभिनय क्षमता देखाइ सक्नु भएको छ । उहाँद्वारा अभिनित नेपालभाषाको चलचित्र ‘भिंतुना’ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा क्रिटिक्स अवार्ड जित्न सफल भएको थियो ।
जीवन्त अभिनयमा पोख्त सांस्कृतिक व्यक्तित्व महर्जनको योगदानले नेपाली सांस्कृतिक क्षेत्रको संरक्षणमा थप उर्जा दिएको छ । दशकौंसम्म निःशुल्क पूशिक्षणबाट सयौं कलाकारहरु जन्माउनुभएका उहाँले आफ्ना प्रशिक्षार्थीहरुको जीवनयापनका लागि विभिन्न ५ तारे होटलहरुमा रोजगारको व्यवस्था समेत मिलाई दिने गर्नुभएको छ ।
यस्ता बहुमुखी प्रतिभाका धनी कलाकार, साहित्यकार राजु महर्जनसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
- आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
कोभिड–१९ महामारीका कारण केही समय अगाडिसम्म सबै क्रियाकलापहरु बन्द भइरहेका थिए । अहिले क्रमशः लकडाउन खुकुलो भएका कारण नियमित प्रशिक्षणको कार्यक्रमहरु सञ्चालन गरेको छु । यसैगरी कल्चर थिएटर अनलाइन मिडियाबाट पनि लाइभ कार्यक्रम प्रस्तुत गर्ने कार्य गरिरहेको छु ।
- नेपाली लोक संगीत तथा कलाको लागि तपाई समर्पित भएर लागिरहनु भएको छ, यसको लागि तपाईं कसरी प्रेरित हुनुभयो ?
ज्यापु समुदायमा बाल्यकालबाटै सांगीतिक माहौल हुने गर्दछ । सुरुमा टोलकै मंकाः खलःमा दाफा भजनमा सहभागी भएर लागेको थिएँ । यही सिलसिलामा वाङमय शताब्दीपुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीज्यूको निवासमै सञ्चालन गरिएको लोक साहित्य परिषद्को उद्घाटन कार्यक्रमका क्रममा राग गायन प्रस्तुत गर्ने मौका पाएँ । त्यहाँ उपस्थित मानिसहरुले दिएको माया र सद्भावबाट प्रेरित भएर मलाई कला क्षेत्रमा गएपछि त मानिसहरुले मनपराउने रहेछ भन्ने भावना उत्पन्न भयो र म यही क्षेत्रमा लाग्न पुगेँ ।
- दाफा गायनबाट अभिनय क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
विद्यार्थी जीवनमै मैले अभिनय थालेको हुँ । विद्यालयमा हरेक शुक्रवार एउटा रमाइलो गर्ने कक्षा हुने गर्दथ्यो । सो कक्षामा मैले कहिले अभिनय गर्ने तथा कहिले कविता पाठ गर्ने गर्दथेँ । त्यही बेला म रेडियो नेपाल पुगेर पनि कविता बाचन गर्ने मौका प्राप्त गरेको थिएँ ।
सत्यमोहन जोशी सरको घरमा भएको कार्यक्रमपछि स्थानीय चन्द्र सूर्य पुस्तकालयले हरेक वर्ष आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नाच्नको लागि मलाई छनौट गरियो । म अलि नाचगान भनेपनि हुरुक्क हुने मान्छे भएका कारणले म सो कार्यक्रममा सरिक भएँ । त्यसको केही समयपछि मेरो बुबा स्वर्गे हुनुभयो । बुबाको मिल्ने साथी प्रेमलाल कुलुले मलाई माया गरेर न्यू हिमालचुली कल्चरल ग्रूपमा जागिर मिलाई दिनुभयो । नाचगानमा हुरुक्क हुने म त्यहाँ पुगेपछि धेरै कुराहरु सिक्ने मौका पाएँ । त्यहाँ आउनुहुने कलाकारहरु रचना जिसि, प्रेम औतारी, न्हुछेबहादुर डंगोल, नारायणदेवी प्रधान, गोविन्द सिंह डंगोल लगायतका वरिष्ठ व्यक्तित्वहरुबाट सांगीतिक प्रशिक्षणका साथै विभिन्न जनजातिहरुको भेषभूषाको पनि जानकारी लिन पाएँ । त्यहिँबाट मैले वाद्यवादन, नृत्य, अभिनयका साथै कार्यक्रम सञ्चालनको ज्ञान हासिल गरेँ ।
- तपाईंले आफ्नै लुँझ्याः कला कुञ्ज पनि स्थापना गर्नुभयो । यसको कारण के थियो ?
कुनै पनि ज्ञान आफूले हासिल गरी सकेपछि त्यसको सदुपयोग आफ्नो क्षमता प्रदर्शन आफ्नै नेतृत्वमा पनि गर्नुपर्छ भन्ने साथीभाइहरुले सुझाउन थाले । मेरो क्षेत्रमा परम्परागत रुपमा त सांगीतिक माहौल थियो तर व्यवस्थित प्रशिक्षणको भने अभाव थियो । यसैलाई मनन गरेर आफ्नो ठाउँमा भएका प्रतिभाहरुलाई सही दिशा दिन सकिन्छ भन्ने सोचका साथ निःशुल्क प्रशिक्षण दिने केन्द्रको रुपमा मैले २०५३ सालमा अनौपचारिक रुपमा लुँझ्याः कला कुञ्ज सुरु गरेको थिएँ । यसलाई औपचारिकरुपमा ११ जना साथीहरु मिलेर २०६० सालमा विधिवत् दर्ता गरेर सुरु गरेको हुँ ।
- नेपालभाषाको चलचित्र तथा म्यूजिक भिडियोहरुमा पनि तपाईंको अभिनय देख्न सकिन्छ । यसमा तपाईंको प्रवेश कसरी भयो ?
