मिसा साहित्यकार मुनाको कविता गोष्ठी

यही ने.सं. ११४१ गुंलागा द्वादशी शनिवार (भाद्र १९) गते मिसा साहित्यकार मुनाको आयोजनामा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा जूम प्रविधि प्रयोग गर्दै कविता गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा यस वर्ष दिवंगत हुनु भएका नेपालभाषाका साहित्यकारहरु माणिकलाल श्रेष्ठ, लक्ष्मण राजवंशी, कृष्णप्रकाश श्रेष्ठ, इन्द्र माली, रमापति राज शर्मा र पूूर्ण बैद्यलाई श्रद्धाञ्जली स्वरुप १ मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा स्वागत गर्दै संस्थाका अध्यक्ष साहित्यकार अञ्जना ताम्राकारले जनकवि दुर्गालाल श्रेष्ठबारे कविता वाचन गरेकी थिइन् । यसैगरी उनले मिसा साहित्य मुनाको उद्देश्य पनि युवा पुस्ताका महिलाहरुलाई साहित्य सृजना गर्न हौसला दिने र पुस्ता हस्तान्तरण गर्दै लाने रहेको बताइन् ।
मिसा साहित्यकार मुनाका संरक्षक भाषाविद् डा. ज्योतिप्रभा तुलाधरले जनकवि दुर्गालाल श्रेष्ठको एक एक कविता हाम्रो लागि मन्दिर समान भएको बताउँदै जनकविको नाम अन्तरराष्ट्रिय क्षेत्रमा समेत पु¥याउनु पर्ने र उहाँका पुराना कविता पुस्तकहरु पुनः प्रकाशन गर्नुपर्नेमा जोड दिए ।
जनकवि दुर्गालाल श्रेष्ठ नेवार जातिको जनकवि वा जनगीतकार मात्र नभई नेपाल राष्ट्रकै सम्पदा, हाम्रो पहिचान र गौरव भएको बताउँदै उनले उदारवादी सिद्धान्तको विशेषता उल्लेख गरे ।
प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले कोरोनाको प्रतिकूल स्थितिमा पनि साहित्यको सिनाज्या (रोपाइँ) भएको जस्तो भएको आफूले अनुभव गरेको बताए । उनले डा. तुलाधरले लेखेको समालोचनात्मक लेख ‘डा. सत्यमोहन जोशीया उत्कृष्ट महाकाव्य अरनिकोया श्वेतचैत्य’ पढेर सत्यमोहनलाई हेर्ने आँखा भेटाएको बताए । यसैगरी हाम्रो समसामयिक भाषाको आजको अवस्थालाई लिएर उपेक्षित जातिहरुले मिलेर गाउनु पर्ने गीत कविताका रुपमा सुनाए । साथै उनले ‘सिमाया थःगु खँ’ कविता पनि वाचन गरेका थिए ।
कविता वाचनका क्रममा रितादेवी प्रधान, रिता महर्जन, भवानी तुलाधर, राजेश्वरी राजोपाध्याय, बिमला मानन्धर र अञ्जना ताम्राकारले कविता सुनाएका थिए । कविता वाचनका क्रममा मिसा साहित्यकार मुनाका सात जना उपन्यासकार सदस्यहरुको परिचय दिइएको थियो ।
वाचन गरिएको कविताको समीक्षा गर्दै भाषाथुवाः प्रा. डा. सुन्दरकृष्ण जोशीले आफ्नो अनुभव बताउँदै दुर्गालालबाट प्रभावित भएर साहित्यको बाटो अंगालेको बताए भने वाचन गरिएको छ वटा कविताको गहिरो विश्लेषण गरेका थिए । यसैगरी व्याकरणको सामान्य नियम बारे पनि बुझाएका थिए । उनले आफ्नो र दुर्गालाल श्रेष्ठको कविता पनि वाचन गरेका थिए ।
समीक्षाका क्रममा आधुनिक कवि डा. आनन्द जोशीले कवि टि.एस. इलिएटले बिश्वयुद्धको प्रभाव बारे लेखेको कबिता वेस्ट्लायण्डको केही प्रसंग उल्लेख गर्दै आफ्नो काव्यिक यात्राका बारे पनि छोटो जानकारी दिए । कवितामा भाव, विषयवस्तु, स्वरुप, बिम्ब, प्रतीक, शैलीगत शील्प र चेतनाबोध हुनुपर्ने बताउँदै समसामयिक विषयका कविता लेख्नु पर्नेमा जोड दिए । उनले कोरोना विषयलाई लिएर कविता सुनाए । वाचन गरिएको कविताको गहिरो विश्लेषण पनि उनले गरेका थिए ।
जूम प्रविधिमा सहयोग गर्ने ई. स्वयम्भुधर तुलाधरले मन्तव्यका क्रममा ६० वर्ष अगाडि शान्ति निकुञ्ज स्कुलमा साहित्य सम्मेलन हुँदा दुर्गालाल श्रेष्ठले एउटा गीत लेखेको स्मरण गरे ।
बिमलप्रभा बज्राचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सभापतिको आदेशमा कार्यक्रम सञ्चालक बिमला मानन्धरले कार्यक्रमको समापन गरेकी थिइन् । कार्यक्रमको कविता वाचन र समीक्षाको भाग दिब्या ताम्राकारले सञ्चालन गरेकी थिइन् ।

240825596_439582234027153_9139831228648839886_n
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध