संस्थापक प्रधान सेवक जोशी सम्झिए
परोपकार दान विभाग शाखाका संस्थापक प्रधान सेवक नविन्द्र राज जोशीलाई विभागले शनिबार एक कार्यक्रमको आयोजना गरी सम्झेको छ ।
पूर्वउद्योग मन्त्री र संविधानसभा सदस्य समेत रहेका स्व. जोशीको आकस्मिक निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरिएको थियोे ।
सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले जोशीले ८ नं क्षेत्रको प्रतिनिधित्व गर्दै संविधान निर्माण, लोकतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै अल्पायुमै भएको उहाँको निधनले सबै मर्माहत भएको बताए ।
यसैगरी परोपकारका अध्यक्ष हितकर वीरसिंह कंसाकारले जोशीसँगको सम्झना बाँड्दै १७ वर्षको उमेरमा नविन्दराजको नेतृत्वमा ४० वर्षअघि स्थापना गरिएको बताए । तत्कालीन समयमा उपत्यकामा झाडापखालाको महामारी फैैैैलिएको सम्झँदै कंसाकारले सो समयमा आज जस्तो स्वास्थ्य सुविधा नरहेको बताए । जोशीले परोपकारका संस्थापक दयावीर सिंहको निधनपछि भएको सभालाई गरेको सम्बोधन सम्झिदै कंसाकारले जोशीलाई सो कुरालाई लिखितरुपमा प्रकाशन गर्न अनुरोध गरेको तर व्यस्तताका कारण सो पूरा हुन नसकेकोमा दुःखेसो व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य मा. राजेशकाजी शाक्यले २०४२ सालमा नेपाली काँग्रेसका नेताहरु बन्दी बनाइएको समयमा उहाँले खेल्नु भएको भूमिका र संगठन विस्तारको प्रशंसा गर्दै उहाँ ८ नं. क्षेत्रको एक अभिभावककै रुपमा रहेको बताए ।
दान विभागका कार्यवाहक प्रधान सेवक बालकृष्ण महर्जनको सभापतित्वमा सञ्चालित श्रद्धाञ्जली सभामा कामपा २४ वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतका गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी विगेन तुलाधरले सञ्चालन गरेका थिए ।








