सुगन्धबिहीन फूल
पृृथ्वी नारायण शाहले के देखेर नेपाललाई चार जात छतीस वर्णको फूलबारीको रुपमा बयान गरेका हुन् कुन्नी ? जसको सुगन्ध पाएर वरिपरिका छिमेकी भमराहरु भुनभुन गर्न यहीँ आइपुगे । फूलबारीको विभिन्न फूलमा बसि चुस्दा यति मिठो सुगन्ध पाए कि आ–आफ्नो ठाउँ नै बिर्सिए र यहिँ जग बसाल्ने काम गरे । कहिले एक फूलबारिको एक थरि फूलमा बसि भुन भुन गरि अर्को थरि फूललाई नस्त गर्ने प्रयास गरे कहिले एक थरि फूललाई अर्को थरि फूलसित मिसाएर धर्म विरुद्धमा उतार्न लगाए । कहिले सुगन्ध लिइ सकेपछि त्यो फूललाई अन्तै सार्नपर्ने योजना बनाए ।
अति मूल्यवान फूलका सुगन्धहरुलाई मोल तोल गरि विभिन्न ठाउँमा अतर बनाउन बेचिदिए । सबै फूललाई माला सरी उनेर सजाउन कसैले कोसिस गरेन । कहिले फूल ठूलो–सानोको कुरा भयो कहिले फूलको रङ्गको विभेद देखायो । खाली कसरी बाढि, पैह«ो ल्याउने अनि विनास गर्ने बाटोको मात्र खोजी गरे ।
कसैले शक्तिको आडमा मुलुकी ऐन तयार पारी बगचाको फूलहरुलाई जडैदेखि उखाल्ने प्रयास गरे । बाँकि रहेका थोरै फूलहरुले कुरा निकाले पनि भमराहरुको भुन भुनाईले अरु फूलले सुन्न नै पाएन । सुने पनि त्यसले कसैको मनमा, कानमा बस्न नै पाएन । सुनेको भए पो अरु फूलले पनि त्यो एक थरि फूललाई किन यसरी उखेले भनेर चाल पाउने । उनीहरुलाई कि त सुन्न नै दिएन कि त सुनेकाहरुलाई पनि आवाज उठाउन नै दिएन ।
भमरा फूलमा डुलेको डुलेकै छ । फूलले न त आफ्नो सुगन्ध लुकाउने सकेको छ न त उनीहरुलाई भगाउन नै सकेको छ । तुलुतुलु हेर्ने बाहेक अरु केही गर्न सकेको छैन । अस्तित्व सके पनि सुगन्ध दिइ नै रहेको छ । आफ्नो सुगन्धबाट जति नै फाइदा लिए पनि न बोल्न सकेको छ न विरोध गर्न नै सकेको छ ।
कोहि फूलले देवताको सिरमा बस्ने अधिकार पाएको छ कोहिले खालि फूल्ने मात्र अधिकार पाएको छ । न कुनै देवताको शिरमा पुग्न सक्छ, न मलामिमा नै काम आउन सक्छ । प्रकृतिले समानताको आभास दिलाउन कति प्रयास गरे । कहिले आधि ल्याउने कहिले बाढि पै¥हो ल्याइ । तिमीहरुले समान रुपमा मिलेर बस्नु पर्छ भनि शिक्षा बेला बेलामा नदिएको भने होइन । तर सुगन्धमा अहम् भएका फूलहरुले प्रकृतिलाई नै जित्न सकँे भनी धाक र रवाफ देखाउन भने चुकेको छैन । प्रकृति पनि आजित भइ अब आफ्नो रुप देखाउने बाटो अँगाल्दै छ । तर पनि फूललाई केहि चासो छैन ।
एक फूल म सानो सुगन्ध नभएको फूल भनि उफ्रिन्छ अरु फूललाई तहस नहस बनाउन । तर उ बिकास भएको ठाउँमा उफ्रिएकोले उसको आवाज कहि कहि गुन्जन्छ तर उसलाई के थाहा आफ्नो जातिको फूल विकास नभएको ठाउँमा पनि छ भनेर । उफ्रेका त्यो फूल आफू मात्र बाँच्न चाहन्छ । तर विकास नभएका ठाउँमा फूलेका फूलहरुलाई भमराले कसरी सुगन्धविहिन मात्र बनाएन त्यहाँबाट कहिल्यै फूल्न नसक्ने गरि कुल्चन्छ भनेर ।
हुन त प्रकृतिले पनि फूलहरुलाई मिलाएर बस्ति बस्तिमा फूल्न सहयोग नै गरेका थिए तर केही केही उत्सृंखल फूलहरुले गर्दा प्रकृतिले पनि उग्र रुप लिनुपर्ने बाध्यता नै छ ।
विनासकाले विपरित बुद्धि भने जस्तै फूलबारीले विभिन्न रोग, भोग, बाढि पै¥होको सामना गरी लथालिङ्ग भएका फूलहरुलाई एकत्रित बनाउन प्रयास गर्दै गर्दा केही केही फूल भने आफूलाई महान फूलको रुपमा देखाउन अरु थरिको फूलको बिचमा उम्रिन गए । आफ्नो स्थान खोज्ने क्रममा आफ्नै जातिको फूलहरुलाई नोक्सान दिइरहेका छ । आफू बस्ने बासलाई मात्र उचित स्थान खोजि आफू सहरका फूललाई कुल्चने प्रयास गरिरहेको छ । फूलबारी भरिको फूलहरु मिलि माला बनाइ देवताको गलामा बस्नुको सातो बोटबाट नै चुडाल्ने प्रयास भइरहेको छ ।
अब माला बन्ने सपना मात्र देख्नु छ । देवताको शिरमा बस्ने चाहना मात्र बोक्नु छ । तर सुगन्ध बिहिन भइ न त अरुलाई काम आउँछ । न त आफू नै बाच्न सक्छ ।








