प्रा. माणिकलाल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न
वरिष्ठ समालोचक प्रा. माणिकलाल श्रेष्ठको अन्तिम संस्कार काठमाडौंको शोभाभगवतीस्थित कर्णदीपमा सम्पन्न भएको छ।

प्रा. माणिकलाल श्रेष्ठलार्इ उहाँका जेष्ठ सुपुत्र डा. मलः लाल श्रेष्ठले दागबत्ति दिएका थिए ।

अन्तिम दाहसंस्कारमा राष्ट्रिय सम्मान अर्पण गर्न नेपाल सरकारको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र पूर्व सभामुख सुवास नेम्वांग उपस्थित भएका थिए । उहाँहरूले स्व. प्रा. श्रेष्ठको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए ।

अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जलि अर्पण गर्न नेकपा (माओवादी केन्द्र)का नेताहरू नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, दिलीप महर्जन, संघीय समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, उपेन्द्र यादवको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली अर्पण गर्न जनकवि दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको पनि उपस्थिति रहेको थियो ।
अन्तिम संस्कारका क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै नेपालभाषा क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो ।
प्रा. माणिकलाल श्रेष्ठको यही चैत्र ३ गते मंगलवार ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँका जेष्ठ सुपुत्र डा. मलः लाल श्रेष्ठ जर्मनीबाट फर्किएपछि बिहिवार मात्र उहाँको अन्तिम संस्कार गरिएको हो ।
प्रा. श्रेष्ठका दुइ छोराहरू छन् । जेठो डा. मलः लाल श्रेष्ठ र कान्छो छोरा सितुलाल श्रेष्ठ हुन् ।








