ज्ञानमालालाई मनपाले दियो २० लाख
काठमाडौंको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःलाई काठमाडौं महानगरपालिकाले आज एक कार्यक्रमका बीच २० लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण गरेको छ ।
खलःका अध्यक्ष तीर्थनारायण महर्जनको सभापतित्वमा आयोजित एक औपचारिक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले कोषका लागि रकम हस्तान्तरण गरेको हो ।
१९९४ सालमा स्थापित ज्ञानमाला भजन खलःले आफ्नो स्थापनाकालदेखि नै स्वयम्भूमा भजनलाई निरन्तरता दिँदै आएको छ । राणाशासनदेखि लोकतान्त्रिक शासनसम्मको यात्राको साक्षी खलःले विभिन्न राजनीतिक उतारचढावमा पनि निरन्तर भजन गर्दै आएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा राम्रो कामलाई सहयोग गर्न सदैव तत्पर रहेको बताउँदै बुद्धको अमृतवाणीलाई भजनको माध्यमबाट जनजनमा ज्ञानमालाले पु¥याएको कार्यको सराहना गरे । उनले आजको परिवेशमा बुद्ध भजनलाई नेपालभाषामा मात्र सीमित नराखी यसलाई स्थानीय मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद गरेर फैलाउन आवश्यक रहेको बताए । यसका लागि पनि काठमाडौं महानगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।

सम्बोधनका क्रममा कामपाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले भजनघरमा २०७६ सालमा भएको आगलागीको घटना सम्झँदै सो समयमा पनि कामपाले सक्दो सहयोग गर्ने प्रयास गरेको स्मरण गरे । भूकम्प र आगलागीबाट क्षतिग्रस्त भवन पुनःनिर्माणका लागि पूरातत्वले अन्यत्रै बनाउने प्रस्ताव गरेता पनि पुरातात्विक रुपमा पहिल्यै देखि सो ठाउँमा भजन सञ्चालन भइरहेको हुनाले सोही स्थानमा भवन निर्माण गर्न आफूले जोड दिएको र सर्वपक्षीय वार्तापछि सो कार्य सौहार्दरुपमा सम्पन्न भएको स्मरण गरे ।
कार्यक्रममा स्वागत गर्दै उपाध्यक्ष पूर्णकाजी ज्यापुले ज्ञानमाला भजनलाई सहयोग गर्ने विभिन्न दाताहरुबाट संकलित र विभिन्न कार्यक्रमहरुबाट संकलित २० लाख रुपैयाँ हितकारी कोष नामक सहकारीमा जम्मा गरेको तर सो कोषको बेइमानीका कारण आफूहरुले सो रकम गुमाउनु परेको स्मरण गर्दै रकम गुमेपछि भजन संचालनमा सहभागी हुनेलाई जलपान गराउन समेत भगवानलाई चढाइएको पैसाले गराउनु परेको स्मरण गरे । उनले भजन सञ्चालनका लागि आवश्यक वाद्यसामग्रीहरु खरीद तथा मर्मत गर्न र दैनिक भजनमा सहभागी हुनेका लागि जलपानको व्यवस्था गर्न मेयर शाक्यसँग २० लाख सहयोग माग गरेको र उहाँले सहर्ष स्वीकार गरी यो रकम उपलब्ध गराएको बताए ।

सोही कार्यक्रममा रामघाटका देवकाजी महर्जनको परिवारले भजनलाई प्रदान गरेको बुद्ध मूर्तिको समेत अनावरण गरिएको थियो । २ लाख ३४ हजारको लागतमा बुद्धमूर्ति निर्माण गरिएको थियो ।
सभापति एवम् खलःका अध्यक्ष तीर्थनारायण महर्जनले भजन सुन्न चाहने र गर्न चाहने जेष्ठ नागरिकहरु स्वयम्भुमा माथि आउन नसकेका कारण भुइखेलमा बसेर पनि भजन सुन्ने गरेको र भजन सकिएपछि फर्किएकाहरुसँग भजनको बारेमा कुराकानी गर्ने गरेको स्मरण गर्दै यस्ता जेष्ठ नागरिकहरुका लागि उपयुक्त स्थान हेरेर स्वयम्भू परिसरमै ज्ञानमाला भजन खलःको छुट्टै भवन निर्माण गरिदिन आग्रह गरे ।
ज्ञानमाला भजन खलःका सदस्य मन्दिरा महर्जनले सञ्चालन गरेको कार्यक्रममा कामपाका कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली, कामपा १५ वडाका सदस्यहरु मैया लक्ष्मी महर्जन, आनन्दराज गौतम, अनिता परियार, खलःका सचिव बाबुराजा तुलाधर, सल्लाहकार यूरिकाजी कसालगायतको उपस्थिति रहेको थियो ।