मैले स्टेज कार्यक्रमहरुबाटै आफूलाई निखार्ने अवसर पाएको थिएँ । तर बदलिँदो समयसँगै स्टेज कार्यक्रमहरुको प्रभाव बिस्तारै कम हुन थाल्यो । घरघरमा टीभी हुन थालेपछि मानिसहरु चोक र डबलीमा हुने कार्यक्रममा भन्दा पनि घरमै बस्न रुचाउन थाले । यसपछि हाम्रो लोक संगीत तथा नृत्यलाई पनि टेलिभिजन तथा विद्युतीय सञ्चार माध्यममा लानु पर्छ भन्ने सोच पलाएको थियो । यही सोच अनुसार एम्स मुभिज् प्रोडक्सन खोकनाबाट निर्मित चलचित्र ‘ग्वाज्यःचा’बाट मैले डेब्यू गरेको हुँ । यसपछि मैले ‘ए जि यःम्ह’, ‘निफ्वःस्वां’, पियाच्वना, हसना लगायतका चलचित्रहरुमा अभिनय गरेको छु ।
- अभिनय यात्राका क्रममा यहाँले प्राप्त गर्नुभएको अनुभव कस्तो छ ?
मैले अभिनय गरेको क्षेत्र नेपालभाषाको चलचित्र क्षेत्र भएका कारणले अरु कलाकारहरुको जस्तो हाईफाई त थिएन । तर नेपालभाषा चलचित्रप्रेमीहरुका माझ भने जहाँ गए पनि चिनिने मौका पाएँ । मानिसहरुले जहाँ देखे पनि मलाई माया गरेको अनुभव गर्न पाएँ । मनोरञ्जनको क्षेत्र भनेको नै रमाइलो गर्ने क्षेत्र हो । यहाँबाट मैले नाम कमाउन पाएँ ।
- तपाईं साहित्य रचनामा पनि लाग्नु भएको देखिन्छ । साहित्यमा यहाँको झुकाव कसरी बढ्न गयो ?
विद्यालय जीवनकै क्रममा मलाई साहित्यमा रुची थियो । विद्यार्थी जीवनमा मैले रचना गरेका थुप्रै रचनाहरु अझै पुस्तकको रुपमा प्रकाशन गर्न सकेको छैन । यसलाई चाँडै नै पुस्तककार दिने सोच रहेको छ । विद्यालयमा हरेक शुक्रवार केही न केही प्रस्तुती गर्नु नै पर्ने भएका कारण पनि मैले नजानिकनै कविता लेखनतिर लागेँ ।
- तपाईंले २०५३ सालदेखि निरन्तर निःशुल्क प्रशिक्षण दिँदै आउनु भएको छ । यसबाट तपाईंलाई के फाइदा भयो ?
न्यू हिमालचुलि कल्चरल ग्रूपबाट सांस्कृतिक प्रशिक्षणहरु लिइसकेपछि आफूलाई परेको अप्ठेरोलाई महसूस गरी म जस्तै कला भएका तर त्यसको प्रशिक्षणबाट बन्चित हुन पुगेकाहरुलाई आफ्नो ज्ञान र शीप प्रदान गरेर समाजसेवा गरौं भन्ने भावनाबाटै मैले लुँझ्याः कला कुञ्जको स्थापना गरेको हुँ । यो कुञ्जको स्थापनापछि मैले सयौं कलाकारहरुलाई नेपाली लोकनृत्य र धिमे बाजा सिकाउन थाले । यसबाट उनीहरुको जीवनयापनमा नै सहयोग पुगेको पाउँदा आत्मसन्तुष्टीको अनुभूति हुन्छ । देशमा मात्र नभई भारत र चीनसम्म लगेर पनि कला प्रदर्शन गर्ने अवसर प्राप्त हुन पुगेको छ । यसका साथै प्रशिक्षार्थीहरुले पनि आजसम्म जुन माया र सद्भाव व्यक्त गरेका छन् त्यो नै मेरो लागी ठूलो उपलब्धी जस्तो लाग्छ ।
- अन्तमा मेरो साप्ताहिकका पाठकहरुलाई यहाँ के सन्देश दिन चाहनु हुन्छ ?
नेपाली र नेपालभाषा दुवै भाषामा प्रकाशन हुँदै आइरहेको यो पत्रिकाले भाषा, साहित्य संस्कृतिको जानकारी अरु भाषीहरुलाई पनि दिँदै आइरहेको कारणले यो पत्रिका एक राम्रो पत्रिकाको रुपमा मैले लिएको छु ।
यसका पाठकहरुलाई म कला, संस्कृतिलाई सँधै माया गर्न अनुरोध गर्दछु । यसमा समर्पित भएर लागिरहनु भएका व्यक्तित्वहरुलाई सम्मान गरौं ।








