भक्तपुर चेम्बरको सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम

कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ ।

अभियान अन्तर्गत आज थिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना महानुभावहरुले रगत दान गरेका छन् ।

’हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनगर गरि रगत अभावको समस्यालाई पूर्ति गर्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौं ।’ कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगत बहादुर श्रेष्ठले जनाए । निषेधाज्ञा जारी भएको अवस्थामा रगत संकलन गर्नु सजिलो विषय नभएको उनकाे तर्क थियो । त्यसैले सीमित समयावधिमा रक्तदाताको संख्या बढाउनको लागि मौखिक रूपमा आग्रह गर्नुपरेको संयोजक श्रेष्ठले जनाए ।

हुनपनि कोभिड संक्रमणको त्रास विद्यमान रहेको अवस्थामा आकस्मिक रगत संकलन गर्नु चूनौतीपूर्ण विषय हो । महामारीको बखत रगत अभाव हुनु स्वभाविक छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन हुँदै गरेको रक्तदान कार्यक्रमलाई सकारात्मक ढंगले लिन सकिन्छ ।

यसअघि हिजो कमलविनायक भक्तपुरको लान्चा फल्चाबाट रगत संकलन गरिएको थियो ।

असार ६ गते आइतबार अर्थात भोलि सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान कार्यक्रम हुँदैछ ।

कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध