ओलम्पिक डे मनाइयो
नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनमा आज ओलम्पिक डे २०२१ मनाइएको छ ।
कमिटीको सातदोबाटोस्थित मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर ओलम्पिक डे मनाइएको हो ।

त्यस अवसरमा युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले नेपालकाे झण्डा र कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरेका थिए ।

त्यसै अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो । त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्त्वबारे प्रकाश पारेका थिए ।
अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए ।
यस्तै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा गायन पनि प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य तथा महासचिव निलेन्द्र राज श्रेष्ठको उपस्थिति थियो । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ वटा कार्यक्रमहरू सञ्चालन गर्न लागिएकाे जानकारी प्राप्त भएकाे छ ।










