आनन्दकुटीमा तयार भयो आइशोलेशन

मा. जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट यहाँको आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ ।
आइसोलेसन केन्द्र सञ्चालन बारे जानकारी दिन आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद श्रेष्ठले कार्यक्रमको कूल बजेट मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ बजेट आइसोलेशन सञ्चालनका लागि विनियोजन गरिएको बताए ।


उनले कोरोनाको पहिलो लहर चलेकै समयमा यहाँ आइसोलेशन सेन्टर बनाउने योजना रहेको भएता पनि सो समयमा कोरोना केही साम्य हुँदै गएपछि सो कार्य रोकिएकोमा अहिले पुनः कोरोनाको महामारी बढेपछि कोभिड संक्रमित भएका व्यक्तिहरुलाई सुरक्षितमा रहनका लागि यो सेन्टर सञ्चालन गरिन लागेको बताए ।


यसै हप्ताबाट सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको भएता पनि स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिका लागि सम्झौता भइनसकेको हुनाले आउँदो सोमवारबाट यसको सुरुवात गर्ने लक्ष्य रहेको बताए ।
यहाँ आइसोलेशनमा बस्नेहरुका लागि स्वास्थ्य निगरानीका लागि आवश्यक स्वास्थ्यकर्मीहरु फेक्ट नेपालले उपलब्ध गराउने वचन दिइसकेको बताउँदै अन्य व्यवस्थापनका लागि स्वकिय सचिव एवम् सेन्टरका संयोजक भीमसेन राजबाहकले आवश्यक पहल गर्ने बताए ।
यसैगरी सेन्टर सञ्चालनका लागि सुशिल श्रेष्ठको नेतृत्वमा व्यवस्थापन समिति रहेको र उनकै नेतृत्वमा जीर्ण रहेको आनन्दकुटीको भवनको मर्मत सम्भार तथा आवश्यक निर्माण कार्यहरु गरिएको मा. श्रेष्ठले बताए ।
केन्द्र सञ्चालन हुने क्षेत्रको पत्रकारहरुलाई स्थलगत निरीक्षण गराउँदै मा. श्रेष्ठले आनन्दकुटीमा खालि रहेको भवनको १४ वटा कोठाहरुमा ३ वटा बेडका हिसाबले ५० बेडको आइसोलेशन सञ्चालन गर्ने र स्वास्थ्यकर्मीहरुका लागि छुट्टै भवनको व्यवस्था गरिएको जानकारी दिए ।


कोभिड आइसोलेसन सञ्चालनका लागि कामपा १५ वडाका अध्यक्ष इश्वरमान डंगोलले वडालाई प्राप्त भएको ५० थान ब्लाङ्केट सेन्टरलाई हस्तान्तरण गरेको छ भने समाजसेवी पटना डंगोलले आफ्नो जन्मदिनको उपलक्ष्यमा सेन्टर सञ्चालनका लागि पाँच हजार रुपैयाँ चन्दा दिएकी छिन् ।


मा. श्रेष्ठले अहिलेको समयमा कोरोना महामारीसँग जुध्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध