आसकुतिको प्रेस मिट र टिजर सार्वजनिक
आयाम फिल्मस्को पहिलो प्रस्तुति नेपालभाषाको चलचित्र ‘आसकुति’को सोमवार एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रको बारेमा पत्रकार जगतलाई जानकारी दिन आयोजित प्रेस मिट कार्यक्रममा सो चलचित्रको बारेमा बताउँदै निर्देशक सुरेन्द्र तुलाधरले सामाजिक विषयवस्तुमा आधारित रहेर आफ्नो पहिलो कलात्मक चलचित्रका रुपमा आसकुति पस्केको बताए ।
जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको आफ्नै परिवार हो भन्ने सन्देश बोकेको चलचित्र परिवार भन्दा पनि भौतिक सुख सुविधाको लोभमा परेकी एक महिलाको मार्मिक कथा रहेको निर्देशक तुलाधरले बताए ।
चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार सुरज व्यञ्जनकारले छायांकन क्रमको अनुभव पोख्दै पारिवारिक वातावरणमा चलचित्र निर्माण भएको र निर्माता बुलाल महर्जन र निर्देशक सुरेन्द्र तुलाधरले निर्माण समूहको अभिभावकत्व ग्रहण गरेको बताए ।
यही चैत्र २१ गते सुन्धारास्थित सिटिसी मलमा भीआइपी शो देखाउन लागिएको चलचित्रको टिकट मूल्य एक हजार रहेको छ । नेपालभाषा चलचित्रलाई माया गर्ने सबै नै भिआइपी भएको पत्रकार अनुप शाक्यको प्रश्नको जवाफ दिने क्रममा निर्देशक तुलाधरले बताए ।
नेपालभाषाको चलचित्रलाई हलमा नियमित प्रदर्शन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्रकार विगेन तुलाधरको प्रश्नको जवाफ दिँदै अतिथि फिल्म वितरक गोपालकाजी कायस्थले चलचित्रको विषयवस्तु मुख्य कुरा हुने र त्यसको निर्माण सबलढंगमा गरिएको खण्डमा नेपालभाषाका चलचित्र पनि हलमा राख्न सकिने बताए ।
जवाफकै क्रममा निर्देशक तुलाधरले नेपालभाषाको चलचित्र हलमा नियमित देखाउनका लागि आफूहरुले पनि पहल गरिरहेको र यसका लागि चलचित्र विकास बोर्डबाट चलचित्रको प्रमाणपत्र लिने प्रक्रियामा आफूहरु रहेको बताए ।
सुरेश शाक्यको कथा रहेको चलचित्रको छायांकन तथा सम्पादन अमर चित्रकारले गरेका छन् । नील शाक्यको संगीत रहेको चलचित्रमा सतिस महर्जन, निशा देसार र दिपा महर्जनको गायन रहेको छ । चलचित्रमा निशिला शाक्यको कोरियोग्राफि, पूजा शाहीको मेकअप देख्न सकिन्छ । सविनरत्न शाक्यको सहायक निर्देशन रहेको चलचित्रमा मञ्जिल शाक्यले निर्माण नियन्त्रणको अभिभारा ग्रहण गरेका छन् । चलचित्रको पोष्ट प्रोडक्सन सिनेजोन बागबजारमा गरिएको छ ।
चलचित्रमा सुरज व्यञ्जनकारका साथमा कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापित, रामराजा भाम, रञ्जना सितिखु, रोहन प्रजापति, बुलाल महर्जन, सबिनरत्न शाक्य, कृष्टिना शिल्पकार, सुजन बज्राचार्यको अभिनय रहेको छ भने अतिथि कलाकारका रुपमा कृष्णभक्त महर्जन, सुनिता श्रेष्ठ, नगिना जोशी, अकलमान महर्जन रहेका छन् ।
पत्रकार सम्मेलन तथा टिजर सार्वजनिक कार्यक्रमकाे प्रचार संयाेजन नेवाः पत्रकार राष्ट्रिय दबू यल जिल्लाले गरेकाे थियाे ।








